१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पिपल्स च्वाइस विधामा दुई ओलम्पियन

काठमाडौं- कान्छी ओलम्पियनको रूपमा विश्व कीर्तिमान बनाएकी पौडीबाज गौरिका सिंह पल्सर स्पोर्ट्स अवार्डअर्न्तगत पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन्।

नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने अवार्डको पिपल्स च्वाइस विधामा गौरिकाले आफूसँगै रियो ओलम्पिक २०१६ मा सहभागिता जनाएकी जुडोकी फुफुल्हामु खत्री, म्याराथन र हाफ म्याराथनकी राष्ट्रिय कीर्तिमानधारी एथलेटिक्सकी कान्छीमाया कोजु, एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी गोल गरेका फुटबलर सुजल श्रेष्ठ र राष्ट्रिय टोलीका युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीसँग प्रतिस्पर्धा गर्नेछिन्। मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयन सार्वजनिक गरेको हो।

मनोनीत खेलाडीमध्येबाट खेलप्रेमीले गरेको एसएमएस र फेसबुक लाइकमा बाजी मार्ने खेलाडी भदौ २६ गते हुने कार्यक्रममा सम्मानित हुनेछन्। विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। सोमबार मनोनयन सार्वजनिक भएसँगै खुलेको मतदान भदौ २५ गते मध्यरातसम्म चल्ने आयोजक मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी गराए। आचार्यका अनुसार प्रत्येक एसएमएसको एक मत गणना हुनेछ भने फेसबुक लाइकका हकमा चार लाइकबराबर एक मत हुनेछ।

रियो ओलम्पिकमा सहभागिता जनाउँदा १३ वर्ष २ सय ५५ दिन उमेर पुगेकी गौरिका विश्व खेलकुदको सबभन्दा ठूलो कुम्भमेलाकी सबभन्दा कान्छी खेलाडी थिइन्। नेपालले ओलम्पिकमा कुनै सुखद नतिजा ल्याउन नसके पनि गौरिकाले कान्छी खेलाडी बनेर विश्वव्यापी रूपमा सञ्चारमाध्यमहरुमा विशेष चर्चा बटुलेकी थिइन्।

परिवारसँग लन्डनमा बसोवास गर्दै आएकी गौरिका उतैबाट रियो ओलम्पिकमा सहभागी भएर उतै फर्किएकी थिइन्। हाल राष्ट्रिय प्रतियोगिताका लागि नेपाल आएकी गौरिकाले मनोनयनमा पर्दा आफूलाई थप हौसला मिलेको बताइन्। 'मलाई मनोनयनमा पार्नुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु। यसले मलाई आगामी दिनका लागि थप हौसला मिल्नेछ,' उनले भनिन्।

यसै गरी अर्की ओलम्पियन फुपूल्हामुले मनोनयनमा पर्दा आफैँलाई अचम्म लागेको प्रतिक्रिया दिइन्। 'मैले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेँ। ओलम्पिकमा सहभागी भएँ। यसबाट पक्कै पनि मलाई खुसी लागेको थियो। तर हाम्रो प्रदर्शन र कामको यसरी मूल्यांकन हुँदो रहेछ भन्ने थाहा पाउँदा आज झनै खुसी लागेको छ। यहाँ मनोनयनमा पर्दा मलाई आश्चर्य लागेको छ। पत्रकारहरूलाई धन्यवाद,' उनले भनिन्।

यसैगरी कान्छीमायाले पनि खेलाडीको योगदानको मूल्यांकन भएको भन्दै खेलप्रेमीसँग भोट मागिन्। 'खेलप्रेमीले मलाई सधंै माया गर्दै आउनुभएको छ। यसपालि पनि पिपल्स च्वाइस अवार्डमा खेलप्रेमीले अमूल्य मत दिएर जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु,' उनले भनिन्।

फुटबलको राष्ट्रिय टोली मैत्रीपूर्ण खेल तथा विशेष अभ्यासका लागि जापानमा भएकाले सुजल श्रेष्ठ मनोनयन सार्वजनिक कार्यक्रममा उपस्थित थिएनन्। दीपेन्द्रसिंहले पनि नेपाली क्रिकेटप्रतिको आफ्नो योगदानको कदर भएको बताए।

मञ्चका अध्यक्ष आचार्यले मनोनयनमा पर्नु नै जितसरह भएको भन्दै खेलाडीहरूलाई बधाई दिए। 'देशभरका हजारौं खेलाडीबाट पाँच उत्कृष्ट खेलाडी मनोनयनमा परेका छन्। त्यसैले मनोनयनमा पर्नु नै जितसरह हो,' उनले भने।

विभिन्न आठ विधामा वितरण गरिने अवार्डका उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला खेलाडी र उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयन केही दिनमा सार्वजनिक गर्ने अध्यक्ष आचार्यले बताए। यसै गरी लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष अवार्ड र वर्षको उत्कृष्ट पारा एथलिट विधामा भने सोझै एक विजेताको चयन गरिने जानकारी गराइयो।

प्रकाशित: ३१ श्रावण २०७४ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App