१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

समर ट्रान्सफर विन्डोमा इङ्लिस क्लबको रबाफ

बायाँबाट क्रमशः मोइसेस काइसेडो, डिक्लेन राइस र एलेक्सिस एलिस्टर

यस सिजन २०२३ को समर ट्रान्सफर विन्डो शुक्रबार सकिएसँगै प्रिमियर लिगका क्लबले २.५ बिलियन डलरभन्दा अधिक खर्च गर्दै पछिल्लो सिजनको रेकर्ड तोडेका छन्। ब्रिटिसको ट्रान्सफर विन्डोमा चेल्सीले सनसनी मच्याउँदै मोइसेस काइसेडोलाई भित्राएको थियो।  

इङ्ल्यान्डका शीर्ष डिभिजन क्लब फेरि एक पटक युरोपियन प्रतिद्वन्द्वीहरूलाई आफ्नो वित्तीय शक्ति प्रस्तुत गर्न सफल भएको छ। साउदी प्रो लिगले विश्वस्तरीय खेलाडीलाई आकर्षक तलब दिँदै खाडीको फुटबलमा भित्राए पनि यो ट्रान्सफर विन्डोमा इङ्लिस क्लबले हलचल मच्चाउन सफल नै भए। साउदीले म्यानचेस्टर सिटी, लिभरपुल र फुलहमका खेलाडीलाई भित्राएका थिए।  

इङ्ल्यान्डका शीर्ष डिभिजन क्लब फेरि एक पटक युरोपियन प्रतिद्वन्द्वीहरूलाई आफ्नो वित्तीय शक्ति प्रस्तुत गर्न सफल भएको छ।साउदी प्रो लिगले विश्वस्तरीय खेलाडीलाई आकर्षक तलब दिँदै खाडीको फुटबलमा भित्राए पनि यो ट्रान्सफर विन्डोमा इङ्लिस क्लबले हलचल मच्चाए।  

सिटीले रियाद महारेज, लिभरपुलले जोर्डन हेन्डरसन र फुलहमले एलेक्जान्डर मित्रोभिचको स्थानमा नयाँ खेलाडी भित्राएका थिए। इङ्लिस क्लबले पाका उमेरका खेलाडी बिक्रीबाट मनग्य आम्दानी पनि गर्यो। यद्यपि, वुल्भ्सबाट २६ वर्षे रुबेन नेभेस साउदी क्लब जानुले भने युरोपको व्यावसायीक फुटबलको भविष्य बारे अनेकौं चर्चा पनि भयो। विशेषगरी प्रतिभाशाली फुटबलरहरू युरोपको अन्य लिगबाट भित्राउनमा इङ्लिस क्लबहरू अगाडि आउने गर्छ। तर, इङ्लिस क्लबले आफ्नै देशका स्टारलाई भने जोगाउन सकेन। इङ्ल्यान्डकै दुई स्टार फुटबलरको रोजाइमा प्रिमियर लिग पर्न सकेन। रियल मड्रिडले बोरुसिया डर्टमन्डबाट इङ्लिस फुटबलर जुड बेलिङ्गमलाई अनुबन्धित गर्दा इङ्ल्यान्डकै कप्तान ह्यारी केनले पनि टोटेनहम छाड्दै जर्मन क्लब बायर्न म्युनिख रोजे।

नयाँ अनुबन्धनमा आक्रामक चेल्सी

पछिल्लो सात महिनामा चेल्सीले काइसेडो भित्राउन लिभरपुललाई पछि पार्दै ब्रिटिस ट्रान्सफर विन्डोमा रेकर्ड बनायो। चेल्सीले काइसेडोका लागि ११५ मिलियन पाउन्ड खर्चनु पर्यो।  

इक्वडरका अन्तर्राष्ट्रिय काइसेडो ब्राइटनबाट आठ वर्षका लागि स्टामफोर्ड ब्रिज क्लब चेल्सीमा भित्राएका हुन्। चेल्सीमा अमेरिकन लगानीकर्ताको आगमनपछि क्लबले खेलाडी अनुबन्धनमा रेकर्ड बनाएको हो। अमेरिकन लगानीकर्ता टोड बोइलीका साथै क्लियरलेक क्यापिटलले स्वामित्वमा लिएको वर्षमा नै चेल्सीले नयाँ खेलाडीका लागि एक बिलियन पाउन्ड खर्चियो। म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान ग्यारी नेभिलले खेलाडी अनुबन्धनमा चेल्सीका नयाँ मालिकले धेरै जोखिम लिएको प्रतिक्रिया दिएका छन्।  

