२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

इलाममा मंसिर २९ देखि जिर्मले लिग

स्थानीय स्तरमै फुटबलका सिपालु खेलाडी उत्पादन गर्ने उद्देश्यले रोङ गाउँपालिका– ६, जिर्मलेमा फुटबल लिग सञ्चालन गर्न लागिएको छ।

प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।

वडाध्यक्ष सत्यम राईले यही मंसिर २९ देखि प्रथम जिर्मले फुटबल लिग आयोजना गरिने जानकारी दिए। उनका अनुसार दुई महिनासम्म साताको शुक्रबार र शनिबार खेल सञ्चालन गर्न लागिएको हो।

‘वडाकै मात्र खेलाडी समावेश गरी प्रशिक्षणमूलक फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ,’ उनले भने, ‘फुटबल प्रतियोगिताहरू त दर्जनौं आयोजना भइरहन्छन् तर स्थानीय खेलाडी उत्पादनमा त्यस्ता प्रतियोगिता उपलब्धिमूलक भएको देखिँदैन।’

वडाका सामुदायिक विद्यालयका चार खेलमैदानमा प्रत्येक शुक्रबार र शनिबार प्रतियोगिता सञ्चालन गरिने छ। विद्यार्थीको पढाइमा बाधा नगरी प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले जनाए। वडा खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालय र खेल सञ्चालन समितिको संयुक्त सहयोगमा लिग सञ्चालन हुनेछ।

लिगमा साबिकका नौवटै वडाका नौ टिम सहभागी रहनेछन्। ‘यो खेल फुटबल खेलाउनका लागि मात्र आयोजना गरिएको होइन,’ उनले भने, ‘स्थानीयस्तरमै राम्रा खेलाडी उत्पादन गर्नलाई हो।’ अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमानुसार खेल सञ्चालन गरिने उनले बताए।

प्रतियोगिताको विजेताले नगद ६० हजार रूपैयाँ पाउनेछ। उपविजेतालाई पनि ४० हजार नगद पुरस्कार दिइनेछ। अन्य उत्कृष्ट खेलाडीसमेतलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

नौवटै टिमलाई एकएक सेट जर्सी र खेलको दिनको केही ‘फेयर’ रकम पनि दिइने वडाध्यक्ष राईले बताए।

लिग सञ्चालनका लागि १० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ। वडाले डेढ लाख रूपैयाँ खर्च गर्नेछ भने बाँकी रकम विभिन्न दाताबाटै संकलन गर्ने वडाले जनाएको छ। जिल्ला फुटबल संघले खेलका लागि प्राविधिक सहयोग गर्नेछ।

प्रकाशित: २१ मंसिर २०८० ००:५३ बिहीबार

रोङ गाउँपालिका फुटबल लिग स्थानीय प्रतिभा