सुजन श्रेष्ठ/दिलबहादुर छत्याल
धनगढी- राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहले सोमबार नाटकीय खेलमा रूपन्देही च्यालेन्जर्समाथि योजनाअनुसारकै नतिजा निकालेर धनगढी प्रिमियर लिग (डिपिएल) मा पुनरागमन गरेको छ। रूपन्देहीलाई ६ विकेटले हराउँदै चौराहले प्रतियोगितामा कमब्याक गरेको हो।
पहिलो तीन खेलमा लगातार हार भोगेको पारसको टोलीलाई प्लेअफमा छानिन सोमबार फराकिलो अन्तरको जित आवश्यक थियो।
पछिल्लो खेलमा काठमाडौं गोल्डेन्सलाई हराएर चौराहले प्लेअफलाई छानिने सम्भावना जोगाएको थियो। तथापि ६ टोली सम्मिलित प्रतियोगिताको पुछारमै सीमित चौराह अन्तिम खेलका लागि मैदान प्रवेश गर्दासम्म पनि समूहचरणबाटै बाहिरिने खतरानजिक थियो।
समूहचरणबाटै बाहिरिने लाजबाट जोगिन चौराहले १४.३ ओभरभित्र खेल जित्नुपर्ने आवश्यकता थियो। त्यहीअनुरूपको योजना बनाएर मैदान उत्रिएको टोलीले रूपन्देहीबाट पाएको ९२ रनको लक्ष्य ११ ओभरमा ४ विकेट गुमाएर हासिल गर्यो। प्रतियोगितामा सबै खेल जित्दै आएको रूपन्देहीमाथि फराकिलो जित हासिल गरेपछि चौराह नेट रनरेटमा सिवाइसी अत्तरिया र कन्चनपुर आइकोनिकलाई पछि पार्दै प्लेअफमा छनोट भयो।
पाँचमध्ये चार खेलमा जित हासिल गरेको रूपन्देही ८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफलाई छानिँदा ६ अंकका साथ विराटनगर किंग्स उपविजेताका रूपमा अगाडि बढ्यो। बाँकी चार टोलीको समान ४ अंक भए पनि नेट रनरेटमा सबभन्दा अगाडि रहेको काठमाडौं गोल्डेन्स तेस्रो तथा चौराह चौथो स्थानमा रहेर अगाडि बढे। सोमबार रूपन्देहीले पहिलो हारको सामना गरेको हो।
प्लेअफमा पारस खड्काको टोली चौराहले काठमाडौं गोल्डेन्ससँग खेल्नेछ। लिग चरणमा बटुलेको अंकका आधारमा रूपन्देही च्यालेन्जर्स र विराटनगर किङ्सले फाइनल प्रवेशका लागि भिड्नेछन्।
सोमबारको खेलले रूपन्देहीलाई डिपिएलको समीकरणमा कुनै प्रभाव पार्ने थिएन। तर चौराहलाई भने निश्चित ओभरमा जित्नैपर्ने दबाब थियो।
चौराहका बलर ललित राजवंशीले ४ विकेट लिएपछि सुरुआतमा ब्याटिङ गरेको रूपन्देहीले २० ओभरमा ६ विकेटको नोक्सानीमा ९१ रन मात्र बनाएको थियो। रूपन्देहीका प्रकाश केसीले अविजित ४९ रन र अन्तिम थापाले ११ रनबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन्। रूपन्देहीका ओपनर नुरध्वज सेनले ६ र शंकर रानाले ८ रन मात्र जोडे।
म्यान अफ द म्याच चौराहका ललितले ४ ओभरमा ५ रन मात्र खर्चेका थिए। चौराहका सुसन भारी र सौरभ खनालले १/१ विकेट लिए।
जबाफमा कप्तान पारसले सर्वाधिक ४२ रन जोडेपछि चौराहले ११ ओभरमा ४ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो। पारसले २१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। पृथु बास्कोटाले अविजित १५ रन जोडे। राजु रिजाल र अमर रौतेलाले समान १३ रन बनाए।
रूपन्देहीका सोहब आलमले २ विकेट लिए। उनले ३ ओभरमा ३६ रन खर्चेका थिए। कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १ विकेट लिए।
प्रकाशित: ५ वैशाख २०७४ ०५:०४ मंगलबार