१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

अनियमितता र डोपिङले संकटमा भारोत्तोलन

नेपालको खेलकुद क्षेत्रमा एक समय अब्बल रहँदै आएको नेपाली भारोत्तोलन खेल पछिल्लो समय ओरालो लाग्न थालेको छ।

अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीका सफलता, नियमित गतिविधिसँगै विद्यमान खेलकुद ऐनअनुरूप अगाडि बढ्नु नै नेपाली भारोत्तोलनको सफलताका आधार थिए। तर, खेलको विकास र प्रवर्धनमा जिम्मेवार बन्नुपर्ने नेपाल भारोत्तोलन संघ यसमा चुक्यो। रामकृष्ण श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमिति नै गैरजिम्मेवार बन्यो। यसले नेपाली भारोत्तोलनको अन्तर्राष्ट्रिय नतिजासँगै घरेलु संरचना पनि कमजोर बन्दै छ। केही समयअगाडि नै नेपाली भारोत्तोलनले ठूलो संकट सामना गर्नुपरेको छ। डोपिङ परीक्षणमा पाँच नेपाली खेलाडी नै असफल भए।

राष्ट्रिय टोलीका खेलाडी सागर भण्डारी, विकास भट्ट, विशालसिंह भट्ट, शारदा चौधरी र राष्ट्रिय टोलीकै अर्की महिला खेलाडी डोपिङ परीक्षण असफल भएका हुन्। अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले नै सागरमाथि कारबाही गरिएको उल्लेख गरिसकेको छ। अन्य खेलाडीको भने उसको वेबसाइटमा उल्लेख गरिएको छैन। नेपालको खेलकुद इतिहासमा नै पहिलो पटक यति धेरै खेलाडी डोपिङमा परेका हुन्। संघका अध्यक्ष श्रेष्ठ नै सहभागी प्रतियोगितामा ती खेलाडीले प्रतिबन्धित औषधी सेवन गरेका तथ्य खुलेको छ।

नेपाली भारोत्तोलनको ४५ वर्षे इतिहासमा राष्ट्रका गहनाबाट यो हर्कत हुँदा पूर्वखेलाडीहरू चिन्तित बनेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगिताअगाडि संघकै निगरानी रहेका खेलाडीले यो घटना घटाइरहँदा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाल भारोत्तोलन संघलाई कुनै कारबाही गरेको छैन। डोपिङ विश्व खेलकुदमा जघन्य अपराध मानिन्छ। खेलाडीको यो हर्कतले संघमाथि नै अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि लाग्न सक्ने खतरा हुन्छ।

त्यसैले संघलाई नेपाली खेलकुद निकायले सचेतना पत्र समेत काटेको छैन। भारोत्तोलन संघमाथि पनि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्न सक्ने संघका एक पदाधिकारी बताउँछन्। यस्तो स्थितिमा संघमा राखेप र एनओसीले सचेत नगराउनुले शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने सन्देश जाने धारणा राखे। संघका अध्यक्ष नै सहभागी भएका प्रतियोगितामा खेलाडीले शक्तिवर्धक औषधि प्रयोग गर्नु दुखद पक्ष रहेको बताए।

‘त्यो प्रतियोगितामा संघका अध्यक्ष नै सहभागी हुनुभएको छ। सबै खेलाडीले एकै किसिमका प्रतिबन्धित औषधि प्रयोग गरेका रहेछन्। हाम्रा पाँच खेलाडी डोपिङ परीक्षणमा असफल भएको संघलाई जानकारी आइसकेको छ,’ ती पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार गत जुन १२ मा नै नेपाल ओलम्पिक कमिटी(एनओसी) लाई पनि खेलाडी डोपिङ परीक्षण असफल भएको जानकारी दिइएको छ। तर, एनओसीले यो घटनालाई सार्वजनिक गरेको भने छैन। यो घटनाले नेपाली भारोत्तोलन अन्तर्राष्ट्रिय जगतमा नै कलङ्कित बनेको छ।

संघका अध्यक्ष श्रेष्ठ भने डोपिङको कुरामा आफू अनविज्ञ रहेको भन्दै जबाफ दिन चाहँदैनन्। म त संघ हो। मभन्दा माथि जबाफ दिने अरू सम्बन्धित स्थान पनि हुन्छ। त्यहाँबाट यो कुरा केही आएको छैन। मैले हो या होइन भनेर भनेर अहिले नै कसैको मानहानि गर्न चाहँदिन्ँ। त्यसैले यथार्थ के हो पछि सार्वजनिक गर्छु, अहिले बोल्दिनँ,’ उनले भने।

नेपालमा स्थापित खेलका रूपमा चिनिने भारोत्तोलनमा ठूलो दाग लागेको छ। संघकै एक पदाधिकारी अनुसार वर्तमान अध्यक्ष श्रेष्ठ खेलाडीमाथि मुद्दा लगाउँछु भन्दै आफू र ती खेलमा सहभागी व्यवस्थापक जोगाउने खेलमा लागेको आरोप लगाए। यसै पनि भारोत्तोलन संघको पछिल्ला समय अन्तर्राष्ट्रिय नतिजा सुखद छैन। नियमित गतिविधि हुन सकेका छैनन्। जिल्ला जिल्लामा संरचना कमजोर छन्। कमजोर घरेलु संरचना, नियमित रूपमा कार्यक्रम हुन नसक्नु र संघका पदाधिकारी नै गैरजिम्मेवारी भएर बस्दा नेपालको भारोत्तोलन खेलले ठूलो संकट सामना गर्नुपरेको छ।

वर्तमान संघको नेतृत्व र अन्य पदाधिकारीका कारण यो खेल भविष्यमा थप उदोगति पुग्ने भारोत्तोलनका एक चर्चित खेलाडी बताउँछन्। रामकृष्ण श्रेष्ठको नेतृत्वको वर्तमान नेपाल भारोत्तोलन संघ अहिले खेलकुद ऐनविपरीत काम गरिरहेको छ। किनकि यो समितिको चार वर्षे कार्यकाल सकिएको पनि ६ महिना बितिसक्यो। तर, शक्तिका आडमा यो संघले विशेष सुविधा पाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उदासीनताले भारोत्तोलन खेल संकटमा परेको विभागीय टोलीका एक खेलाडी बताउँछन्। ती खेलाडीकाअनुसार संघका अध्यक्ष श्रेष्ठ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठनिकट हुन्।

राखेप सदस्यसचिव टंकलाल घिसिङले पनि संघका अध्यक्ष श्रेष्ठ नेतृत्वको पदावधि सकिँदा पनि कुनै कारबाही नगरेको एक पूर्वपदाधिकारी बताउँछन्। संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ भन्दा बाहिर रहेर विशेष सुविधा पाइरहेको उनको आरोप छ। 

प्रकाशित: २ श्रावण २०८१ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App