१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेटको यो यात्रामा हरेक दिन सफल भइन्छ भन्ने छैनः सोमपाल कामी

पेस बलर सोमपाल कामी । राष्ट्रिय जर्सीमा उनले क्रिकेट खेलेको पनि एक दशक पूरा भइसकेको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमका उनी एकमात्र यस्ता खेलाडी हुन्, जसले दोस्रो विश्वकप खेल्दैछ । सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकप क्रिकेटमा नेपाली टोलीका सदस्य रहेका उनी अहिलेको विश्वकपमा पनि सहभागी छन् । अहिलेसम्म ६५ वटा टी २० आई खेलेका सोमपालले ५८ विकेट लिएका छन् । ६५ मध्ये ३८ इनिङ्समा ब्याटिङ गरेका उनले ३१५ रन पनि बनाएका छन् । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल मंगलबार राति खेल्नु अघि उनै सोमपालसँग नागरिकले गरेको कुराकानीको सम्पादित अंशः  

 

प्रश्नः सन् २०१४ मा विश्वकप खेलेपछि नेपालको क्रिकेटमा आएका परिवर्तनहरु के के हुन् ?  

उत्तरः दश वर्षपछि हामी फेरि विश्वकप क्रिकेट खेल्दैछौं । यो एकदमै ठुलो उपलब्धि हो हाम्रो लागि । यो दश वर्षको यात्रा हेर्ने हो भने धेरै परिवर्तन आएको छ नेपाली क्रिकेटमा । सकारात्मक परिवर्तन बढी छन् । हामी खेल्दा यति धेरै खेलहरु हुने थिएन । अहिले एकपछि अर्को सिरिजहरु पाइरहेका छौं । वेस्ट इन्डिजजस्तो टिमसँग खेल्न पाइएको छ । 

वेस्ट इन्डिज ए, आयरल्यान्ड ए । एकदमै ठूलो उपलब्धि हो । जुन बेला मैले नेपालबाट क्रिकेट खेल्न थालेको थिए, ऊ बेला हामी डिभिजन थ्रीमा थियौं । म्याच फी थिएन । टी २० म्याच फी थिएन । कन्ट्रयाक्ट थिएन । कम्तीमा आज यी सबै कुराहरु छन् । हामीसँग खेलहरु छन् । प्रशिक्षकहरु छन् । बलिङ, ब्याटिङ, फिजियो, ट्रेनर छन् । स्टाफहरु पनि थपिएका छन् । यसले हामीलाई माथिल्लो लेभलमा प्रदर्शन गर्न सजिलो पनि भएको छ । खुशी लाग्छ ।

पहिला केही पनि नहुँदा पनि हामी नेपाली क्रिकेटलाई राम्रो ठाउँमा पुर्याउँछौं भनेर लागेका थियौं । त्यो यात्रामा धेरै खेलाडीले क्रिकेट छाड्नु पनि भयो । म धेरै खुशी छु कि म अहिलेसम्म पनि नेपाली क्रिकेटलाई प्रतिनिधित्व गरिरहेको छु । त्यो अत्यन्तै खुशीको क्षण थियो, हाम्रो लागि र नेपाली क्रिकेटका लागि । त्यो पनि हेरियो । सबै चुनौती र समस्याको सामना पनि गरियो । खेलाडीका रुपमा होस् वा व्यक्तिका रुपमा हामीमा अहिले सुधार आएको छ । आशा गरौं भविष्यमा अझै राम्रो क्रिकेट खेल्ने छौं । 

नेपाललाई अझै माथिल्लो लेभलमा पुर्याउने छौं । क्रिकेट खेलाडीका रुपमा धेरै कुरा पाएका छन् । खुशी पनि लाग्छ । अहिले आएर ग्रेट एको एक लाख सेलरी छ । कति ब्रान्डले क्रिकेट र क्रिकेट प्लेयरसँग सम्झौता गरेको छ । यहीँ नै हो क्रिकेट र देशको उपलब्धि भनेको । मलाई भने एकदमै गर्व महशुस हुन्छ कि नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ र विश्वकप क्रिकेटमा पुर्याएका छौं ।  

 

प्रश्नः क्रिकेटले तपाईंको जीवनमा पारेको प्रभाव के हो ?  

उत्तरः क्रिकेटले मलाई धेरै कुराहरु दिएको छ । म एकदमै आभारी छु क्रिकेट प्रति । मैले आफ्नो जीवनमा क्रिकेटलाई छाने । मेरो जीवनको सबैभन्दा ठूलो उत्प्रेरणा भनेकै क्रिकेट नै हो । कहीँ न कहीँ मैले मेरो परिवारको सपनाहरु पूर्णरूपमा पूरा त गरेको छैन तर बुवाआमाले मेरो खेलप्रति एकदर्म गर्व महशुस गर्नु हुन्छ । 

