७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ब्याडमिन्टन एसियाको आयोजनामा प्रतियोगिता

नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनामा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ।

ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवर्धन र प्रतिस्पर्धा गर्ने उद्देश्यअनुरूप एसिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो। नेपाल ब्याडमिन्टन संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आगामी भदौ १ गतेदेखि पाँच गतेसम्म यु–१५ र यु–१७ साउथ एसिया रिजनल च्याम्पियनसिप गर्ने जनाएको थियो। उक्त च्याम्पियनसिपमा यु–१५ र यु–१७ उमेरसमूहमा दक्षिण एसियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीको सहभागिता रहनेछ।  

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल(एपिएफ) को मुख्यालयस्थित एपिएफ क्लबमा हुनेछ। यस च्याम्पियनससिपमा यु–१५ तर्फ गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गल्र्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ। यु–१७ मा पनि गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिस्पर्धा हुनेछ। यी दुवै उमेरसमूहमा टिम प्रतिस्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ।  

आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने ब्याडमिन्टन एसियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिइन्। आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउने भएको छ। व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्न पाउनेछन्।  

अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिस्पर्धा गर्न पाउने एसिया ब्याडमिन्टनले प्रावधान बनाएको छ। नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुने उनले उल्लेख गरिन्। यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिने एसिया ब्याडमिन्टनका सिनियर डेभलपमेन्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताए। यस कार्यक्रमबाट एसियाभरबाट २० जना छनोट हुने र जसमा प्रत्येक देशबाट समान एक महिला र पुरुष समावेश हुने एरिकृष्णनले जानकारी दिए। छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन्। 

प्रकाशित: १ भाद्र २०८० ०२:३१ शुक्रबार

ब्याडमिन्टन एसियाको आयोजनामा प्रतियोगिता