ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।
गत संस्करण सन् २०२१ मा उसैको घरेलु मैदानमा सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल दोस्रो छोटो फरम्याटको विश्वकप खेल्नबाट वञ्चित भएको थियो । यस पटक शुक्रबार मूलपानी क्रिकेट मैदानमा युएईसँग पछिल्ला हारको बदला लिँदै सन् २०१४ पछि विश्वकप खेल्ने नेपाललाई अवसर पनि हुनेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप खेलेको थियो । तर, त्यसपछिको छनोट यात्रा भने नेपालका लागि सुखद रहेन ।
बिहीबार समूह ‘ए’ को अन्तिम खेलमा ओमानलाई हराउँदै नेपालको विजेताका रूपमा सेमिफाइनल पुग्ने लक्ष्य थियो । तर, शीर्ष क्रमका ब्याटरले निराशाजनक प्रदर्शन गर्दा नेपालको योजना सफल हुन सकेन । युवा ब्याटर विवेक यादवले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै हारको संघारबाट नेपाललाई जितको आशा जगाए पनि सफल हुन सकेनन् । अन्तिम ओभरमा जितका लागि २६ रन आवश्यक हुँदा विवेकले तीन छक्कासहित आशा जगाएका हुन् । तर, अन्तिम तीन बलमा सात रन जोड्न नसक्दा नेपाल ओमानसँग पाँच रनले स्तब्ध भयो र समूहको उपविजेतामा नै खुम्चियो ।
त्यससँगै नेपालले समूहमा तीनै खेल नै जित्दै विजेता बनेको युएईलाई फेरि सेमिफाइनलमा प्रतिद्वन्द्वी पाएको हो । नेपालका प्रशिक्षक मोन्टी देसाईले ओमानसँग भएको गल्ती सुधार गर्दै सेमिफाइनलमा युएईविरुद्ध जित निकाल्ने बताए । ‘हामीले धेरै मिहिनेत गरेका छौं । पछिल्ला गल्तीलाई सुधार गर्दै युएईविरुद्ध कमब्याक गर्न चाहन्छ,’ प्रशिक्षक देसाईले भने, ‘ह्याप्पी ड्रेसिङ रुममा रहेका सबै खेलाडीप्रति मेरो विश्वास छ । उनीहरूको भूमिकाबारे पनि सबै स्पष्ट छन् । यो अन्तिम अवसरलाई सदुपयोग गर्न चाहन्छौं ।’
नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४६ रनको मध्यम लक्ष्य पाएको थियो । जबाफमा निकै खराब ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभर नै खेल्दै १४० रनमा समेटियो । विवेकले डेथ ओभरमा बिलाल खानको पहिलो बलमै छक्का प्रहार गर्दै आशा दिलाए । त्यसपछि दबाबमा परेका बिलालले दोस्रो बल वाइड फ्याँके । दोस्रो र तेस्रो बलमा भने विवेकले छक्का प्रहार गरे । त्यससँगै तीन बलमा सात रन आवश्यक हुँदा नेपाल जितको संघारमा पुग्यो । तर, चौथो बलमा छक्का प्रहार गर्ने प्रयासमा विवेक ३९ रनमा क्याच आउट हुन पुगे ।
विवेकले २४ बलमा पाँच छक्का हिर्काए । विवेकको विकेटसँगै फेरि ओमानले पकड जमायो । त्यसपछि आएका अविनाश बोहोराले एक रन लिँदै करण केसीलाई स्ट्राइक दिएसँगै अन्तिम बलमा नेपाललाई छक्का आवश्यक प¥यो । करणले छक्का हान्ने प्रयास गरे पनि बाउन्ड्री लाइनमा क्याच हुन पुगे । करणले ११ बलमा १५ रन बनाए । त्यसअघि ओपनर कुशल भुर्तेलबाहेक अन्य ब्याटर क्रिजमा टिक्न नै सकेनन् । कुशलको २६ रन नै दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो । नेपालले पहिलो विकेट तेस्रो ओभरमा गुमायो ।
ओपनर आसिफ शेखलाई ५ रनमा गुमाएपछि नेपाल समालिन नै सकेन । त्यससँगै ५.५ ओभरमा नेपाल ४३÷३ को अवस्थामा पुग्यो । त्यसपछिका ब्याटरले समालिएर खेल्न नसक्दा लगातार पाँच विकेट गुमायो र नेपाल १५.४ ओभरमा ८५÷८ को अवस्थामा पुग्यो । यस क्रममा कप्तान रोहित पौडेल १२ रन, कुशल मल्ल १० रन, गुल्सन झा ३ रन, सन्दीप जोरा १२ रन र सन्दीप लामिछाने २ रनमा नै पवेलियन फर्किए ।
तर, तल्लो क्रमका विवेकले ठूला सट खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल भएनन् । ओमानको बलिङमा अकिब इलियस, मेहरान, बिलाल खान र सकिल अहमदले दुई विकेट लिए । जिसान मकसुदको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १४६ रनको लक्ष्य प्रस्तुत ग¥यो । ओमानका कप्तान जिसान मक्सुदले सर्वाधिक ३२ रन बनाए । जिसानले एक चौका र तीन छक्का प्रहार गरे ।
प्रकाशित: १७ कार्तिक २०८० ०२:३९ शुक्रबार