१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

राजन नेपाल च्याम्पियन

झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन्। उनले अन्तिम तथा ११ औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै आठ अंकसहित उपाधि जितेका हुन्।

देशका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक आठ अंक बनाएर राजन च्याम्पियन भएका हुन्।

एक हजार ९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे। उनले सात जित, दुई बराबरी र दुई हारको नतिजा निकाल्दै आठ अंक बनाएका हुन्।

३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडका लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन्। झापाकै सुश्रुत दाहाल र नेपालका पूर्वच्याम्पियन क्षितिज भण्डारीले दोस्रो र तेस्रो स्थानमा रहेर ओलम्पियाडको यात्रा तय गरे।

समान साढे सात अंक भए पनि क्षितिज टाइब्रेकरमा सुश्रुतसँग पछाडि परेका थिए। सुश्रुतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवाललाई पराजित गरे भने क्षितिजले दोलखाका राजीव कार्कीलाई हराएका थिए। नेसनल च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी ओलम्पियाडका लागि छनोट भएका हुन्।

महिलातर्फ अन्तिम चरणको खेलमा कृतिसरा अधिकारीसँग पराजित भएता पनि सिन्दिरा जोशी नौ अंकसहित दोस्रो पटक नेपाल च्याम्पियन हुन सफल भइन्। सिन्दिराले ११ औं चरणसम्मको खेलमा आठमा सफलता हात पारिन् भने दुईमा हार बेहोरेकी थिइन्। झापाकी कृतिसरा अधिकारी उपविजेता र कास्कीकी पूजा भण्डारी तेस्रो भए । शान्ति धिमाल चौथो स्थानमा रहेर ओलम्पियाडको लागि स्थान बनाउन सफल भइन्।

लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजयी खेलाडीलाई पुरस्कृत गरे।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:५५ शुक्रबार

#Jhapa #Rajan Suvedi #National Chess Championship