२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

काठकाडाैं - दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ। 

शिर्ष १६ अन्तर्गत रुसको रोस्टोभ रङ्गशालामा सोमबार सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५२ औं मिनेटभित्रै जापानले दुइ गोल गर्दै खेल आफ्नो पक्षमा पार्ने लक्षण देखाएको थियो। जापानकालागि खेलको ४८ औं मिनेटमा जेन्की हारागुचीले गाकु सिवासाकीको सहयोगमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउँदा ताकासी इनुयीले सिन्जी कागवाको पासमा ५२ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए। 

पहिलो हाफदेखिनै आक्रामक खेल खेलेपनि अग्रता बनाउन नसकेको बेल्जियम दुइ गोलले पछि परेपछि जापान विरुद्ध अझै आक्रामक रणनीतिमा प्रस्तुत भएको थियो। बेल्जियमका कैयौं प्रहार बचाएका जापानका गोलरक्षक इजी कावासिमाले खेलको ६९ औं मिनेटमा भने जान भर्टोनगेनले गरेको हेडिङ भने जोगाउन सकेनन। पहिलो गोल गरेको पाँचौ मिनेटपछिनै बेल्जियमले खेल बराबरीमा ल्याई पुर्यायो। बेल्जियमका फेलानीले इडेन हाजार्डको पासमा हेडिङ मार्फतनै बराबरी गोल गरे।

दोश्रो हाफको अन्त्यतिर अधिकांश समय बल आफ्नो पक्षमा राखेको बेल्जियम निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा भाग्यमानी सावित भयो। अतिरिक्त समयको अन्तिम मिनेटमा जापानमा डिफेन्डर अघि बढेको मौका छोप्दै बेल्जियमका नासेर चाड्लीले थोमस म्युनियरले उपलब्ध गराएको बललाई गोलपोष्टको जाली चुमाउँदै आफ्नो टोलीलाई विश्वकप फुटबलको क्वार्टरफाईनल सम्मको यात्रा गराउन सफल भए। 

नकआउट चरणमा २-० गोलले पछि परेपनि खेलमा फर्कदै जित हात पार्ने बेल्जियम सन् १९७० पछिको पहिलो टोली बनेको छ। सन् १९७० मा जर्मनीले दुइगोलले पछि परेको अवस्था उल्ट्याउदै  इंग्ल्याण्डमाथि जित दर्ता गरेकाे थियाे।

 

प्रकाशित: १८ असार २०७५ २०:४१ सोमबार

अतिरिक्त समयको गोलमा जापान स्तब्ध बेल्जियमको उत्कृष्ट पुनरागमन