२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

तल्लो क्रमको उत्कृष्ट प्रदर्शन

काठमाडौं– मध्यक्रम निरीह बनेको खेलमा तल्लो क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय डिनडिगुल ड्रागन्सलाई १ सय ५३ रनले पराजित गरेको छ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली टोली अहिले भारतको चेन्नईमा अभ्यास गरिरहेको छ । चेन्नईको एसआरएम युनिभर्सिटी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो।

उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन ओपनिङ जोडीका रूपमा क्रिजमा छिरेका थिए । पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेपछि दशौं ओभरको दोस्रो बलमा सगर १५ रन बनाएर पवेलियन फर्किए । सागरलाई एम सिलमबारासनले आमित सात्भिकमार्फत क्याच गरेका थिए। 

नेपाल ११ ओभरसम्म ३–३७ को स्थितिमा रहेको थियो । ज्ञानेन्द्र र आरिफले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरे । २१औं ओभरको पहिलो बलमै ज्ञानेन्द्र पनि ३९ रन बनाएर पवेलियन फर्किए । ५१ बल खेलेका ज्ञानेन्द्रले २ चौका र १ छक्का हाने । विनोद भण्डारी १ रनमा आउट भएलगत्तै आरिफ पनि २१ रन बनाएर पवेलियन फर्किए । आरिफले ३८ बलमा २ चौका हाने।

२४.२ ओभरमा आरिफ आउट हुँदा नेपाल ६–८५ को स्थितिमा थियो । त्यसपछि बलरद्वय वसन्त रेग्मी र सोमपाल कामीले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डो¥याएका थिए । सोमपालले ७७ रन बनाउँदा वसन्त रेग्मी ५६ रनमा अविजित रहे । डिनडिगुलका एस अरविन्दले ४ विकेट लिए । सुरेन्दर जीले २ विकेट लिँदा एम सिलामबारासनको नाममा १ विकेट रह्यो ।

ब्याटिङमा चल्न नसके पनि सागरले बलिङमा राम्रो गर्दै सन्दीप लामिछानेसँग पाँच विकेट बाँडेपछि डिनडिगुलका ब्याट्सम्यान दबाबमा परे । सागरले ५.३ ओभरमा ८ रन दिएर तीन विकेट लिए भने ७ ओभर बलिङ गरेका सन्दीपले ७ रन दिएर २ विकेट लिए । सोमपालले २ तथा ललित भण्डारी र सुशील कँडेलले १÷१ विकेट लिएपछि डिनडिगुलले ३५.३ ओभरमा सबै विकेट गुमाएर ६३ रन मात्र जोड्न सक्यो। 

 

प्रकाशित: ४ आश्विन २०७४ ०३:१९ बुधबार

तल्लो क्रमको उत्कृष्ट प्रदर्शन