जतिबेला मैले नेपालको प्रतिनिधित्व गर्न थालेको थिए, सुरुवाती समयमा साच्चै नै गाह्रो थियो क्रिकेट सुरु गर्न । नेपालबाट खेल्छु भन्दा बुवाआमासहित परिवारका सदस्यहरुले अनुमति दिनु भएको थिएन । तर आइयो नेपालमा र खेल्न थाले । सबैको सद्भाव रह्यो । मैले केही राम्रो खेल्न सकेँ । आज बुवाआमालाई खुशी लाग्छ । जहाँ पनि म सोमपालको बुवाआमा हो भनेर चिनाउँदा उहाँहरुले खुशी महशुस गर्नु हुन्छ । 

एउटा छोराको रुपमा मलाई सधैं लागिरहन्थ्यो कि बुवाआमालाई कसरी विशेष महशुस गराउँ ? उहाँहरुको सपना कसरी पूरा गरौं ? घर बनाउनेदेखि धेरै सपना त बाँकी नै छ । ती सपनासँगै अन्य सपनाहरु पनि जोडिदै जाने रैछ । व्यक्तिको रूपमा सपनाहरु सकिनु पनि हुन्न र निरन्तर देख्नु पनि पर्छ । यी सपना पूरा गर्न मलाई क्रिकेटले धेरै नै दिएको छ । म आभारी छु । मैले श्रीमतीलाई पनि क्रिकेटले गर्दा नै भेटेको हो । धनगढीमा क्रिकेट खेल्दा पहिलो पटक भेटेका थियौं । पछि राम्रो साथी बन्यौं र विहेपछि पनि हामी साथी जस्तै छौं ।

हामीबीच कुरा हुँदा पनि त्यहीँ कुरा बढी हुन्छ कि परिवारलाई कसरी प्राउड महशुस गराउने ? मेरी श्रीमती प्रतिभा जी पनि एकदमै खुशी हुनुहुन्छ कि म क्रिकेट खेल्छु भनेर । सधैं खेल्नु पर्छ भन्ने कुराले कुनै अर्थ राख्दैन तर जुन बेला म नेपालको जर्सी लगाउँछु र म जहाँजहाँ पुगेको छु त्यसमा मेरो श्रीमती र भाइहरूको ठूलो हात छ । उनीहरुले मलाई कहिले पनि दबाब दिएनन् । 

काठमाडौंमा बस्नै गाह्रो छ । परिवार चलाउन कति गाह्रो छ । फेरि पनि मेरा बुवाआमा, श्रीमती र भाइहरुले समस्याहरु समाधान गर्दा कुनै दबाब दिएनन् । मेरो सफलतामा मेरा भाइहरुको ठूलो हात छ । उनीहरुको खुशी हेरेर मलाई आफैं पनि खुशी लाग्छ ।  

 

प्रश्नः आईसीसी टी २० विश्वकप नेपालका लागि कति महत्त्वपूर्ण छ ?  

उत्तरः यो विश्वकप नेपाल र नेपालीहरुका लागिमात्र होइन आउने जेनेरेशनका लागि पनि एकदमै महत्त्वपूर्ण छ । जुन समयमा सन् २०१४ मा हामी विश्वकप खेलिरहेका थियौं त्यो समयमा रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहोरा, गुल्शन झालगायत जति पनि युवा खेलाडी छन् उनीहरु हामीलाई टिभीमा हेरेर प्रेरित हुँदै त्रिकेट सुरु गरेको हो । 

अब हामीले यो विश्वकपमा कस्तो प्रदर्शन गछौं यसले आगामी जेनेरेशनलाई प्रभाव पार्नेछ । उत्प्रेरित गर्नेछ । यो जर्सी कतिको महत्त्वपूर्ण छ भनेर । २०१४ मा खेल्दा हामीले खेलहरु धेरै पाएका थिएनौं । हाम्रो तयारी त्यति राम्रो थिएन । म आफैं पनि खेलाडीका रूपमा तयार थिइन, त्यो लेभलको लागि । पहिलो टी २० खेल नै मेरो विश्वकपमा थियो । आज भने म पूर्णरूपमा तयार छु यो लेभलको लागि । 

मेरो र मेरो सबै नेपाली टिमको सोच त्यहीँ नै हुन्छ कि यो विश्वकपमा राम्रो गरौं । अब जति पनि युवा खेलाडीहरु एकेडेमीमा छन्, स्कुल र कलेजमा क्रिकेट खेल्छन् उनीहरुको लागि प्रेरणा होस् । हामीले खेल्दा परिवारले रोकिरहेको हुने थियो तर अहिले एकेडेमीमा बच्चा लिएर परिवारकै सदस्य आउनु हुन्छ । छाड्न आउनु हुन्छ, लिन आउनु हुन्छ, खाजासमेत बोकेर आउनु हुन्छ । यो यात्रालाई निरन्तरता दिनुछ । यो पिडीलाई अघि बढाउनुछ । 

त्यसैले यो विश्वकप हाम्रो लागि अति नै महत्त्वपूर्ण छ र यसले धेरै जनाको सपनालाई अझ ठुलो गराउनु छ। सन् २०१४ मा विश्वकप खेलेपछि अहिले हामी २०२४ मा खेल्न गइरहेका छौं त्यसैले धेरै लामो प्रतीक्षा थियो । आशा गरौं अर्को विश्वकपका लागि हामीले यतिधेरै विश्वकप खेल्न नपरोस् । एकदिवसीय विश्वकप खेलौं । हाम्रो देश टेस्ट राष्ट्र बनोस् । त्यसैले जसरी २०१४ मा प्रेरित गरेको थियो यो विश्वकपले पनि गर्नेछ ।  

 

प्रश्नः क्रिकेट बोर्डमा पूर्वखेलाडीहरुको सहभागिताले कस्तो संकेत दिएको छ ?  

