१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युभेन्ट्सको शीर्षता फराकिलो

टुरिन – साबिक विजेता युभेन्ट्सले शनिबार एसी मिलानमाथि ३–१ को विजयी नतिजा हात पार्दै इटालियन सिरी ‘ए’ को शीर्षता थप बलियो पारेको छ। आठौं मिनेटमा पाउलो डिबालाले मिरालेम पिजानिकको पासमा गोल गर्दै युभेन्ट्सको खाता खोलेका थिए । तर त्यसको २० मिनेटपछि एसी मिलानका लियोनार्दो बोनुचीले गोल गर्दै खेल बराबरीमा ल्याए ।  

७९औं मिनेटमा युभेन्ट्सका हुवाँ क्वाडार्डोले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए ।  खेल सकिन ३ मिनेट बाँकी रहँदा सामी खेदिराले युभेन्ट्सका लागि तेस्र्र्रो गोल गर्दै अग्रता थप मजबुत पारे । जितपछि युभेन्ट्सले ३० खेलबाट ७८ अंक जोड्दै दोस्रो स्थानको नेपोलीलाई ४ अंकले पछि छोडेको छ।

नेपोली भने सासौलो भ्रमणमा १–१ को बराबरीमा सीमित भएको थियो । माटियो पोलिटानोको गोलमा सासौलोले अग्रता लिएकोमा रोडरिगोले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । ३० खेल खेलेको  रोमा ६० अंकका साथ तेस्रो स्थानमा छ भने इन्टर मिलान २९ खेलबाट ५८ अंकका साथ चौथो स्थानमा छ । ५७ अंक जोडेको लाजियो पाँचौं स्थान छ भने मिलान २९ खेलबाट ५० अंक जोड्दै छैटौं स्थानमा छ।

‘बोनुचीको गोलमा म खुसी छु, तर युभेन्ट्स विजयी हुनु मेरा लागि अझै ठूलो खुसीको विषय हो,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘एसी मिलान राम्रो लयमा छ । त्यस्तो टोलीविरुद्धको जितले सधैं बेग्लै ऊर्जा प्रदान गर्ने गर्छ।’

इटालियन सिरी ‘ए’ मा शनिबारै लाजियोले बेनेभेन्टोलाई ६–२ को फराकिलो अन्तरमा  पराजित गर्दा सिरो इमोबिलले दुई तथा फिलिप काइसेडो, स्टेफन डी भिर्ज, लुकास लिइभा र लुइस अल्बर्टोले गोल गरे । नवौं मिनेटमा क्रिस्टियन पुजियोनीले रातो कार्ड सामना गरेपछि बेनेभेन्टो १० खेलाडीमा सीमित भएको थियो । टोलीका लागि डानिलो काटाल्डी र ग्विलेर्मेले गरेका गोल सान्त्वनामा सीमित भए।

त्यस्तै एट्लान्टाले युडिनेसीलाई २–० को नतिजामा हराउँदा टोरिनोले काग्लियारीलाई ४–० तथा फियोरेन्टिनाले क्रोटोनेमाथि २–० को विजयी नतिजा हात पारे । जिनुवा र एसपिएएलले १–१ को बराबरी नतिजा निकाल्दा इन्टर मिलानले हेलास भेरोनालाई ३–० तथा किइभो भेरोनाले साम्पडोरियालाई २–१ को नतिजामा पराजित गरे।

प्रकाशित: १९ चैत्र २०७४ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App