१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

रूस – संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अर्जेन्टिना भने प्रतियोगिताबाट बाहिरिएको छ।

रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न प्रि क्वाटरफाइनलको पहिलो खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सलाई ४–३ ले स्तब्ध बनाएको हो।

अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। फ्रान्सका लागि १३ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले फ्रान्सका किलियम एमबाप्पेलाई डि बक्समा लडाइपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरेका हुन्।

अर्जेन्टिनाका लागि डि मारियाले ४१ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिउ। उनले ३० याड टाढाबाट गरेको बलले जाली चुमेपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगीएको थियो। दोस्रो हाफमा शुरुमै मेरकाडाले लियोनल मेसीको पासमा गोल गरेपछि अर्जेन्टिना अग्रता लिन सफल भएको थियो।

२–१ ले पछि परेपछि आक्रमक फुटबल खेलेको फ्रान्सले दोस्रो हाफमा ३ गोल गर्यो। फ्रान्सका लागि बाप्पेले निकालेको लामो क्रसमा पाभर्डले ५७ औं मिनेटमा भलि सटमा उत्कृष्ट गोल गरेपछि खेल पुन बराबरीमा आएको थियो। ६२ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि फ्रान्स पुन एक पटक अगाडि बढेको थियो।

अर्जेन्टिनाका खेलाडीको तालमेल नमिल्दा बाप्पेले पोस्ट नजिकैबाट फस्ट बार च्याप्दै हानेको सट गोलकिपरले क्लियर नगर्दा अर्जेन्टिनापछि परेको थियो। फ्रान्स त्यतीमा मात्र सिमित भएन तेस्रो गोल गरेको ३ मिनेटपछि पुन बाप्पेले अर्को गोल थप्दै अग्रता ४–२ मा पुर्याए। ओलिभर जिराउल्डको पासमा बाप्पेले व्याक्तिगत दोस्रो गोल गरेका थिए। 

२ गोलले पछि परेको अर्जेन्टिनाका लागि दोस्रो हाफको इन्जुरी समयमा अग्युइरोले हेडमार्फत गोल गरेपनि त्यसपछि गोल फर्काउने पर्याप्त समय नभएकाले अर्जेन्टिना प्रि क्वाटरफाइनलबाट घर फर्कन बाध्य भएको हो। पहिलो हाफको ९ औं मिनेटमा ग्रिजम्याले प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर फकिएपछि फ्रान्सले अग्रता लिने मौका गुमाएको थियो।

फ्रान्सले अघिल्ला ३ खेलभन्दा निकै सुधारिएको खेल खेलेको थियो।  अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। अर्जेन्टिना २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो।  फ्रान्स समूह सी को विजेता र अर्जेन्टिना समूह डी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन्।

प्रकाशित: १६ असार २०७५ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App