उत्तरः बोर्डमा क्रिकेट खेलाडीहरुको सहभागिताले क्रिकेटलाई माथि उकास्न धेरै नै सहयोग मिलेको छ । अहिले पारस खड्का दाइ, विनोद दाइ, दीपेन्द्र दाइ हुनुहुन्छ । उहाँहरुमा केही न केही क्रिकेटको जानकारी छ । उहाँहरुलाई थाहा छ क्रिकेटलाई कसरी माथि उठाउने । 

जसरी एउटा खेलाडी मैदानमा खेलेर, त्यहाँ मेहेनत गरेर आउछ । उनीहरुलाई थाहा हुन्छ के कमी छ ? के कमजोरी छ ? यो सुधार गर्न बोर्डमा आउँदा, समाधान गर्न सजिलो हुन्छ । कमजोरीलाई कसरी समाधान गर्ने । जति पनि खेलिरहेका खेलाडीहरु छन् उनीहरुलाई थाहा हुन्छ,  के कति कमजोरी छ भित्र भन्नेबारे । 

खेलहरुको कमी छ कि ? क्रिकेटको विकास कसरी गर्ने ? क्याम्प लगाउने कि ? प्रतियोगिता नै आयोजना गर्ने कि ? जति पनि राम्रा कुराहरु भएका छन् यसले निरन्तरता पाइनै रहोस् । नेपाली क्रिकेटलाई कसरी राम्रो बनाउने भन्ने नै हो नि त हाम्रो उद्देश्य ।  

 

प्रश्नः राष्ट्रिय टिममा आफ्नो १० वर्षे यो यात्रालाई कसरी सम्झनु हुन्छ ?  

उत्तरः यो दश वर्षे यात्रामा मैले फ्यानहरुबाट धेरै नै माया पाएको छु । मेरो पहिलो पासपोर्ट नै मलाई माया गर्ने फ्यानहरुले बनाइदिनु भएको हो । मेरो पहिलो सपिङ पनि नेपाली फ्यानले नै गर्दिनु भएको हो ।

म यति लक्की छु कि सुरुवाती दिनमा मलाई सबैले माया दिनुभयो । यो माया अझै कायमै छ । म आफैंलाई भाग्यमानी ठान्छु कि म नेपालबाट खेलिरहेको छु । हामी खेल्न जहाँ जान्छौं, त्यहाँ हामीलाई माया गर्न, समर्थन गर्न नेपाली फ्यानहरु आउनु हुन्छ । एकदमै खुशी लाग्छ ।

यो यात्रामा उतारचढाव त आइरहाल्छ । यो जीवनको एउटा पाटो हो त्यसमा तपाईं हरेक दिन सफल बन्न सक्नु हुन्न । हरेक दिन आउने अवसरलाई सफल बनाउन प्रेरणा दिने र सहयोग गर्ने साथीहरु धेरै नै हुन्छन् । मेरो यात्रामा पनि यस्ता सहयोगीहरु धेरै नै थिए । त्यसैले नै मलाइ यहाँ पुग्न सजिलो भयो । मेरो गल्तीहरुमा खुलेर कुरा गर्दै सुझावहरु दिनुभयो । 

मलाइ पारस दाइ, मनिष दाइ, राजेन्द्र दाइ, रवि दाइलगायतले जहिल्यै पनि क्रिकेटमा मैले प्राविधिकरूपमा कसरी राम्रो गर्न सक्छु ? कुरा गर्ने शैलीमा, सम्बन्धहरु कसरी बढाउने ? उहाँहरुले सधै साथसुझाव दिनुभयो । हाम्रो जीवनमा क्रिकेटमात्र हुँदैन, अन्य कुराहरु पनि हुन्छन् जुन व्यवस्थापन गर्न हामीलाई आउँदैन । यी सबै गर्न मेरो जीवनमा चै धेरै मानिसहरुको भूमिका छ ।

म सबैसँग आभारी छु । यो यात्रा तपाईहरुको मायाले अझै बढ्नेछ । हामी सबै क्रिकेटरहरु धेरै नै भाग्यमानी छौं । सधैं माया गर्नुहोला । 

 

प्रकाशित: २२ जेष्ठ २०८१ १७:३३ मंगलबार

#ICC #ICC_20_20_World_cup #ICC_World_Cup #sompal_kami