सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज कर्णाली प्रदेशमाथि ९२ रनको रबाफिलो जित निकाल्दै एपिएफ दुई खेल अगावै प्लअेफमा पुगेको हो।ओपनरद्वय राजमति ऐरी र ममता चौधरीको शतकीय साझेदारीमा एपिएफले कर्णालीलाई सहजै हरायो।
समान पाँच खेलमा एपिएफ अपराजित छ भने कर्णाली जितविहीन टोली हो।राजमति र ममताले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए । सोही प्रेरणामा एपिएफले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै कर्णालीसामु १६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो।
ममता ६२ रनमा रन आउट भइन्।उनी १५.६ ओभरमा पहिलो विकेटको रूपमा पवेलियन फर्किइन्। उनको इनिङमा आठ चौका रह्यो।त्यसपछि राजमतिले इनिङ समाल्दै ६७ रनको योगदान दिइन्। अन्तिम ओभरको चौथो बलमा त्रिसना विश्वकर्माद्वारा बोल्ड हुनुअघि राजमतिले ५५ बलमा ९ चौका र दुई छक्का प्रहार गरिन्।रोमा थापाले ९ बलमा १३ रन जोड्दै राजमतिलाई साथ दिइन्।जवाफी ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभर नै खेले पनि आठ विकेटको क्षतिमा ६८ रन मात्र जोड्दै एपिएफलाई नतिजा सुम्पियो।
ओपनर तथा कप्तान किरण कुँवर १ रनमै पवेलियन फर्किइन्।अर्की ओपर त्रिसनाको १९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो।शीर्ष क्रमका ब्याटर सहजै पवेलियन फर्किँदा गौरी बोहोराले १२ रन र रश्मि खड्काले १० रनको योगदान दिए पनि कर्णालीलाई पाँचौं हार सामना गर्नबाट रोक्न सकेनन्।एपिएफका बलर करुणा भण्डारीले चार ओभरमा एक मेडन राख्दै मात्र १३ रन खर्चँदै चार विकेट लिइन्।सुमन विष्टले दुई तथा बिनु मगर र सीता राना मगरले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशायी बनाए।
आज नै कोसी र सुदूरपश्चिम प्रदेशले आआफ्ना खेलमा सफलता निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँदा बागमतीको सम्भावना पनि जीवन्त छ।मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि ५५ रनको जित निकाल्दै कोसी प्रदेशले चौथो जित निकाल्यो।कोसीले एक मात्र एपिएफसँग सामना गरेको थियो । कोसीले बिहीबार अर्को बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ।त्यो खेलले नै कोसीको प्लेअफ यात्रासँगै शीर्ष दुईको दाबेदारी प्रस्तुत गर्नेछ।समान पाँच खेलबाट कोसी र सुदूरपश्चिमको समान आठ अंक छ।
सुदूरपश्चिमले पनि एक मात्र हार एपिएफसँग नै व्यहोरेको हो।बुधवार पराजय व्यहोरेको गण्डकी समान खेलबाट दुई अंकका साथ छैटौँ स्थानमा छ।कोसीले प्रश्ततु गरेको एक सय चार रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमै समेटियो।गण्डकीकी सुमन खतिवडाले २१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।कोशीका लागि कप्तान रुविना क्षेत्रीले तीन, संगीता राई र एलिशा खडियाले समान दुई तथा अप्सरी बेगमले एक विकेट लिए।त्यसअघि टस जितेर ब्याटिङ गरेको कोसीले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ३ रनको योगफल बनाएको थियो।
निकै खराब सुरुवात गरेको कोसीका शीर्ष तीन ब्याटर कप्तान रुविना ४ रन, काजल श्रेष्ठ ६ रन र अप्सरी बेगम १ रनमै पवेलियन फर्किए।तर, त्यसपछिका ब्याटर विमला मलाहाले २५, संगीता राईले अविजित २३ र लकिता राजवंशीले २२ रन जोड्दै कोसीलाई सामान्य योगफलतर्फ अग्रसर गराए। गण्डकीका कुशुम गोदार र श्रृष्टि जैसीले समान दुई तथा रचना चौधरी, सुमन खतिवडा र आकृति तिवारीले समान एक विकेट लिए।
प्रकाशित: ११ पुस २०८० १२:४५ बुधबार