१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पलेशालाई पोखरामा सम्मान

पलेशालाई पोखरामा आइतबार सम्मान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिरः नागरिक

पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले नगद पुरस्कार सहित सम्मान गरेको हो।  

पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ रुपैयाँसहित सम्मान गरेका छन्। त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सय सहित पलेशालाई सम्मान गरेको हो।  

पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ तथा नेपाल तेक्वान्दो संघलाई प्रशंसापत्रसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ लगायतले सम्मान गरेका हुन।  

सम्मानपछि बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशाले नेपालको नाम उँचो बनाउन सफल भएको बताए। खेलाडीले राष्ट्रको नामलाई अग्रस्थानमा राख्न अहम भुमिका खेल्ने गरेको जनाउँदै खेलाडी कुनै राजनीतिक, धर्म, संस्कृति, जातजातिको भन्ने नभई सबैको साझा हुने उनले बताए।  

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सरकारको तर्फबाट पलेशा सहितको टिमलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए। उनले खेलकुदको विकासलाई पर्यटन प्रवद्र्धनको रुपमा समेत विकास गर्न सके पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदको हव बनाउन सकिने उनले बताए।  

त्यसै गरी पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेशाले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको थपिएको बताए। उनले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीको प्रेरणाको स्रोतको रुपमा पलेशाको सफलता महत्वपूर्ण हुने उल्लेख गरे।

सम्मानित भएकी पलेशाले कुनै क्षेत्रमा असफलताप्रति निराश नभई निरन्तर लागेमा सफलता प्राप्त हुने बताइन। नेपाललाई पारालिम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले तेक्वान्दोको के ४४ विधा अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरि काँस्य पदक हात पारेकी थिईन।  

प्रकाशित: ३० भाद्र २०८१ १८:१८ आइतबार

पेरिस पारालिम्पिक पलेशा गोवर्धन