२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राजनीतिको सिकार अर्जेन्टिनी फुटबल

ब्युनस आयर्स- लियोनेल मेसीमाथिको प्रतिबन्ध र बोलिभियासँगको निराशाजनक हारपछि फिफा विश्ववरीयताको शीर्ष टोली अर्जेन्टिना १९७० पछि पहिलो पटक विश्वकपमा छनोट नहुने खतरानजिक पुगेको छ।

दुई पटकको विश्वच्याम्पियनको समस्या बुधबार अर्जेन्टिना फुटबल संघ (एएफए) ले नयाँ कार्यकारी नियुक्त गरेपछि अझै थपिएको छ। तीन वर्षदेखि राम्रो टोली हुनाका बावजुद लगातार निराशा भोग्दै आएको अर्जेन्टिनी फुटबललाई सही बाटोमा ल्याउने प्रयासस्वरूप नयाँ कार्यकारी नियुक्त गरिएको बताइए पनि समीक्षकहरूले भने यसलाई राजनीतिप्रेरित कदमका रूपमा लिएका छन्।

बोलिभियासँगको हारले एएफए नेतृत्वलाई पहिलो कदम चाल्न बाध्य पारेको चर्चा सञ्चारमाध्यममा चलेको छ। अबको परिवर्तन प्रशिक्षक हुने पनि अडकल काट्न थालिएको छ। सञ्चारमाध्यमको अनुमानअनुसार एएफएले आगामी खेलअघि प्रशिक्षक इडगार्डो बौजालाई बर्खास्त गर्नेछ। तर अर्जेन्टिनाका लागि रूसको टिकट काट्दै अर्को वर्षको विश्वकपमा विश्वभरका दर्शकलाई खुसी पार्ने प्रयासका लागि अब चालिने कदम ढिलो हुन सक्छ।

गत साता चिलीविरुद्धको खेलदौरान सहायक रेफ्रीलाई दुर्व्यवहार गरेका कारण फिफाले अर्जेन्टिनाका स्टार स्ट्राइकर मेसीलाई मंगलबार चार खेलका लागि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धका कारण मंगलबार ढिलो गरी सम्पन्न बोलिभियाविरुद्धको खेलमा मेसी अनुपस्थित थिए। पाँच खेल बाँकी रहेको बेला मेसीमाथि लागेको चार खेलको प्रतिबन्ध अर्जेन्टिनाका लागि धेरै महँगो साबित भयो। उनले थप तीन खेल प्रतिबन्धमा गुमाउनेछन्।

'चार खेल भनेको एकदम धेरै हो। अत्यन्तै खतरनाक फाउलहरूमा पनि खेलाडीलाई दुई खेलको मात्र प्रतिबन्ध लगाइने गरिन्छ। यो त मौखिक दुर्व्यवहार मात्र थियो,' अर्जेन्टिनाका पूर्वप्रशिक्षक सिजर मेनोटीले फिफाको निर्णयप्रति असहमति जनाउँदै भने।

अर्जेन्टिनाका विश्वकप विजेता पूर्वनायक डिएगो म्याराडोनले आफू मेसीको प्रतिबन्धविरुद्ध फिफामा गरिने अपिलको नेतृत्व लिन तयार रहेको बताए। तर विश्व फुटबलको सर्वोच्च निकायले प्रतिबन्धको निर्णय फिर्ता लिने वा कम गर्ने सम्भावना अत्यन्तै न्यून रहन्छ। फिफाले यसअघि पनि यस्ता निर्णय फिर्ता लिएका घटना अत्यन्तै कम मात्र छन्।

बोलिभियाविरुद्धको खेल मेसीले प्रतिबन्धका कारण गुमाउँदा बौजाले टिम छनोटमा निकै अप्ठेरो अवस्था सामना गर्नुपरेको थियो। ला पाजको अल्टिच्युटमा कार्यवाहक कप्तान इभर बानेगाको नेतृत्वमा मैदान उत्रिएको अर्जेन्टिना २–० को नतिजामा पराजित भयो।

