२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो इलाम गोल्डकप मंसिर २२ देखि हुने

इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । रेडहर्स फुटबल क्लबले इलामको ठुलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगितामा सहभागी हुने सम्भावित आठ टिमको नामसमेत आयोजकले  बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सहभागी हुने टिममा न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, थ्रिस्टार, संकटा, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लब छन् । 

आयोजक समितिका साङ्गो योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको बताए । ‘हामीले अब मैदान र आर्थिक सहयोगसहितका काम सुरु गरेका छौं,’ उनले भने, ‘गत वर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं ।’

विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । ‘प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेट मनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ,’ खड्गीले भने, ‘विभिन्न सरकारी र गैरसरकारी निकायबाट प्रतियोगिताको आय संकलन गरिनेछ ।’

गत माघमा भएको पहिलो संस्करणमा एनआरटीले उपाधि जितेको थियो । टाई ब्रेकरमा बिर्तामोड युनाइटेडलाई ४–३ गोलान्तरले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको एनआरटीले नगद पाँच लाख पाएको थियो । उपविजेता झापाले तीन लाख रुपैयाँमा चित्त बुझाएको थियो । यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । 

प्रकाशित: १२ भाद्र २०८१ १८:२९ बुधबार

#2nd Elam Gold Cup