४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अभिलाषा र प्रकृति फाइनलमा

अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन्। वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ तथा प्रकृतिले शुभाङ्गीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० को सेटमा पराजित गरे।

पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जित्यो। उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४–६, ६–४ र १०–१ ले हरायो। भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–० ले पराजित गर्दै शीर्ष स्थान हात पारे।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२, ७–६(३) तथा कमलबहादुर भण्डारीले सीमान्त गुरुङलाई ६–३ र ६–२ ले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे। ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छाउँदै सेमिफाइनलमा पुगे। ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गर्‍यो।

सरालाई दोहोरो स्वर्ण

प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जितिन्। सराले यु–९ र यु–१० गल्र्स सिंगल्समा स्वर्ण जितेकी हुन्। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४–० र ४–१ ले पराजित गरिन्।

अर्को फाइनलमा सराले अनुश्री धोजुमाथि ६–२ र ७–६(१३) को जित दर्ता गरिन्। यु–१० ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइँकेललाई ६–३ र ६–३ ले हराउँदै पहिलो भए।

यु–१२ गर्ल्स सिंगल्समा शिभाली गुरुङले साल्भी महर्जनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउँदै शीर्ष स्थानमा कब्जा गरिन्। यु–१४ ब्वाइज सिंगल्स फाइनलमा वृजेश अर्याल बोरिस अधिकारीलाई ६–२ र ६–३ ले पन्छाउँदै शीर्ष स्थानमा रहे।

प्रकाशित: २३ कार्तिक २०८० ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App