६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

पुष्पित ‘पलेशा’

गाैरव

पछिल्लो समय एकैसाथ सबै नेपालीलाई खुसी दिने खबर के थियो ? सम्भवतः अधिकांशबाट आउने उत्तर हो– पेरिस पारालिम्पिकमा पलेशा गोवर्धनले दिलाएको ऐतिहासिक पदक।

जुन ओलम्पिक-पारालिम्पिकमा नेपालका लागि पहिलो पदक बन्यो। जसका लागि नेपालले ६ दशक कुर्नुपर्‍यो। पलेशाले के ४४ क्याटेगोरीअन्तर्गत ५७ केजीमुनिको तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ऐतिहासिक कांस्य पदक जित्दै यो इतिहास रचेकी हुन्।

राजनीतिक अस्थिरता, शिथिल अर्थतन्त्र, बढ्दो बेरोजगारी, विमानस्थलमा बिदेसिनेको लाम, महँगी, अभाव, असन्तुष्टि, छटपटी र त्यसबाट चुलिँदै गएको जनआक्रोशका बेला एकाएक सारा नेपालीमा एकैसाथ खुसीको सञ्चार गर्ने काम पलेशाले गरिन्।

पलेशा अर्थात् फक्रिएको कमल

पलेशाको नाम नेवारी भाषाको ‘पलेस्वाँ’ बाट राखिएको हो। जन्मपछि उनका मातापिताले ‘पलेस्वाँ’ नाम जुराइदिएका थिए। विद्यालय पुग्दा पलेशा लेखिएछ। उनको नाम त्यही रहन गयो।

नेवारी शब्द पलेस्वाँको अर्थ कमलको फूल हुन्छ। हिलोभित्रको बाक्लो लेउ र कसिंगर चिर्दै कमल सुन्दर स्वरूपमा फक्रन्छ। जसको रङ र बास्ना हरकोहीलाई आनन्दित बनाउँँछ।

कमल अन्य फूलहरूसँग तुलना गर्दा सधैं अब्बल नै ठहरिन्छ। कमल भगवान् विष्णु र धनलक्ष्मीको रोजाइको आसन पनि हो। कमललाई ऐश्वर्य र सुखको सूचकसमेत मानिन्छ।

अहिले पलेशा नामले मात्र होइन, कामले पनि नेपाली खेलकुदको कमलको फूल बन्न पुगेकी छन्। नेपाली युवाका लागि नयाँ ऊर्जा, उत्प्रेरणाको प्रतीक बनेकी छन्।

सम्मान थाप्न भ्याइनभ्याई

नेपाल पुगेदेखि पलेशालाई भ्याइनभ्याई छ। खाना, आराम र परिवारसँग राम्रोसँग बस्न समेत पाएकी छैनन्। राष्ट्रपति, प्रधानमन्त्री, संसद्को ठुलो पार्टीदेखि प्रतिपक्ष, सत्तापक्ष, सरकारी, गैरसरकारी संस्थाहरूबाट सम्मान थापिरहेकी छन्। कोही सम्मानका लागि पलेशाको समय जुर्ने प्रतीक्षामा छन्।

सम्मान थाप्न समय व्यवस्थापनमा पलेशा सकिरहेकी छैनन्। जसमा पछिल्लो तेक्वान्दो संघले सहजीकरण गरिरहेको छ। यसमा उनी साच्चिकै रोमाञ्चित पनि छन्।

‘म सधैं सोच्थेँ, मलाई सबैले चिनून्। म पनि छु है भन्ने होस लाग्थ्यो,’ पलेशा भन्छिन्, ‘मेरो त्यो चाहना र परिचय तेक्वान्दोले दियो। मेरा लागि निकै ठुलो उपहार हो। मैले तेक्वान्दोबाटै नाम र आत्मविश्वास पाएँ।’

सुरुमा भने पलेशालाई मानिससँग त्यति बोल्न मन लाग्दैनथ्यो। धेरैले चिन्दैनथे पनि। ‘अहिले भनिरहनुपर्दैन, आफैं चिन्छन्। यो सफलतामा नेपाली समाजले दिएको माया र सद्भाव समेट्ने व्यस्ततामा म एकदमै रमाइरहेकी छु,’ पलेशाले सुनाइन्।

