१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

काठमाडौ – लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सम्पन्न महिलातर्फको फाइनलमा न्यु डायमन्डलाई हराउँदै एपिएफले जारी सजनमा छैटौं उपाधि जित्न सफल भयो । पहिलो दुई सेट १६–२५, १६–२५ ले गुमाएको एपिएफले बाँकी सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । पहिले सेटमा प्रभाव जमाउन नसकेको एपिएफले १२–१२ को अवस्थामा स्पाइकर सरस्वती चौधरी घाइते भएर १० मिनेट कोर्टबाहिर बस्दा दोस्रो सेट पनि गुमायो । तर, बाँकी सेट एपिएफले २५–१४, २५–१३ र १५–९ स्कोरमा जित्दै उपाधि उचाल्यो।

‘रिसिभमा समस्या हुँदा पहिलो सेट गुमायौंं,’ एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले भने, ‘१२–१२ को अवस्थामा सरस्वती चौधरी घाइते हुँदै बाहिरिएपछि दोस्रो सेटमा पनि पुनरागमन गर्न सकेनौं । त्यसपछिका ३ सेटमा टोलीले उत्कृष्ट तालमेल देखाउँदा नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं।’

यसअघि पोखराको लामाचौरमा सम्पन्न खुला महिला भलिबल, नेपालगन्जको पिएम कप, राखेप च्याम्पियनसिप, चितवनको मेयर कप, शिवम् न्यु डायमन्ड कप र ढोरपाटन महिला डबल लिगमा दुई पटक गरी ७ पटक न्यु डायमन्ड र एपिएफ आमनेसामने भएका थिए । जसमा न्यु डायमन्ड कपको फाइनलबाहेक सबैमा एपिएफ विजयी भएको थियो।

उपाधि जितेसँगै एपिएफले १ लाख ५० हजार रुपैयाँ नगद हात पा¥यो । उपविजेता न्यु डायमन्डले १ लाख रुपैयाँ नगद पुरस्कार जित्यो । तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ६० हजार रुपैयाँ नगद हात पा¥यो।

शनिबारै तेस्रो स्थानका लागि भएको खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २५–२३ ले जितेको पुलिस क्लबले दोस्रो २५–२२ तथा र तेस्रो सेट २६–२४ ले गुमाएको थियो । चौथो सेटमा उत्कृष्ट खेल्दै २५–१२ को जित निकालेको पुलिसले अन्तिम सेट १५–१३ आफ्नो पक्षमा पा¥यो।

शनिबारै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाल स्पोटर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । यो सिजनमा त्रिभुवन हार्मीको यो तेस्रो उपाधि हो । यसअघि आर्मीले राखेप च्याम्पियनसिप र प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको थियो।

राखेप कर्भडहलमै भएको फाइनलमा त्रिभुवन आर्मीले हेल्प नेपाललाई २५–१५, २५–२१, २५–१४ को सेटमा पराजित गरेको हो । विजेता आर्मी क्लबले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेता हेल्प नेपालले १ लाख रुपैयाँ नगद पुरस्कार पायो । आर्मी क्लबका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले निरन्तर प्रशिक्षण र खेलाडीको मिहिनेतले उपाधि जित्न सहज भएको बताए।
‘छोटो समयमा राम्रो प्रशिक्षणका कारण उपाधि जित्न हामीलाई सहज भयो,’  आर्मीका प्रशिक्षक श्रेष्ठको भने, ‘ब्लक र पावर स्पाइक हाम्रो टिमको मुख्य रणनीति थियो । त्यसले गर्दा विपक्षीलाई सहज बल प्राप्त भएन । जसमा हामी सफल भयौं।’

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दैै तेस्रो भयो । पुलिस क्लबलाई २५–१९, २५–२३, २५–२३ को सेटमा पराजित गरेको एपिएफले  ६० हजार रुपैयाँ नगद पुरस्कार पायो।
फागुन १३ गतेबाट सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित हुँदा महिलातर्फ न्यु डायमण्डकी प्रतिभा माली सर्वोत्कृष्ट घोषित भइन् । दुवैले १५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

आर्मी क्लबकै दुर्गा महतो उत्कृष्ट सेटर घोषित हुँदा आर्मी क्लबकै धनबहादुर भट्ट उत्कृष्ट सर्भर र ईश्वर थापा उत्कृष्ट लिब्रोे घोषित भए । यस्तै, हेल्प नेपालका ललितकुमार उत्कृष्ट स्पाइकर र प्रिन्स मल्लिक उत्कृष्ट ब्लकर घोषित भए । ललित र प्रिन्स दुवै भारतीय खेलाडी हुन् । उत्कृष्ट प्रशिक्षक कपिलकिशोर श्रेष्ठ बने।

महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर घोषित हुँदा एपिएफकै हीरा केसी उत्कृष्ट सर्भर बनिन् । न्यु डायमन्डकी कृपा अधिकारी सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए । नेपाल पुलिस क्लबकी मनीषा चौधरी उत्कृष्ट ब्लकर बन्दा एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले ५ हजार रुपैयाँ नगद हात पारे।
 लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टिमले सहभागिता जनाएका थिए।

                महिला                                                                                                             पुरुष
विधा            खेलाडी                           टिम                                                     खेलाडी                टिम
स्पाइकर       सरस्वती चौधरी                एपिएफ                                            ललित कुमार         एचएनएससी
सेटर            कृपा अधिारी                  न्यु डायमन्ड                                        दुर्गा महतो          त्रिभुवन आर्मी
लिब्रो            सलिना श्रेष्ठ                    न्यु डायमन्ड                                         ईश्वर थापा            त्रिभुवन आर्मी
ब्लकर          मनीषा चौधरी                  नेपाल पुलिस                                      प्रिन्स मल्लिक        एचएनएससी
खेलाडी          प्रतिभा माली                   न्यु डायमन्ड                                       मानबहादुर श्रेष्ठ      त्रिभुवन आर्मी
प्रशिक्षक        ज्ञानेन्द्र विष्ट                     एपिएफ                                            कपिलकिशोर श्रेष्ठ     त्रिभुवन आर्मी

 

प्रकाशित: २० फाल्गुन २०७४ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App