५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भलिबलको सार समेट्दै इडब्लुभिएल ट्रफी

पहिलोपल्ट नेपालमा हुन लागेको भलिबलको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी सार्वजनिक भएको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले पहिलो संस्करणको इडब्लुभिएलको ट्रफी आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । भलिबल खेलको सार समेट्दै ट्रफी डिजाइन गरिएको छ। 

ट्रफीमा गुलाबी रंगका क्रिस्टल समावेश छ। खेलाडीले स्पाइक गरिरहेको ट्रफीलाई आकर्षक पार्न गुलाबी रंगका क्रिस्टल राखिएको छ। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इडब्लुभिएलका मुख्य प्रायोजक वात्सल्य नेचुरल आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले संयुक्त रूपमा उक्त ट्रफी सार्वजनिक गरेका हुन्।

आयोजकका अनुसार देशका विभिन्न क्षेत्रमा ट्रफी टुर गरिने भएको छ। पहिलो संस्करण भएकाले उत्साह सृजना गर्न ट्रफी टुर आयोजना गरिएको इन्फिनिटी ड्रिम्स प्रालीले जनाएको छ । आगामी असोज १ गते कर्णालीमा, ४ गते मधेशमा, ७ गते चितवनमा, ९ गते गण्डकीमा, ११ गते ललितपुरमा र १२ गते काठमाडौंमा ट्रफी टुर हुने तालिका छ । दुई दिनपछि नै पहिलो संस्करण सुरु हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १४ देखि १९ गतेसम्म हुँदैछ।

पहिलो संस्करणमा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले प्रतिस्पर्धा गर्दैछन्। सबै फ्रेन्चाइजले मार्कीसँगै घरेलु खेलाडी पनि अनुबन्धन गरिसकेका छन्। 

गण्डकीको मार्की खेलाडी सरस्वती चौधरी, काठमाडौंको उषा भण्डारी, मधेशको मार्की निरुता ठगुन्ना, ललितपुरको मार्की सलिना श्रेष्ठ, कर्णालीको मार्की सुमित्रा रेग्मी र चितवनको मार्की राष्ट्रिय टोलीकी कप्तान अरूणा शाही हुन्।

हरेक फ्रेन्चाइजले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन्। चितवन र मधेशले विदेशी खेलाडी अनुबन्धित गरिसकेको छ। चितवनमा अजरबैजानकी केसेनिया पावलेन्कोका साथै दुई भारतीय खेलाडी सूर्या र केपी अनुश्रीलाई अनुबन्ध भएकी छन्। 

मधेशले भारतीय लिफ्टर जिनी कोभात, ट्युनिसियाकी योस्रा जेरामदिनी र काजखस्तानी स्पाइकर कालिनोभा यभजेनियालाई अनुबन्ध गरेको छ। गण्डकीले रसियन स्टार एलिसा रुबियकलाई भित्राउँदा अन्य फ्रेन्चाइजले भने विदेशी खेलाडी अनुबन्ध गरेका छैनन्।

प्रकाशित: ३१ भाद्र २०८१ ०८:११ सोमबार

#EWL #Infinity Dreams Pvt