चेल्सीले यस सिजनमा  

२५ नयाँ खेलाडीलाई भित्राउँदै पछिल्लो सिजनको ११ खेलाडी अनुबन्धनको रेकर्ड पनि भंग गर्यो। यो जोखिमको नतिजाका लागि भने एक वर्ष नै कुर्नु पर्नेछ। गत सिजन चेल्सी १२औं स्थानमा रहेर सिजन अन्त्य गर्न बाध्य भएको थियो, जुन स्टामफोर्ड ब्रिज क्लबका लागि सन् १९९४ पछि सबैभन्दा खराब नतिजा हो। प्रशिक्षक माउरिसियो पोचेटिनोले यस सिजनको तीन खेलमा एक मात्र जित दिलाएका छन्। त्यो एक जित यसै सिजन प्रिमियर क्लबमा बढुवा भएको लुटनविरुद्धको हो।  

अर्टेटाको उपाधि जित्ने लक्ष्य

गत सिजन अप्रत्यासित रूपमा म्यानचेस्टर सिटीलाई उपाधि होडमा कडा प्रतिस्पर्धा दिएपछि यस सिजन भने आर्सनलका प्रशिक्षक मिकाइल आर्टेटाले गत जुलाईमा नै डिक्लेन राइस, काई हाभाज्र्ट र युरियन टिम्बरलाई भित्राए।

यी खेलाडीका लागि आर्सनलले दुई सय मिलियन पाउन्ड खर्चिएको छ। तर, गत सिजन नै चोटका कारण समस्यामा रहेका डच स्टार टिम्बरलाई यस पटक पनि चोटले सताएको छ। चेल्सीबाट ६५ मिलियन पाउन्डमा भित्रिएका हाभाज्र्टले आफ्नो प्रभाव देखाउन सकेका छैनन्। २० वर्षपछि आर्सनललाई लिगको उपाधि दिलाउने आर्टेटाको लक्ष्यमा उनकै पूर्वप्रशिक्षकसमेत रहेका सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बाधक बन्न सक्नेछन्।  

लिभरपुलको सुधारिएको मिडफिल्ड  

जोर्डन हेन्डरसन र फाबिन्होले क्लब छाड्दै साउदी प्रो लिग गएपछि लिभरपुललाई मिडफिल्डमा सुधार आवश्यक थियो। गत खराब सिजनपछि लिभरपुलले जेम्स मिल्नर, नाबी केइटा र एलेक्स चाम्बरलेनलाई फ्रि ट्रान्सफरमा रिलिज गरेको थियो। पछिल्ला सात वर्षमा पहिलोपटक गत सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएसँगै लिभरपुलले उनीहरूलाई रिलिज गरेको हो।

काइसेडो र रोमियो लाभियालाई भित्राउन खोजे पनि लिभरपुल सफल हुन सकेन। तर, लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले एलेक्सिस एलिस्टर र डोमिनिक सोबोज्लाईलाई भित्राउँदै मिडफिल्डलाई सुधार गरे। इनफिल्डमा उनीहरूले प्रभाव पनि राखिरहेका छन्। जापानका कप्तान वातारु इन्डोको प्रदर्शनबाट पनि लिभरपुलले धेरै आशा राखेको छ। लिभरपुलले ट्रान्सफर विन्डोको अन्तिम समयमा रियान ग्राभेनबर्चलाई भित्राउँदै बलियो टोली निर्माण गरेको प्रशिक्षक क्लोपको विश्वास छ।

व्यापारमा उत्कृष्ट ब्राइटन

ब्राइटनले क्लब इतिहासमा पहिलोपटक युरोपियन फुटबलको प्र्रतिस्पर्धामा यात्रा तय गरेपछि उक्त सिजनका स्टार काइसेडो, एलेक्सिस एलिस्टर र गोलकिपर रोबर्ट सान्चेजलाई बिक्री गरेको थियो। कुल ११ मिलियन पाउन्डमा क्लबमा भित्राएका तीन खेलाडीको बिक्रीबाट ब्राइटनले १७५ मिलियन पाउन्ड आम्दानी गर्दै ट्रान्सफर मार्केट उत्कृष्ट प्रदर्शन गर्यो।  

काइसेडोको बिक्रीबाट क्लबले स्टेडियममा नयाँ भवन र ट्रेनिङ ग्राउन्ड निर्माण गरेको थियो। साथै ब्राइटनले नयाँ आठ खेलाडीलाई क्लबमा अनुबन्धनसमेत गरेको छ। ट्रान्सफर विन्डोको अन्तिम समयमा ब्राइटनले बार्सिलोनाबाट अन्सु फातीलाई भित्राएको छ। एक समयका उत्कृष्ट स्पेनिस विंगर फाती चोटपछि भने संघर्ष गरिरहेका छन्। यदि फातीको उत्कृष्ट लय फर्काउन सक्यो भने ब्राइटले यस सिजन नयाँ सफलता प्राप्त गर्न सक्नेछ। ब्राइटनले यस सिजन पनि राम्रो प्रदर्शन गर्दै तीन खेलबाट दुई जित निकालेको छ। 

प्रकाशित: १७ भाद्र २०८० ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App