६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ट्याटु छोप्ने आदेशले हार !

सांघाई – राष्ट्रिय टोलीका फराकिलो हारबाट निराश बनेका चिनियाँ फुटबल समर्थकले त्यसको दोष देशको फुटबल प्रशासनलाई लगाएका छन्। चीन फुटबल संघले आफ्ना खेलाडीलाई खेलदौरान ट्याटु देखाउन प्रतिबन्ध लगाउनुलाई समर्थकले हारको कारणका रूपमा बयान गरेका छन्।

गत साता वेल्ससँग ६–० तथा सोमबार चेक गणतन्त्रसँग ४–१ को नतिजामा पराजित हुँदा थुप्रै खेलाडीले हातका ट्याटु छोप्न फुल बाउले जर्सी वा ब्यान्डेज लगाएका थिए।

स्थानीय सञ्चारमाध्यममा जनाइएअनुसार इटालीका विश्वकप विजेता प्रशिक्षक मार्सेलो लिप्पीको टोलीका खेलाडीहरूलाई चीनका लागि खेल्दा ट्याटु नदेखाउन निर्देशन दिइएको थियो।

चीनका सबभन्दा स्टार खेलाडी सेन्ट्रल रक्षक झाङ लिन्पेङ घरेलु मैदानमा जारी चाइना कपअन्तर्गतका दुवै खेलमा फराकिलो हार बेहोर्दा मैदान उत्रिएका थिएनन्। सधै पहिलो रोजाइमा रहने उनी चोटका कारण पछिल्ला दुई खेलमा अनुपस्थित भएको बताइएको छ। तर समर्थकहरू भने हात तथा घाँटीमा अनगिन्ती ट्याटु बनाएका उनी तिनै ट्याटु छोप्न नसकेर मैदान नउत्रिएको विश्वासमा छन्।

अन्तर्राष्ट्रिय फुटबलमा अन्य देशका खेलाडीको दाँजोमा चिनियाँ फुटबलरहरू ट्याटु बनाउन पछि छन्। तर चीनमा पनि बिस्तारै ट्याटु बनाउने फेसन बढ्दै जाँदा सरकारले बेलैमा सचेत भएर यसमा रोक लगाएको हो। कम्युनिस्ट पार्टीको शासन रहेको देशमा प्रत्येक जनताको व्यवहारमा नैतिकता र शालीनता बढी अपेक्षा गरिन्छ।

सोमबार चेक गणतन्त्रसँग पराजित भएको खेलमा मिडफिल्डर चाई हुइकाङले ट्याटु छोप्न फुल बाउले जर्सी लगाएका थिए भने वैकल्पिक खेलाडी वेई शिहाओ बाइसेपको ट्याटु छोप्न ब्यान्डेज लगाएर मैदान उत्रिए।

चिनियाँ फुटबल संघ (सिएफए) ले ट्याटुमा औपचारिक प्रतिबन्ध लगाएको छैन। तर स्थानीय सञ्चार माध्यमका अनुसार चिनियाँ खेलाडीहरूको ट्याटुमोह बेलैमा रोक्न अनौपचारिक रूपमा सबै खेलाडीलाई कडा निर्देशन जारी गरिएको छ। 

इतिहासकै सर्वोत्कृष्ट ब्याड्मिन्टन खेलाडीका रूपमा लिइएका लिन डानले पनि ट्याटु छोप्न निकै मिहिनेत गर्नुपरेका थिए।

२०१६ अक्टोवरमा ६७ वर्षे लिप्पीले नेतृत्व लिएयता चीनको राष्ट्रिय टोलीले आफूमा थुपै्र सुधार गरेको छ। तर हाल ६९ वर्ष पुगेका लिप्पीले टोलीलाई रूसमा जुनमा सुरु हुने विश्वकपसम्म पु-याउन सकेनन्। अझ पाँच दिनको बीचमा दुई फराकिलो हार बेहोरेपछि भने समर्थकहरू उनीसँग पनि निराश भएका छन्। 

‘पछिल्ला खेलले चिनियाँ फुटबल र युरोपेली फुटबलबीचको अन्तर प्रस्टसँग देखाएको छ,’ इटालीलाई २००६ मा विश्वकपको उपाधि जिताएका लिप्पीले भने, ‘फ्रान्स, जर्मनी र स्पेनजस्ता युरोपका पहिलो दर्जाका टोलीसँग मात्र होइन वेल्स, चेक गणतन्त्रजस्ता टोलीसँग दाँज्दा पनि हामी धेर पछाडि छौं। यो सत्य हो।’

लिप्पीले चिनियाँ फुटबलको स्तर नै तल रहेको स्विकारिरहँदा समर्थकहरूले भने सिएफए देशको फुटबलभन्दा पनि खेलाडीको ट्याटुमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

‘सिएफएले अन्तत चिनियाँ फुटबलको समस्या पत्ता लगाएको छ। अब खेलाडीको कपाल काट्ने शैली र अरू व्यक्तिगत बानी नियन्त्रण गर्नुपर्छ,’ चीनमा अत्यन्तै लोकप्रिय सामाजिक सञ्जाल वेइबोमा एक समर्थकले लेखेका छन्। 

प्रशिक्षक लिप्पीले चिनियाँ फुटबलको स्तर नै तल रहेको स्विकारिरहँदा समर्थकहरूले भने सिएफए देशको फुटबलभन्दा पनि खेलाडीको ट्याटुमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

प्रकाशित: १६ चैत्र २०७४ ०३:१५ शुक्रबार

ट्याटु छोप्ने आदेशले हार