१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

नेइमार पहिलो खेलमै दर्शकदीर्घामा

पेरिस- पेरिस सेन्ट जर्मन (पिएसजी) ले शनिबार फ्रेन्च लिग वानको पहिलो खेल नवप्रवेशी अमिन्सविरुद्ध खेल्दा ब्राजिलियन स्ट्राइकर नेइमारले दर्शकदीर्घामा बसेर हेर्नेछन्। तर फ्रान्सेली क्लबले नेइमारका लागि खर्चेको विश्वकीर्तिमानी रकमको लगानी उठाउन सुरु गरिसकेको छ।

ब्राजिलियन स्ट्राइकर नेइमारलाई पिएसजीले बिहीबार बार्सिलोनाबाट २२ करोड २० लाख युरोमा अनुबन्धित गरेको थियो। ‘मिल्ने भए शनिबारै म पिएसजीको जर्सीमा मैदान उत्रन तयार छु,’ २५ वर्षे स्ट्राइकरले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षरका लागि आयोजित पत्रकार सम्मेलनमा भने।

पिएसजीले पहिलो दिनमै नेइमारको नामअंकित ‘१०’ नम्बरको नयाँ जर्सी दश हजार वटा बिक्री गरिसकेको छ। त्यसबाट क्लबले १ करोड युरो उठाइसकेकोे बताएको छ। एउटा जर्सीको मुल्य १ सय युरो तोकेको पिएसजीले नेइमार क्लबको जर्सीमा मैदान प्रवेश नगर्दै  १ करोड युरो आम्दानी गरेको हो।

शुक्रबार रातिसम्मको समयसीमा तोकिए पनि नेइमारले फ्रेन्च लिगलाई अन्तर्राष्ट्रिय सरुवाको प्रमाणपत्र बुझाउन असफल भएपछि सिजनको पहिलो खेलबाटै मैदानमा उत्रने उनको आशा विफल भएको थियो।

शुक्रबार मात्र निजी विमानमा पेरिस अवतरण गरेका नेइमारलाई पत्रकार सम्मेलनमा सोधिएको अधिकांश प्रश्न उनको सरुवा रकमसँग जोडिएको थियो।

यद्यपि नेइमारले वार्षिक ३ करोड युरो आम्दानी गर्ने बताइए पनि उनले आफू पैसाकै लागि पिएसजी नआएको बताए।

‘म अझै ठूलो चुनौतीको सामना गर्न चाहन्छु। म यहाँ आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै क्लबको उपाधि यात्रामा सहयोगी बन्न आएको हुँ,’ क्लबसँग ५ वर्षे सम्झौता गरेका नेइमारले भने।

उनले पिएजीलाई आफूजस्तै महŒवाकांक्षी पाएकाले फ्रान्स आउने निर्णय गरेको बताए।

उनले बार्सिलोना छोड्ने निर्णय गर्न त्यति सहज नभएको बताए।

‘यो मेरो जीवनकै एक कठिन निर्णय हो। म बार्सिलोना र टोली सहयात्रीको लयसँग अभ्यस्त भैसकेको थिएँ। त्यहाँ मेरा मिल्ने साथीहरू थिए। त्यसैले यो सहज निर्णय थिएन,’ नेइमारले भने, ‘अब के गर्ने भन्ने अन्योलका कारण यो मेरा लागि कठिन समय बन्यो। मैले धेरै साथीलाई पछि छोडें तर फुटबलमा सबै कुरा दु्रत गतिमा हुन्छ।’

यससँगै ३ करोड युरो कमाइ गर्ने नेइमार विश्वका सर्वाधिक कमाइ गर्नै दोस्रो खेलाडी बन्नेछन्। सांघाई सिन्ह्वाका कार्लोस टेभेज ३ करोड ८० लाख युरोका साथ सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन्।

पिएसजीले नेइमारका लागि खर्चेको रकम म्यानचेस्टर युनाइटेडले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई खर्च गरेको तुलनामा दोब्बरभन्दा बढी हो। युनाइटेडले गत वर्ष पोग्बाका लागि तत्कालीन विश्व कीर्तिमानी ८ करोड ९० लाख युरो खर्चेको थियो। गत वर्ष उनको सरुवा चर्चाको विषय बनेको थियो।

यो सबैलाई आकर्षित गर्ने रकम हो तर पिएजीका अध्यक्षमध्येका एक नासिर अल खेलाफीले अब नेइमार फिफा बालोन डी ओरको उपाधिका लागि बार्सिलोनाका लियोनल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोका प्रतिस्पर्धीका रूपमा आउने दाबी गरे।

‘विश्वमा दुई जना नेइमार छैनन्। अबको दुई वर्षपछि उनको मूल्य कति होला? पक्कै पनि दोब्बर,’ अल खेलाफीले भने, ‘यो त्यति महँगो रकम होइन। हामीले उनीसँगको सहकार्यमा आम्दानी बढाउनेमा म विश्वस्त छु। हामी एक साथ नेइमार र पिएसजी ब्रान्डलाई अघि बढाउन चाहन्छांै।’

नेइमारको आगमनमा पिएसजी गत सिजन मोनाकोसँग गुमाएको लिग वानको उपाधि पुनः  जित्ने लक्ष्यमा हुनेछ। साथै टोली हाल पहिलो पटक च्याम्पियन्स लिगको उपाधि पनि जित्न चाहन्छ।

पिएसजीले पहिलो दिनमै नेइमारको नामअंकित ‘१०’ नम्बरको नयाँ जर्सी दश हजार वटा बिक्री गरिसकेको छ। त्यसबाट क्लबले १ करोड युरो उठाइसकेकोे बताएको छ।

प्रकाशित: २२ श्रावण २०७४ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App