३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पोखराको लामाचौरमा भलिवल, साविक विजेता गण्डकी सोझो सेटमै पराजित

पोखराको लामाचौरमा आयोजित भलिवल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस क्लबबीचको खेल। तस्बिरः नागरिक

साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कप भलिवल प्रतियोगिमा सोझो सेटमै पराजित भएको छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।  

पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो। गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो। अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको थियो। पहिलो र दोस्रो सेट तुलनामा तेस्रोमा निकै सुधारिएको खेल पस्केपनि जीत हात पार्न सकेन।  

लामाचौर कपमा महिलातर्फ ११ औं संस्करण भइसक्दा दुई वर्षअघि पुरुषतर्फ पनि प्रतिस्पर्धा हुन थालेको हो। पहिलो र दोस्रो संस्करणमा पनि गण्डकी र पुलिस नै फाइनल खेलेका थिए। पहिलो संस्करण भने वर्षाले बिथोलेपछि दुवै टिमले पुरस्कार बाँडेर लिएका थिए।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मंगलबारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो। इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा चारदिनसम्म प्रतियोगितामा महिला तथा पुरुषतर्फ चार–चार टिमले भाग लिएका छन्।  

एपिएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमण्डले विजयी सुरुआत गरेको छ। महिलातर्फ उद्घाटन खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ। एपिएफले अघिल्ला दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट गुमाएको हो। उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ सेटले जितेको हो।  

महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लबले जित्यो। डायमण्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले बताए। पुरुषतर्फ पहिलो खेलमा एपिएफले ट्राभल इक्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो। एपिएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा हराएको हो।  

दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेलमा एपिएफ र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुने खेलकुद संयोजक शंकर केसीले बताए। राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ।  

दुवैतर्फ विजेताले १ लाख ५० हजार १ सय ११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ। भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ।  

आयोजक संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए। भदौ २१ गतेसम्म चल्ने लामाचौर तीज महोत्सव अवसरमा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए।  

प्रकाशित: १८ भाद्र २०८१ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App