९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

पाभार्ड बायर्न जाने

बर्लिन – फ्रान्सका विश्वकप विजेता रक्षक बेन्जामिन पाभार्डले जर्मन बुन्डेसलिगाको च्याम्पियन बायर्न म्युनिखसँग २०१९ देखि लागू हुने गरी सम्झौता गरेका छन् । तर जर्मन सञ्चारमाध्यमका अनुसार २२ वर्षे रक्षकको सरुवा त्योभन्दा चाँडै हुन सक्नेछ।

बायर्न र पाभार्डको क्लब भिएफबी स्टुटगार्टबीच विश्वकपअघि नै २०१९ मा उनको सरुवा विषयमा सहमति भएको थियो । तर जर्मनीको क्षेत्रीय टेलिभिजन एसडब्लुआरले जनाएअनुसार बायर्नले ३ करोड ५० लाख युरोको सरुवा रकममा सहमति भइसकेका कारण सरुवा चाँडै गराउन स्टुटगार्टसँग छलफल सुरु गरेको छ । तथापि पाभार्डले भने चाँडो सरुवाको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

‘अहिलेलाई म स्टुटगार्टको खेलाडी हुँ । मलाई यो सिजन कहाँबाट खेल्छु भन्ने थाहा छैन । म स्टुटगार्टमा खुसी छु । तर एउटा व्यावसायिक खेलाडी भएको नाताले मैले क्लबको निर्णयको सम्मान गर्नुपर्छ,’ अर्जेन्टिनामाथि ४–३ को जित हासिल गरेको विश्वकप अन्तिम १६ को खेलमा सानदार गोल गरेपछि अन्तर्राष्ट्रिय फुटबलमा निक्कै चर्चा बटुलेका पाभार्डले भने।

पाभार्डले २०१६ मा टोली जर्मनीको दोस्रो डिभिजनमा घटुवा भएको बेला स्टुटगार्टसँग सम्झौता गरेका थिए । उनको पहिलो सिजनमै स्टुटगार्ट शीर्ष डिभिजनमा बढुवा भएको थियो । स्टुटगार्टमा गरेको उच्च प्रदर्शनकै कारण फ्रान्सेली प्रशिक्षकको आँखामा परेका पाभार्डले २०१७ को अन्त्यमा राष्ट्रिय टोलीमा डेब्युको मौका पाएका थिए।

 

प्रकाशित: ४ श्रावण २०७५ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App