४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा ! रारा पोखरा गोल्ड कपमा थ्रीस्टारको सुखद सुरुवात

मंगलबारको खेलमा थ्रीस्टार र सहाराका खेलाडी बल खोस्न प्रयास गर्दै । तस्बिर: उमेश पुन

आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेल जित्दै थ्रीस्टारले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आज मंगलबारदेखि सुरु भएको २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। 

आहा ! रारा पोखरा गोल्ड कपमा भएको तेस्रो भिडन्तमा पनि सहाराविरुद्ध थ्रीस्टारले बाजी मारेको छ।यसअघि थ्रीस्टारले सहारालाई २०६३ सालमा ३–१ र २०६९ सालमा १–० ले पराजित गरेको थियो।

युवा खेलाडीले भरिएको आयोजक सहारा क्लबविरुद्ध सुरुवातदेखि नै दबाबमा राखेर खेलेको थ्रीस्टारले खेलको पाँचौ मिनेटमै गोल गर्दै अग्रता लिएको थियो।सहाराका पासाङ लामाले थ्रीस्टारका आदित्य शाक्यलाई फाउल गरेपछि थ्रीस्टारले फ्रिकिक पाएको थियो।सो अवसरमा आशिष चापागाईंले हानेको फ्रिकिक बललाई एञ्जल महर्जनले उपलब्ध गराएको क्रसमा थ्रीस्टारका कप्तान योगेश गुरुङले गरेको प्रहार विपक्षी गोलकिपर टेकेन्द्र थापाले पञ्च गर्दा रिबाउण्ड भएको थियो।सोही रिबाउण्ड बललाई गुरुङले पुनः प्रहार गर्दै जाली चुमाएका हुन्।

मंगलबारदेखि पोखरामा सुरु भएको आहा ! रारा पोखरा गोल्डकपको रेफ्री नवीन महर्जनलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्दै । तस्बिर: उमेश पुन

पहिलो गोलको अग्रता भने धेरै टिकेन।गोल खाएपछि थप आक्रामक भएको सहाराले खेलको २३ औं मिनेटमा बराबरी गोल फर्कायो।सहाराका आशिष गुरुङले गोल गर्दै सहारालाई खेलमा कम ब्याक गराए।उनले मैदानको दाहिने साइडबाट लक्ष्मण रुचालले हानेको फ्रिकिक बललाई हेडर गोल गरेका हुन्।फष्र्टवार च्यापेर हानेको हेडर विपक्षी गोल किपर अभिषेक बराल रोक्न असफल भए।

तर खेलको ५९ औं मिनेटमा थ्रीस्टारले गोल गर्दै जित सुनिश्चित गर्‍यो।यस पटक थ्रीस्टारका एञ्जल महर्जनले करिब ४० यार्ड टाढाबाट हानेको फ्रिकिक सिधै गोलमा परिणत भएको हो।

पहिलो हाफमा निक्कै आक्रामक देखिएको थ्रीस्टार दोश्रो गोलपछि भने रक्षात्मक बन्यो। जसका कारण उसले खासै धेरै मुभ बनाउन सकेन।

सहाराले खेलको ३१, ५१ र दोश्रो हाफको अतिरिक्त समयमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा हारलाई टार्न सकेन।३१ औं मिनेटमा लक्ष्मण रुचालले हानेको फ्रिकिकलाई विपक्षी गोलकिपर बरालले पञ्च गरेर मुस्किलले बचाए।

त्यस्तै ५१ औं मिनेटमा रुचालले नै हानेको कर्नर किकमा पासाङ लामाले सेकेण्डवार च्यापेर हानेको हेडर बार माथिबाट बाहिरियो।निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयको दोश्रो मिनेटमा सन्तोष रुचालले हानेको कर्नर किक पनि खेर गयो।डी–एरिया नजिक आएको बल हुलमुलमा परेपछि सहाराका खेलाडीले गरेको प्रहार फितलो भएपछि विपक्षी गोलकिपर बरालले पञ्च गरेर बचाए।

यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए।उद्घाटन कार्यक्रममा बोल्दै उनले खेल प्रतिष्ठा, पहिचान र एकताको प्रतीक भएको बताए।त्यहि भएर आहा ! रारा पोखरा गोल्ड कपलाई महानगरले संरक्षकत्व प्रदान गरेको उनको भनाई थियो।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन बुधवार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्ध राईजिङ स्टार फुटबल क्लब प्रतिष्पर्धामा उत्रिनेछ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उपाधि विजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपबिजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव राजीप्रसाद अधिकारीले जानकारी दिए।उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ।उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गरेको छ।

प्रकाशित: ९ माघ २०८० १४:१२ मंगलबार

आहा ! रारा पोखरा गोल्ड कप