हिमालयन गल्फ क्लबको सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि इन्जिनियर सन्तोष गुरुङले जितेका छन्।
पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफ्नो नाममा लेखाए।
३/४ ह्यान्डिक्याप फरम्याटमा खेलाइएको प्रतिस्पर्धामा २२ जना पोखरेली गल्फरले प्रतिस्पर्धा गरेका थिए। लेफ्टिनेन्ट कर्णेल याम राना उपविजेता बने। उनले ३२ स्कोर बनाए। क्याप्टेन हरि राई तेस्रो स्थानमा आए। उनले ३१ स्कोर गरेका थिए।
ग्रस तर्फको पुरस्कार भने मेजर मदन गुरुङले जिते। उनले २८ स्कोरसहित पुरस्कार प्राप्त गरेका हुन्। पोखराको हिमालयन गल्फ कोर्षमा मासिक रुपमा प्रतियोगिता आयोजना हुदैं आएको छ। पार ६९ को १८ होलमा गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजेता गल्फरलाई मेजर विजय मोक्तानले ट्रफी प्रदान गरेका थिए।
प्रकाशित: १३ आश्विन २०८० ०९:३५ शनिबार