१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दिदीभाइले जोगाए उपाधि

काठमाडौं – नेपाली सेनाका दिदीभाइ नङ्सल तामाङ र रत्नजित तामाङले आफ्नो उपाधि जोगाएका छन्। 
सुदूर पश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत भएको ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फको जित निकालेसँगै उनीहरूले उपाधि जोगाएको राखेपले जनाएको छ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलमा सेनाकी नङ्सलले एपिएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि जोगाएकी हुन् । नङ्सलको यो  लगातार तेस्रो उपाधि हो । 
यस्तै टिम इभेन्ट्सको एकल प्रतिस्पर्धामा एपिएफका दीपेशसँग हार बेहोरेका रत्नजितले व्यक्तिगत स्पर्धामा दीपेशलाई पराजित गर्दै आफू उपाधिको दाबेदार भएको प्रस्तुत गरे । पहिलो सेटको खेलमा १९–२१ ले पछि परेका रत्नले दोस्रो सेटको खेलमा दीपेशलाई लगातार ११ अंकसम्म कुनै मौका प्रदान गरेनन् । त्यसपछि लयमा फर्कन खोजेका दीपेशलाई ६ अंकमा रोक्दै रत्नले खेल एक–एकको बराबरीमा ल्याए । तेस्रो सेटमा २१–१२ को जित निकाल्दै रत्नले उपाधि कब्जा गरे । योसहित उनले लगातार चौथो उपाधि उचालेका हुन्। 

विभागीय टोलीको दबदबा रहेको प्रतियोगिताको पुरुष डबल्सतर्फ पनि सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले जित निकाल्यो । तामाङ र श्रेष्ठको जोडीले एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ पराजित गर्दै स्वर्ण हात पार्याे। 

महिला जोडीतर्फको प्रतिस्पर्धामा पनि सेनाले जित निकाल्यो । सेनाका नङ्सल र अनुमाया राईको जोडीले एपिएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९, २१–१५ ले पाखा लगाए।

मिक्स डबल्सतर्फ पनि सेनाले नै विजय हात पा¥यो ।  तामाङ दिदीभाइले एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९ र २१–१० ले पराजित गर्दै सेनाका लागि थप स्वर्ण जोडे।
सेनाले यस प्रतियोगितामा सातमध्ये ६ स्वर्ण आफ्नो पोल्टामा पार्न सफल भयो। 

प्रकाशित: ७ माघ २०७४ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App