३ मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

सशस्त्रलाई वर्षाको साथ

काठमाडौं- वर्षाले प्रभावित खेलमा कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार पश्चिमाञ्चलाई १६ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्त्याइएको एपिएफले ३७ ओभरमा ४ विकेट गुमाई १ सय ६० रन बनाएर खेलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। १२ बजेतिर रोकिएको खेलमा एपिएफले ब्याटिङ गर्ने मौका पाएन। करिब ४ घण्टापछि सुरु भएको खेलमा पश्चिमाञ्चलले ‘डर्क वर्थ लुइस’ का आधारमा २० ओभरमा १ सय ४८ रनको विजयलक्ष्य पाएको थियो।

दोस्रो ओभरमा ओपनर अनिल गुरुङलाई पहिलो विकेटका रूपमा गुमाएको पश्चिमाञ्चलले त्यसपछि निरन्तर विकेट गुमायो। अनिललाई सन्दीप जोराले ज्ञानेन्द्र मल्लमार्फत क्याच गराएका थिए। लगत्तै ४ रन बनाएका अर्का ओपनर नूरध्वज सेनलाई अविनाश बोहराले अनिल शाहमार्फत क्याच गरे।

त्यसपछि एपिएफका कप्तान ज्ञानेन्द्रले लगातार दुई विकेट लिए। छैटौं ओभरको पाँचौं बलमा अन्तिम थापालाई सन्दीप सुनारको हातबाट क्याच गराएका ज्ञानेन्द्रले छैटौं बलमा रोहितकुमार पौडेललाई पनि सन्दीपमार्फत नै क्याच गराएका थिए। अन्तिमले २ तथा रोहितकुमारले ९ रन बनाए। २ रन नै बनाएका प्रकाश केसीलाई एपिएफका भुवन कार्कीले एलबिडब्लु आउट गरेका थिए। त्यस्तै कृष्ण कार्कीलाई ज्ञानेन्द्रले विकेटकिपर सुवास खकुरेलमार्फत क्याच गर्दा पश्चिमाञ्चल ३३–६ को स्थितिमा थियो।

त्यति बेला पश्चिमाञ्चललाई जितका लागि १०.४ ओभरमा १ सय ३३ रन बनाउनुपर्ने थियो। ६ विकेट गुमाइसकेको अवस्थामा पश्चिमाञ्चललाई उक्त लक्ष्य पूरा गर्न निकै कठिन थियो। तर, सौरभ खनालले आक्रामक ब्याटिङ गरेपछि पश्चिमाञ्चल लक्ष्य भेट्टाउनेतर्फ लम्किएको थियो। सौरभले ४९ बलमा अविजित ९० रन बनाउँदै विधान श्रेष्ठसँग सातौं विकेटका लागि ९८ रनको अविजित साझेदारी गरे पनि टोलीलाई जित भने दिलाउन सकेनन्। पश्चिमाञ्चलले एपिएफलाई १६ रनको नतिजा सुम्पियो।

सौरभले ४९ बलमा ३ चौका र ११ छक्का प्रहार गरेका थिए। यससँगै सौरभ प्रतियोगितामा एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। त्यसका साथै एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पनि बनेका छन्।

एपिएफका ज्ञानेन्द्रले तीन विकेट लिँदा सन्दीप जोरा, अविनाश बोहरा र भुवन कार्कीले समान १/१ विकेट लिए।

त्यसअघि एपिएफका लागि ओपनर सुवास खकुरेलले अर्धशतक पूरा गरे। उनले ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाए। सुवासले पहिलो विकेटका लागि सन्दीपसँग २० तथा दोस्रो विकेटका लागि आसिफ शेखसँग ३० रनको साझेदारी गरेका थिए। सन्दीपले २ तथा आसिफ शेखले १९ रन बनाए।

लाल अधिकारीको बलमा अन्तिम थापामार्फत क्याच हुनुअघि सुवासले ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरे। सुवास आउट भएपछि क्रिजमा आएका पृथु बाँस्कोटा १ रन जोडेर पवेलियन फर्किए।

त्यसपछि ज्ञानेन्द्र र प्रदीप ऐरीले एपिएफको इनिङ उकासेका थिए। दुईले पाँचौं  विकेटका लागि ६६ रनको अविजित साझेदारी गरेका थिए। ३३ रनमा अविजित रहेका ज्ञानेन्द्रले ५२ बलमा २ चौका प्रहार गरे भने ४५ रनमा अविजित रहेका प्रदीपले ५२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

जितसँगै २ अंक जोडेको एपिएफ समूह ‘ए’ को शीर्ष स्थानमा छ। समूह ‘ए’ कै मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले मंगलबार प्रतिस्पर्धा गर्नेछन्। समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्बल र नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। 

प्रकाशित: १६ जेष्ठ २०७४ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App