१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अन्सारीको शतक व्यर्थ

काठमाडौं – हसिम अन्सारीले प्रतियोगिताको पहिलो शतक बनाउनाका बावजुद मध्यमाञ्चलले शनिबार सशस्त्र प्रहरी बल (एपिएफ) लाई ६ विकेटको नतिजा सुम्पिएको छ।

२४ वर्षे दायाँहाते ब्याट्सम्यान अन्सारीले १ सय २४ बलमा १२ चौका र १ छक्कासहित १ सय १ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको मध्यमाञ्चलले ४८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रनको योगफल खडा गरेको थियो। 

अनिल शाहले अविजित ७८ रनको योगदान दिएपछि एपिएफले १ सय ८८ रनको लक्ष्य ३४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । समूहचरणमा लगातार तेस्रो जित निकालेको एपिएफ ६ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको छ ।

यससँगै प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । एपीएफले अब पहिलो सेमिफाइनलमा सोमबार समूह ‘बी’ को उपविजेता नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चलले समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी क्लबविरुद्ध मंगलबार खेल्नेछ।

अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेको अवस्थामा हसिमले मध्यमाञ्चलको इनिङ सम्हालेका थिए । १३.१ ओभरमा ३४–४ को स्थितिमा रहेको मध्यमाञ्चलका लागि हसिम र सोनु तामाङले पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए।

बाइसौं ओभरको पहिलो बलमा सोनुलाई भुवन कार्कीले अनिल शाहमार्फत क्याच गराएपछि मध्यमाञ्चलले निरन्तर विकेट गुमायो । थप २९ रन जोड्दा मध्यमाञ्चलले ३ विकेट गुमायो । तर हसिम र रसिद खानले नवौं विकेटका लागि ८३ रनको साझेदारी गरेपछि मध्यमाञ्चल सम्मानजनक स्कोर बनाउन सफल भएको थियो।

एपिएफका कप्तान ज्ञानेन्द्र मल्लले १० ओभरमा २ मेडन राख्दै ४० रन दिएर ४ विकेट लिएका थिए । अविनाश बोहरा र भुवन कार्कीले समान २/२ विकेट लिँदा सन्दीप जोरा र यज्ञमान कुमालको नाममा १÷१ विकेट रह्यो।

१ सय ८८ रनको लक्ष्य पछ्याएको एपिएफका लागि ओपनर सन्दीप सुनारले ४७ बलमा ६ चौकासहित ४१ रन बनाए । आसिफ शेखसँग पहिलो विकेटका लागि ३८ रनको साझदारी गरेका सन्दीपले अनिल शाहसँग ५३ रनको साझेदारी गरे । सन्दीप र आसिफ दुवैलाई शशी केशरीले बोल्ड गरेका थिए । त्यसपछि पृथु बाँस्कोटा र प्रदीप ऐरीलाई चाँडै गुमाएको एपिएफका लागि अनिल र ज्ञानेन्द्रले विजयी इनिङ खेलेका थिए । ८५ बलमा ११ चौका र २ छक्कासहित अविजित ७८ रन बनाएका अनिलले ज्ञानेन्द्रसँग पाँचौं विकेटका लागि ७३ रनको अविजित साझेदारी गरेका थिए।

३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका ज्ञानेन्द्र २८ रनमा अविजित रहे । मध्यमाञ्चलका लागि तीनै विकेट शशीले लिएका थिए । पहिलो खेलमा पश्चिमाञ्चललाई १६ रनले हराएको एपिएफले दोस्रो खेलमा मध्यपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो।

२४ वर्षे दायाँहाते ब्याट्सम्यान अन्सारीले १ सय २४ बलमा १२ चौका र १ छक्कासहित १ सय १ रन बनाएका थिए।

प्रकाशित: २१ जेष्ठ २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App