त्यो हारपछि अर्जेन्टिना विश्वकप छनोटको दक्षिण अमेरिकी प्रतियोगिता अंकतालिकाको तेस्रो स्थानबाट पाँचौंमा झरेको छ। दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले सोझै अर्को वर्ष रूसमा हुने विश्वकपको टिकट पाउनेछन् भने पाँचौं हुने टोलीले प्लेअफ खेल्नुपर्नेछ।

'हाम्रो सम्भावना अझै सकिएको छैन र हामी विश्वकपका लागि छनोट हुनेमा प्रतिबद्ध छौं,' बौजाले बोलिभियासँगको हारपछि जोड दिँँदै भने, 'हामी विश्वकपमा छानिन लायक छौं। मलाई आफ्नो टिममा पूर्ण विश्वास छ।'

मेसीको अनुपस्थितिमा प्रशिक्षक बौजाको विश्वास आफँैमा फिका देखिन्छ। बार्सिलोनाका सुपरस्टारको अनुपस्थितिमा अर्जेन्टिनाले विश्वकप २०१८ छनोटका आठ खेल खेल्दा एक पटक मात्र जित हासिल गरेको छ। उनी मैदान उत्रिएका ६ खेलमध्ये पाँचमा अर्जेन्टिना विजयी भएको थियो।

मंगलबार एभर्टनका रक्षक रामिरो फुनेस मोरी घुँडाको चोटका कारण मैदानबाट निकालिनुले अर्जेन्टिनाको चोटमा पीडा अझै थप्ने काम गर्‍यो।

राजनीतिको सोझो हस्तक्षेपका कारण अर्जेन्टिनाको फुटबल पछिल्ला वर्षहरूमा मैदानभित्रभन्दा पनि ठूलो समस्यामा छ। २०१४ मा एएफएका पूर्वअध्यक्ष जुलियो ग्रोन्डोनाको मृत्युपछि शक्तिसंघर्षले चरम रूप लियो भने म्याराडोनाले गत वर्ष एएफए व्यवस्थापनलाई 'माफिया' दर्जा दिएका थिए।

अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीले पनि देशको फुटबलमा विद्यमान कमजोर प्रशासनको आलोचना गर्दै भ्रष्टाचार र कुशासन हटाउन पूरा पद्धति परिवर्तन गर्न निर्देशन दिएका थिए। जहाँ फिफा र अर्जेन्टिनाको अदालतले पनि एएफएका गतिविधिमाथि अनुसन्धान गरेका थिए।

बुधबार एएफए सदस्यहरूले मतदानबाट तीन सदस्यीय नयाँ कार्यकारी टोली चयन गरेका छन्। यो टोलीले राष्ट्रिय टोली र अर्जेन्टिनी घरेलु लिगसम्बन्धी विषयमा काम गर्नेछ। तेस्रो डिभिजनको क्लब बाराकास सेन्ट्रलका प्रशिक्षक ४९ वर्षे क्लाउडियो टापिया अध्यक्षका रूपमा चयन हुँदा शीर्ष डिभिजनको टोली बोका जुनियर्सका अध्यक्ष ५२ वर्षे ड्यानिअल एन्जेलिकी उनका सहायकका रूपमा निर्वाचित भएका छन्। यसै गरी टापियाका ससुरा एवं लेबर युनियनका प्रभावशाली नेता हुगो मोयानो सदस्यमा चयन भएका छन्।

समीक्षकहरूका अनुसार मोयानो सदस्यमा निर्वाचित भए पनि एएफएमा सबभन्दा शक्तिशाली व्यक्ति उनी नै हुनेछन्। यसै वर्ष हुने आमनिर्वाचनअघि प्रतिपक्षी लेबर युनियनलाई मत्थर पार्ने प्रयासस्वरूप राष्ट्रपति माक्रीले चालेको कदमका रूपमा मोयानोको नियुक्तिलाई लिइएको छ।

प्रकाशित: १८ चैत्र २०७३ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App