२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

शृंखला जित्दा भारतको हैसियत कायम

धर्मशाला(एएफपी)– भ्रमणकारी अस्ट्रेलियामाथि मंगलबार चौथो टेस्टमा ८ विकेटको जित हासिल गर्दै शृंखला २–१ को नतिजामा जितेर भारतले विश्व टेस्ट वरीयतामा १ नम्बरको हैसियत कायम राखेको छ।

भारतले जितका लागि १ सय ६ रनको लक्ष्यसहित मंगलबार चौथो दिनको खेल सुरु गरेको थियो। लोकेश राहुलले अविजित ५१ रन प्रहार गरेपछि धर्मशालामा बोर्डर–गावस्कर ट्रफी अस्ट्रेलियाबाट खोस्न भारत सफल भयो । भारतका कार्यवाहक कप्तान अजिन्क्या राहने (अविजित ३८)ले पाट कमिन्सलाई लगातार दुई छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए।

भारतले टेस्ट शृंखलामा जित हासिल गरेको यो लगातार सातौं पटक हो । २०१५ मा श्रीलंकामा शृंखला जितेर सुरु भएको भारतको विजययात्राले त्यसयता असफलताको सामना गर्नुपरेको छैन। यसबीचमा टोलीले न्युजिल्यान्ड, इङ्ल्यान्ड र बंगलादेशविरुद्धका शृंखलामा जित हासिल गरेको थियो।

पाखुराको चोटका कारण शृंखलाको अन्तिम टेस्ट खेल्न नसकेका नियमित कप्तान विराट कोहलीले पछिल्लो यात्रामा अस्ट्रेलियामाथिको जित सबभन्दा सन्तोषजनक रहेको बताए । ‘यो शृंखलाको जित हाम्रा लागि सबभन्दा सन्तोषजनक छ । यस्तो जित विश्वास गर्न गाह्रो भइरहेको छ,’ कोहलीले भने, ‘अस्ट्रेलियाले हामीलाई निकै कठिन चुनौती प्रस्तुत गरेको थियो । तर हामीले उत्कृष्ट रूपमा पुनरागमन जनायौं । हामीले आफैंमाथि विश्वास गरेर निरन्तर संघर्ष गरिरह्यौं । यो जित त्यसैको फल हो ।’

अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले आफ्नो भावना चिप्लिएकोमा माफी मागे । सोमबार उनले विपक्षी खेलाडी मुरली विजयलाई ‘चिट’ (ठग) भनेको भिडियो फुटेजमा देखिएको थियो । ‘पूरै शृंखलाभरि पक्कै पनि म धेरै राम्रो गर्न चाहन्थेँ । तनावपूर्ण शृंखला दौरान मैले कतिपय अवस्थामा आफ्नो भावनामाथि नियन्त्रण राख्न सकिनँ, त्यसका लागि म माफी चाहन्छु,’ स्मिथले भने ।

विवादले भरिपूर्ण शृंखलामा त्यो थुप्रैमध्येको एक घटना थियो । बेङ्लोरमा सम्पन्न दोस्रो टेस्टमा कोहलीले स्मिथलाई रिभ्यु सिस्टमको नियतवश दुरुपयोग गरेको भन्दै आलोचना गरेका थिए ।

धर्मशालामा अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको ३ सय रनको जबाफमा भारतले ३ सय ३२ रन बनाएको थियो । तेस्रो दिन दोस्रो इनिङमा भ्रमणकारी टोली १ सय ३७ रनमै सीमित भयो । चौथो दिन कमिन्सले विजयलाई चाँडै आउट गरे भने चेतेश्वर पूजारा रनआउट भए । तर भारतले २४औं ओभरमा लक्ष्य हासिल गर्दा थप विकेट गुमाउनु परेन ।

पहिलो इनिङमा भारतको तर्फबाट सर्वाधिक ६३ रन बनाएपछि बायाँहाते स्पिनबाट अस्ट्रेलियाको दोस्रो इनिङमा तीन विकेट लिएका अलराउन्डर रवीन्द्र जडेजा चौथो टेस्टको म्यान अफ दी म्याच तथा म्यान अफ दी सिरिज घोषित भए ।

‘अजिन्क्याको नेतृत्व शैली र खेलाडीहरूले अवस्थाअनुसार गरेको प्रदर्शन असाधारण थियो । टिमका सबै खेलाडीले परिपक्वता र जिम्मेवारी प्रदर्शन गरे । बाहिर बसेर यस्तो हेर्न झनै रमाइलो हुने रहेछ,’ कोहलीले भने ।

भारत र अस्ट्रेलियाबीचको यो शृंखला भ्रमणकारी कप्तान स्मिथको उच्च फर्मका लागि पनि स्मरणीय हुनेछ। स्मिथले शृंखलामा तीन शतकसहित ४ सय ९९ रन बनाएका थिए । एकै शृंखलामा तीन शतक प्रहार गर्ने उनी छैटौं भ्रमणकारी ब्याट्सम्यान बनेका छन् ।

यसै गरी कोहलीका लागि भने शृंखला बिर्सनलायक रह्यो । पहिलो तीन टेस्टमा जम्मा ४६ रन बनाएका कोहलीले अस्ट्रेलियाली सञ्चारमाध्यममा आफ्नो तीव्र आलोचना भएपछि आफैंलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका थिए ।

प्रकाशित: १६ चैत्र २०७३ ०२:१४ बुधबार

शृंखला जित्दा भारतको हैसियत कायम