जाँदा सुनसान, फर्कंदा उत्सव

पेरिस उड्दा र फर्कंदाको परिचयमा आकाश–जमिन फरक पाएको अनुभव पलेशा सुनाउँछिन्। पदक जितेपछिको चर्चा र सफलताले परिचय मात्रै होइन, जीवन नै बदलिएको छ। ‘साथीभाइ र परिवारले चिन्थे। उहाँहरूकै मात्र हुँ कि जस्तो लाग्थ्यो। अहिले त देशकै भइयो जस्तो लाग्छ,’ पलेशा सुनाउँछिन्।

पदक जितेदेखि नै पलेशा हरेक दिनजसो अखबारका पाना, टेलिभिजन र सामाजिक सञ्चालका स्क्रिन र भित्तामा छाइरहेकी छन्। कतिपयले उनलाई ‘गोल्डेन गर्ल’को उपाधि नै दिएका छन्। कांस्य जित्दा पनि नेपालका लागि उनले आफ्नो नाम स्वर्णिम अक्षरले लेखाइसकेकी छन्।

आत्मविश्वासको फल  

पलेशा सपना देख्नेहरूभित्र पर्छिन्। अहिलेको सफलता पनि उनका तिनै सपनाहरूको उपज हो। ‘म यस्तो सपना देख्थें। आज म जस्तो छु, भोलि यस्तै रहँदैन। मैले केही न केही गर्नुपर्छ। म यति मेहनत गर्छु कि भविष्यमा सबैले मेरो कथा सुनून् भन्ने हुन्थ्यो,’ पलेशा सम्झन्छिन्, ‘त्यसका लागि म केही गर्नसक्छु भन्ने आत्मविश्वास पनि थियो।’

पलेशामा त्यो आत्मविश्वास आउनुको कारण परिवार हो। बच्चादेखि नै एउटा हातको हत्केला नहुँदा पनि परिवारले दिएको साथ नै आफ्नो आत्मविश्वासको कारक भएको पलेशाको बुझाइ छ।

पलेशा भन्छिन्, ‘परिवारको साथ धेरै बच्चाहरूले पाउँदैनन्, त्यो कुरामा म भाग्यमानी ठान्छु। मैले नगर्ने भने पनि मलाई परिवारले हौसला दिन्थ्यो। मेरा लागि ठाउँ नभएको स्थानमा आमाले त्यहाँ स्थान बनाइदिनुहुन्थ्यो। त्यहाँबाट नै मेरो आत्मविश्वास पलायो।’  

आरोह-अवरोह

‘पहिलो हन्डर त गुरुबाटै खाइयो,’ खुलेर हाँस्दै पलेशा भन्छिन्, ‘तेक्वान्दो आफैंमा कडा परिश्रमको खेल हो। जहाँ गुरुको लात पनि खाइन्थ्यो।’

संघर्षका दिन विद्यालयबाटै सुरु भए। स्कुलदेखि नै पलेशाले तेक्वान्दो खेल्थिन्। अपाङ्ग (पारा)सँग होइन, साङ्गसँगै उनको प्रतिस्पर्धा हुन्थ्यो। पारामा प्रवेश गर्दा सुरुमा उनलाई ट्रायल पिरियडमा राखियो।

तीन बजे पलेशाको स्कुल सकिन्थ्यो। आमा र उनी हिँड्दै रंगशालासम्म पुग्नुपर्ने बाध्यता थियो। ‘त्यहाँ गुरु कुरिराख्नुहुन्थ्यो। डेढ घण्टा प्रशिक्षण गरेपछि घर पुर्‍याउने जिम्मा बुबाको हुन्थ्यो,’ पलेशा सम्झन्छिन्, ‘होमवर्क, पढाइ र तेक्वान्दोलाई ब्यालेन्स गर्न निकै चुनौती थियो।’

कहिले परीक्षा छोडेर खेलमा गएको र कहिले खेल छाडेर परीक्षा दिनुपरेका तमाम अनुभवहरू पलेशासँग छन्।

पलेशाले तेक्वान्दो सुरु गरेको एकवर्षपछि मात्रै पारा (अपाङ्गको छुट्टै प्रतिस्पर्धा) बारे थाहा पाएकी हुन्। उसो त विद्यालयकै खेल प्रशिक्षकले पलेशालाई ‘तिमी पारा तेक्वान्दोमा जानुपर्छ है’ भनेका थिए। तर थाहा नभएका कारण उनको ध्यान पुगेन।

