काठमाडौं – वर्षाले प्रभावित गरिरहेको आइसिसी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेटमा नेपालले पहिलो जित हासिल गरेको छ।
ओपनर सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले आयोजक मलेसियालाई ३३ रनले हरायो।
प्रतियोगिताको सुरुआती दुई खेल वर्षाले प्रभावित हुँदा नेपालले अंक बाँड्नुपरेको थियो।
युएइसँग बिहीबार ५ रनको झीनो अन्तरले पराजित भएपछि नेपाल प्रतियोगितामा शीर्ष दुई टोलीमा पर्ने सम्भावना थप कठिन बनेको थियो । तर शुक्रबारको जितले नेपालको गणितीय सम्भावना भने कायमै छ।
नेपालले प्रतियोगितामा सुरुआतका दुई खेल हङकङ र थाइल्यान्डविरुद्ध अंक बाँड्नुपरेको थियो । तेस्रो खेलमा युएइसँगको हारले नेपालको छनोट हुने सम्भावना थप कठिन बनेको थियो । तर शुक्रबारको जितले नेपाल छनोट हुने गणितीय सम्भावनालाई जीवितै राखेको छ।
यसअघिका खेलमा वर्षा बाधक बने पनि नेपाललाई शुक्रबार मौसमले पनि साथ दिएको थियो । टस हारेर शुक्रबार ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ८ रन बनायो । ओपनर ब्याट्सवुमनले राम्रो ब्याटिङ गरेपछि नेपालले खेलमा आफ्नो पकडलाई विस्तार गर्दै गएको थियो।
नेपालका लागि वुमन अफ द म्याच सीताले ३७ रन बनाइन् । उनले ४२ बलमा ३ चौका प्रहार गर्दै नेपालको सुरुआतलाई सानदार बनाउन योगदान गरिन् । १३आंै ओभरमा पहिलो विकेटको रूपमा सीता आउट हुँदा नेपालले ६६ रन बनाएको थियो। सीतालाई मलेसियाकी माज इलासाले बोल्ड गरेकी थिइन् । ज्योतिले ३९ बलमा २१ रन बनाइन्।
सीता र ज्योतिपछि नेपालका लागि दोहोरो स्कोर बनाउने तेस्रो खेलाडी काजोल श्रेष्ठ बनिन् । उनले खेलमा १४ रन बनाइन् । काजोललाई १८ बलको सामना गरिरहेका बेला नुरु सयाजविना हानिमले रन आउट गरिन्।
करुणा भण्डारीले उत्कृष्ट बलिङ गरेपछि १ सय ९ रनको लक्ष्य लिएर मैदानमा आएको मलेसियालाई नेपालले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ७५ रनमा रोक्न सफल भयो । करुणाले ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन ओभर बलिङ गर्दै १४ रन खर्चेकी थिइन् । यसै गरी नेपालका लागि सोनु खडका, सीता, नेरी थापा र रितु कनोजियाले समान १ विकेट लिए । मलेसियाका लागि इमेलिया इलियानीले सर्वाधिक २४ रन, जायनी सायमिमीले अविजित १६ रन र कप्तान दुराइ सिंगमले ११ रन बनाएका थिए।
मलेसियाविरुद्धको सफलतासँगै नेपालको प्रतियोगितामा शीर्ष दुई टोलीमा पर्ने गणितीय सम्भावना कायमै छ। मलेसियामा भैरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्यान्डमा हुने ग्लोबल छनोट क्रिकेट खेल्नेछन् । नेदरल्यान्डमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले आगामी वर्ष वेस्ट इन्डिजमा हुने महिला ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन्।
शुक्रबारको जितपछि नेपालले ४ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा छ।
नेपालले ४ खेलमा १ जित, १ हारको सामना गरेको छ । त्यस्तै दुई खेल वर्षाले प्रभावित हुँदा नेपालले अंक बाँडेको थियो। थाइल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा छ । थाइल्यान्डले ४ खेलबाट ३ जित हासिल गर्दै ७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको हङकङले ३ खेलबाट ५ अंक जोडेको छ । यसै गरी संयुक्त अरब इमरेटस (युएई) ४ अंकसहित तेस्रो स्थान, २ अंक जोडेको मलेसिया पाँचांै स्थानमा छन्। प्रतियोगितामा चीन मात्र एउटा पनि जित हासिल गर्न नसक्ने टोली हो । चीनले खेलेका सबै ४ खेलमा हारको सामना गर्दै तालिकाको पुछारमा छ।
अब नेपालले आइतबार चीनसँग अन्तिम खेल खेल्नेछ । नेपालले चीनलाई हराए पनि प्रतियोगिताका शीर्ष दुई टोलीमा पर्नका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
मलेसियाविरुद्धको सफलतासँगै नेपालको प्रतियोगितामा शीर्ष दुई टोलीमा पर्ने गणितीय सम्भावना कायमै छ। मलेसियामा भैरहेको प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्यान्डमा हुने ग्लोबल छनोट क्रिकेट खेल्नेछन्।
प्रकाशित: ९ मंसिर २०७४ ०४:२२ शनिबार