५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पोखरामा राष्ट्रिय भलिबल

पोखरा- राखेप च्याम्पियनसिपअन्तर्गत यहाँस्थित रंगशालामा राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबारदेखि सुरु हुने प्रतियोगिता आगामी शनिबारसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
राखेप च्याम्पिनयनसिपअन्तर्गत हुन गइरहेको २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय प्रतियोगिता रहेको आयोजकले बताएका छन् । हरेक २ वर्षमा राखेपले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको अलावा यस वर्षदेखि राखेप च्याम्पियनसिपमा भलिबल प्रतियोगिता हुन गइरहेको  आयोजकले बताएको छ ।
प्रतियोगिता संयोजक राजकुमार गुरुङका अनुुसार प्रतियोगितामा खेलाइने सम्पूर्ण विधाका उत्कृष्ट खेलाडी छनोट गरी सन् २०१८ मा आयोजना हुने १७औं एसियाली खेलकुद र २०१९ मा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी गराइनेछ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा हुन थालेको प्रतियोगितामा महिला तथा पुरुषका पाँच विकास क्षेत्रका ५ र ३ वटा विभागीय गरी ८ टिम सहभागी हुने संयोजक गुरुङले बताए ।
उनका अनुसार पाँच विकास क्षेत्रसहित आर्मीको त्रिभुवन क्लब, सशस्त्रको एपिएफ र नेपाल पुलिस क्लबका महिला तथा पुरुष टोली प्रतिश्पर्धामा सहभागी हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने उनले बताए । उनका अनुसार उत्कृष्ट विधामा समेत खेलाडीले पुरस्कार पाउनेछन् ।
भलिबल संघका केन्द्रीय सचिव डिबी नेपालीका अनुसार महिलातर्फको उद्घाटन खेल एपिएफ र पूर्वाञ्चलबीच हुनेछ । त्यस्तै पुरुषतर्फको उद्घाटन खेल आर्मी र पूर्वाञ्चलबीच हुने उनले बताए । ‘समूहचरणका सबै खेल लिग हुन्छन्,’ उनले भने । उनका अनुसार प्रतियोगितामा भाग लिने पश्चिमाञ्चल टिमसमेत तयार भएको छ । महिला तथा पुरुषका दुवै टिम तयार अवस्थामा रहेको उनले बताए । पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट महिला तथा पुरुष भलिबलका ती टिम तयारी अवस्थामा रहेको उनले बताए ।
भलिवल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङका अनुुसार अहिले भाग लिएका महिला तथा पुरुष टिमबाट सबै विधाका २५ जनाका दरले खेलाडी छनोट हुनेछन् । अहिले भाग लिएका ८ वटै टोलीबाट ती खेलाडी छानिनेछन् । छानिएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ र तीमध्येबाट पनि १२ जनाका दरले महिला तथा पुरुषको राष्ट्रिय टिम छनोट हुनेछ । त्यही टिमलाई नै एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्दै खेलाइनेछ । ‘नेपाली भलिबलको राष्ट्रिय टिम पोखराले छान्ने अवसर पाएको छ,’ उनले भने ।
पोखरामा हुने प्रतियोगितामा समूहचरणका खेला भिन्दाभिन्दै मैदानमा खेलाइनेछ । त्यसपछिका खेल बल्ल म्याट बिच्छाएर खेलाइनेछ । अहिले भलिवलका लागि रंगशालामा प्यारापिटसहितको दर्शक बस्ने व्यवस्था गरिएको छ । त्यसबाहेक अस्थायी प्यारापिट पनि तयार पारिने नेपालीले बताए ।

प्रकाशित: १० पुस २०७४ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App