‘तेक्वान्दो, तेक्वान्दो नै हो भन्ने भयो। पाराको भर्जन किन खेल्नुपर्‍यो भन्ने लाग्थ्यो। एक तेक्वान्दो मात्रै होइन, पूरा खेल नै हुन्छ भन्ने थाहा थिएन। थाहा पाएपछि किन छुट्याए ? हामीलाई पनि सँगै खेल्न दिए हुन्थ्यो भन्ने भयो,’ उनी भन्छिन्, ‘जब नियम पनि थाहा पाएँ अनि फेयर गेम जस्तो लाग्यो।’

सन् २०२० सम्म पलेशाले कुनै ठुलो स्टेजको अनुभव गर्न पाएकी थिइनन्। एकाएक सन् २०२० को टोकियो पारालिम्पिकमा सहभागी हुने अवसर प्राप्त भयो। कोभिड–१९ को समयमा ‘वाइल्ड कार्ड’बाट पलेशाले सहभागिताको अवसर पाइन्।

पहिलो खेलमा जिज्ञासा, कौतूहल र डर स्वाभाविक थिए। ‘त्यो समय पनि निकै चुनौतीपूर्ण थियो। तालिम गर्न तीन महिना मात्रै थियो। त्यसले तनाव, दबाब हुने नै भयो,’ उनी भन्छिन्, ‘कोरोनाले बाहिर हिँड्न पनि नपाइने। हाम्रै खेलाडीहरूसँग हुलहुलमा खेल्न पनि भएन।’ यस्तोमा पलेशा प्रतिस्प्रर्धामै सहभागी नहुने सोचमा पुगिन्।

‘आमाले कन्भिन्स गर्नुभयो। मेहनत गरेकी छौ, किन पछि सर्छौ भन्नुभयो। मैले पनि सोचें, ओलम्पिक हो। हरेकको सपना हुन्छ नि त। मलाई उपहारमा अवसर आएको थियो। कसरी ढाड फर्काएर जाने ? आमाका लागि भए नि खेल्छु भनेर खेलें,’ आफ्नो पुरानो अनुभव सुनाउँदै पलेशाले भनिन्।

केही संयोगका कुरा

गतवर्ष चीनको हानझाउमा चौथो एसियाली पारा खेलकुद प्रतियोगिता सम्पन्न भयो। आर्किटेक्चर अध्ययन गरिरहेकी पलेशा सांघाई कलेजमा अध्ययनरत थिइन्। पारा एसियाली खेलकुद भएको हान्झाउ र पलेशा पढ्ने कलेज सांघाई एक घण्टामै पुग्न सकिने दुरीमा छ।

यसकारण पनि पलेशा एसियाली खेलकुद खेल्ने निर्णयमा पुगिन्। त्यतिबेला परिवारदेखि राष्ट्रिय खेलकुद परिषद्सम्मको अनुरोधमा एसियाड खेल्न राजी भएको उनको भनाइ छ।

चीन बाहिर एसियाड भएको भए के हुन्थ्यो होला ? पलेशा भन्छिन्, ‘एसियाड खेल्ने त पक्का थियो। त्यसका लागि म क्वालिफायर भइसकेको थिएँ। जहाँबाट जसरी पनि त्यो खेल खेल्थेँ।’

खेलिन् र जितिन् पनि। एसियाली पारा खेलकुदमा नेपालका लागि पहिलो पारा कांस्य पदक जित्दै नयाँ इतिहास रच्न सफल भइन्।

पेरिस पारालिम्पिकको एसियाली छनोटलाई पलेशा संयोग मान्छिन्। पेरिस पारालिम्पिकको एसियाली छनोट चीनमा नभएको भए पलेशा छनोटमा सहभागी हुने सम्भावना कम थियो।

‘आर्थिक सहयोगको अभाव थियो। हवाई भाडाको कुरा आउँछ। टिकेट मिल्ने नमिल्ने झमेला। संयोगले चीनमै भयो। भाग लिएर क्वालिफायर पनि भएँ,’ उनले सुनाइन्।

त्यो स्पर्धामा क्वालिफायर मात्रै होइन, गोल्डसहित पलेशा पेरिस पुगिन्। यसरी सिधै ओलिम्पिक छनोट हुने पहिलो नेपाली पारा खेलाडीसमेत बनेर पलेशाले कीर्तिमान पनि बनाएकी थिइन्।

