१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

कर्णालीको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। गुल्शनकुमार झा र चाड्विक वाल्टनको उत्कृष्ट प्रदर्शनसँगै कर्णालीले लगातार तेस्रो जित निकालेको हो।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै कर्णालीले प्रतियोगितामा ५ खेलबाट ६ अंक जोडेको छ।

कर्णालीका लागि गुल्शनकुमार झाले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ३७ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा टिमका लागि उक्त रन जोडेका हुन्। उनले उत्कृष्ट प्रदर्शन गरेपनि १ रनले अर्धसत्तक भने गुमाए।

यसैगरी चाड्विक वाल्टनले ४२ रन बनाए। यसक्रममा उनले १ छक्का र छ चौका हाने। बाबर हायतले ७, विलियम बोसिस्टोले २ रनको योगदान दिए। देव खनाल भने शून्यमा आउट भए।

बलिङ तर्फ कुशल भुर्तेल, विपिन खत्री र सागर ढकाले समान एक/एक विकेट लिए।

टस जितेर ब्याटिङ गरेको पोखरा एभेन्जर्सको प्रदर्शन निराशाजनक रह्यो। १६.३ ओभरमै अलआउट हुँदै टोलीले मात्र १०३ रन बनाएको थियो।

उसका लागि ओपनर द्वय दिनेश खरेलले २६ र एन्ड्रिज गोसले २५ रन बनाए। रेमन रेइफरले २० रन बनाउँदा क्याप्टेन कुशल भुर्तेल र र विपिन खत्री समान १० रनमा आउट भए।

आफ्नो स्पेलमा मात्र ४ ओभरमा २८ रन खर्चेर अस्ट्रेलियन विलिएम बोसिष्टले ६ विकेट लिए। क्याप्टेन सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीको नाममा एकएक विकेट रह्यो।

जनकपुर बोल्ड्ससँग आठ विकेट र काठमाडौं गुर्खाजसँग तीन विकेटको हारपछि कर्णालीले आफ्नो तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै लयमा फर्किएको थियो। त्यसपछि, कर्णालीले विराटनगर किङ्सलाई सात रनले पराजित गरेको थियो।

प्रकाशित: २५ मंसिर २०८१ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App