१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शिवमले सहप्रायोजन गर्ने

काठमाडौं- शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई सहप्रायोजन गर्ने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गर्न लागेको प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न शिवम्ले आयोजकलाई ३ लाख रुपैयाँ प्रदान गर्नेछ। शिवम् सिमेन्टले पहिलो पटक भलिबलमार्फत खेलकुद क्षेत्रमा प्रायोजनको सुरुआत गरेको हो।

जेठ २३ देखि त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा तिन विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मीसँगै न्यु डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन्।

सोमबार शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्र कुमार गोयल र शेरबहादुर खड्का स्मृती प्रतिष्ठान अध्यक्ष रन्जन खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रायोजन रकमसँगै शिवम्ले प्रतियोगिताको दौरान प्रयोग गरिने ब्यानर, होडिङ बोर्डलगायतका सामग्रीमा पनि सहयोग गर्ने बताइएको छ।

यसैसाता प्रतियोगितालाई पेन्ट कम्पनी केएनपी जापानले ५ लाख रुपैयाँका साथ मुख्य प्रायोजन गर्ने बताएको थियो। सम्झौतापत्रमा हस्ताक्षर गरेपछि अध्यक्ष गोयलले भलिबल प्रतियोगितालाई प्रायोजन गर्न पाउनु गर्वको कुरा भएको बताए। 'भलिबलखेलसँग जोडन पाउँदा खुसी लागेको छ। महिला भलिबल प्रतियोगितालाई सहयोग गर्दा हामी झन खुसी छौं। हाम्रो प्रायोजनले महिला खेलाडीको प्रतिभालाई उजागर गर्न सहयोग गर्नेछ, गोयलले भने, 'खेलकुदसँग जोडिने अवसर दिएकोमा आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, भलिबल संघ र सबै भलिबल परिवारलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि हाम्रो साथ र सहयोग रहनेछ।'

लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले शिवम् सिमेन्टको साथले प्रतियोगितालाई भव्य बनाउन सहयोग गरेको बताए। उनले भने, 'हामी खुसी छौं शिवम् सिमेन्टसँग जोडिन पाउँदा। यसले भलिबल खेलको क्षेत्रमा नयाँ हौसला र काम गर्ने उर्जा थपिएको छ। हामी खेलाडीको स्तर बढाउन जोड दिइरहेको छौं। प्रतियोगिताले खेलाडीको करियर र क्षमता देखाउने अवसर उपलब्ध गराउने हाम्रो विश्वास छ।'

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा एकपछि अर्को खुसीको कुरा थपिँदै गएको बताए। शर्माले भने, 'भलिबलले भर्खरै नेपाल सरकारबाट राष्ट्रिय खेलको मान्यता पाएको छ। राष्ट्रिय मान्यता पाएको खुसीयालीमा हामी रमाइरहेका छौं। राष्ट्रिय मान्यता पाउने बित्तिकै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आकर्षक प्रायोजक भित्रयाउन सफल भएको छ। भलिबललाई सहयोग गरेकोमा शिवम् सिमेन्टलाई विशेष धन्यवाद।'

प्रकाशित: १६ जेष्ठ २०७४ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App