पलेशा पेरिस पुग्दा टिममा अर्को ठुलो सफलताको स्वाभाविक आश थियो। जसो जसो पलेशा जित्दै गइन् अफिसियलहरूले पलेशासँग मेडलको आश राख्न थाले। त्यो आशामा पलेशाले चुनौती र दबाब दुवै महसुस गरिरहेकी थिइन्। हरेक खेलमा सबैको नजर थियो।

‘विजेता जबसम्म जितिरहन्छ विजेता हो। उसलाई जितिरहने दबाब हुन्छ। जब तिमी हार्छौ, फ्रेमबाट बाहिरिन्छौ,’ पलेशा सम्झन्छिन्, ‘त्यो भनेको ठुलो जिम्मेवारी हो। त्यहाँबाट नै खेलाडी नर्भस हुन्छ।’

पलेशाले सकेसम्म त्यो नर्भसनेसलाई टाढै राख्ने कोसिस गरिन्। खेलहरूमा कहिल्यै आत्मविश्वास गुमाइनन्।

पदक यात्रा फर्केर हेर्दा

पहिलो खेलमा पलेशाले भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गरिन्। प्रतियोगितामा यो उनको बेस्ट पर्फमेन्स हो। पाँच मिनेटको खेलमा पलेशाले दुई मिनेटमै मोरालेसलाई नकआउट गरिसकेकी थिइन्।

सुरुकै खेलमा यसरी एकपक्षीय रूपमा हाबी भएपछि पलेशाको आत्मबल ह्वात्तै बढ्यो। ‘टोकियो पारालिम्पिकबाटै आत्मविश्वास आइसकेको थियो। दोस्रो पटक सहभागी हुन लागेकाले म बेस्ट हो भनेर त्यहाँ पुगेकी थिएँ। झन् पहिलो खेलमै यसरी जित पाएपछि म अझै उत्साहित भएँ,’ पलेशा भन्छिन्।

दोस्रो खेलमा पलेशाको भिडन्त तौल समूहमा विश्व वरियताको शीर्ष स्थानमा रहेकी ब्राजिलियन सिल्भानासँग भयो। सिल्भानालाई पराजित गर्न सकिँदैन कि भन्ने डर सबैमा थियो तर पलेशा आत्मबलसहित उत्रिन्। पलेशा अन्तिम ५ सेकेन्डसम्म ८–६ ले अग्रता लिइन्।

‘मैले माइन्ड सेट बनाइसकेकी थिएँ। नम्बर वान भनेको कोही हुँदैन, म नै बेस्ट हुँ भन्ने थियो,’ पलेशाले भनिन्। भयो पनि त्यस्तै, पहिलो तीन मिनेटसम्म पलेशा ०–५ ले अघि थिइन्। जुन तेक्वान्दोमा निकै राम्रै स्कोर हो।

यसपछि सबैले खेल जित्नेमा आशा राखिसकेका थिए। एकाएक अन्तिममा सिल्भाना आक्रामक भइन्, पलेशा रक्षात्मक। सिल्भानाले फर्किएर ८–८ को बराबरी हुँदै ८–१० सम्म पुर्‍याएर खेल आफ्नो पोल्टामा पारिन्। जसबाट पलेशाको स्वर्ण पदकको यात्रा रोकियो।

त्यसपछि कांस्य पदकका लागि सर्बियाकी खेलाडी मारिजान मिसेबसँग पलेशाको प्रतिस्पर्धा भयो। सुरुमा मरिजान पलेशामाथि हाबी देखिएकी थिइन्। मारिजोनले लगातार तीन अंक जोड्दा पलेशा शून्यमा थिइन्।

‘त्यसमा मैले मूल्यांकन गरिरहेको थिएँ, ऊ कसरी खेल्छ भनेर। कुन किक बढी हान्छ ? पहिलो मिनेटमै नै त्यो थाहा पाएपछि म हाबी भएँ,’ पलेशाले स्मरण गर्दै भनिन्। त्यसपछि आक्रामक हुने समय पलेशाको थियो।

‘अनि जसरी पनि त्यो मेडल त मै लाने हो भनेर खेलेँ। टोकियोबाट त्यो मेडल ल्याउन नसकेको पीडा थियो। तीन सेकेन्डमा हारेर हजुरलाई कस्तो लाग्यो ? भन्ने प्रश्नको सामना फेरि गर्नु नपरोस् भन्ने थियो,’ पलेशाले सुनाइन्।

पलेशाले मरिजानलाई १५–८ ले हराउँदै त्यो प्रश्न फेरि नसुन्ने निश्चित पारिन्। जुन जितले पलेशा र नेपाललाई ऐतिहासिक पदक सुरक्षित गरेर नयाँ इतिहास बनाइसकेको थियो।

जब अन्तिम घण्टी बज्यो  

जब खेल सकिएको जनाउ गर्न अन्तिम घण्टी बज्यो, नेपालको झन्डा फहराउँदै पलेशाका गुरु कविराज नेगी पोडिएम चढे। पूर्वयोजनाअनुसार बायाँ हातले गुरुले र दायाँ हातले पलेशाले नेपालको झन्डा पोडिएममा फहराए।

यो समय नेपालमा मध्यरातको थियो। पदक जितेपछि पलेशाले आमालाई सम्झिन्। ‘बिदाइमा आमाले ‘पदक लिएर आऊ है’ भन्नुभएको थियो,’ पलेशाले भनिन्, ‘जित्नेबित्तिकै झन्डा फहराएर दौडेर बाहिर गएँ। र, फोन खोजेर आमालाई गरेँ। त्यो समय पूरा परिवारको आँखामा आँसु थियो। आमाले मेडलभन्दा पहिला मेरो अप्ठ्यारोलाई हेर्नुभयो।’ 

स्वर्ण कति टाढा ?

नेपालका लागि गोल्ड (स्वर्ण पदक) कति टाढा छ ? प्रश्न भुइँमा खस्न नपाउँदै पलेशाले भनिन्, ‘धेरै टाढा त छैन तर समर्थन चाहिँ चाहिन्छ।’

कस्तो सहयोग ? प्रस्ट छ, पलेशाले कांस्यसम्मको यात्रा गर्दा निकै कठिन यात्रा पार गरेकी छन्। सरकारको सहयोग न्यून छ। एसियाली पारा खेलकुद, पेरिस पारालिम्पिकको छनोट पलेशाले आफ्नै लगानीमा गरेकी हुन्।

स्वर्ण जित्न सरकारबाट मात्रै होइन, गैरसरकारी क्षेत्रले पनि सहयोग गर्नुपर्ने पलेशा बताउँछिन्। रणनीतिक यात्रा बनाएर अघि बढे नेपालका लागि स्वर्ण पदक धेरै टाढा नभएको पलेशाको बुझाइ छ। खेलाडीमा पनि लगाव हुनुपर्ने उनी देख्छिन्।

बाल्यकालकी पलेशा

पलेशाको जन्मजात बायाँ हातको नाडीमुनिको भाग छैन। आमाले हात ढाक्न पूरा बाउला भएको लुगा लगाइदिनुहुन्थ्यो। अभिभावक कमजोर पक्ष लुकाउन चाहन्थे। तेक्वान्दोले नै उनको हात सबैका लागि खुला गरिदिएको हो।

‘तेक्वान्दो खेल्न थालेपछि उहाँ (आमाबुबा) ले पनि महसुस गर्न थाल्नुभयो आफूले गल्ती गरिरहेको कुरा। त्यसपछि मैले पूरा बाउलाको लुगा लगाउन छोडेँ,’ पलेशा भन्छिन्।

पलेशालाई भने आफू जहिल्यै सामान्य भएको लाग्थ्यो। उनी भन्छिन्, ‘उसको हात छ मेरो हात छैन भनेर कहिल्यै सोचिनँ। नकारात्मक सोच नआएर नै सकारात्मकताले यहाँसम्म डोर्‍याएको हुनुपर्छ।’

पदकसँगै पलेशाले सरकार, राजनीतिक दल, विभिन्न संघसस्थाबाट सम्मानसहित आर्थिक पुरस्कारसमेत पाइरहेकी छन्। पुरस्कार राशिको रकम पनि झन्डै एक करोड पुगिसकेको छ।

कति पुग्यो? पलेशासम्मलाई जानकारी छैन। मुस्कुराउँदै भन्छिन्, ‘अहिलेसम्म गन्न समय नै मिलेको छैन।’

अहिले सबैले धेरै पैसा पायो भन्ने मात्रै देखेका छन्। त्यहाँभित्रको मेहनत पनि हेर्न उनी आग्रह गर्छिन्। ‘अहिले करोडपति भई पलेशा भन्छन्। पैसा चाहिने त मेहनत गर्ने बेला हो,’ उनी भन्छिन् ।

प्रकाशित: ५ आश्विन २०८१ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App