१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलको लिग सम्भावना जीवित

लिभरपुल– इम्रे क्यानको गोलप्रेरित लिभरपुल आइतबार बर्नलीमाथि २–१ को जितसहित आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा जीवित राख्न सफल भएको छ । 

लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलको सातौं मिनेटमा म्याथ्यु लोटनको पासमा एस्ले बार्नेसले गोल गरेपछि बर्नलीले अग्रता लिएको थियो । 

पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै जर्जिन्हो विज्नाल्डमले लिभरपुललाई खेलमा फर्काए । उनले डिभोक ओरिगीको पासमा गोल गरेका थिए ।

६१ओैं मिनेटमा क्यानले फिलिप कौटिन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाउँदा सन् १९७४ पछि एनफिल्डमा पहिलो जित हात पार्ने दाउमा रहेको बर्नली निराश बनेको थियो ।

यस जितपछि ५५ अंक जोड्दै इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा पकड मजबुत बनाएको लिभरपुलले शीर्ष चारमा रहँदै अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ । टोली तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंक पछाडि छ भने पाँचौं स्थानको आर्सनललाई ५ अंकले पछि छोड्न सफल भएको छ । योर्गान क्लोपको लिभरपुल शीर्ष स्थानको चेल्सीभन्दा ११ अंकले पछि छ ।
लिभरपुलका प्रशिक्षक क्लोपले आइतबार प्रदर्शनमा असन्तुष्टि जनाए पनि नतिजाले भने खुसी दिएको प्रतिक्रिया दिए । ‘आज प्रदर्शन सोचेजस्तो नभए पनि नतिजा सुखद आएको छ,’ उनले भने ।
यता बर्नलीका प्रशिक्षक सेन डिचेले आफ्नो टोलीलाई भाग्यले साथ नदिएको बताए । 

‘यो नतिजा विश्वास गर्न कठिन छ । सबैले राम्रो प्रदर्शन गरेका थिए । त्यहीअनुसार हामीले सुरुमा अग्रता पनि लिएका थियौं,’ उनले थपे, ‘हामीलाई भाग्यको साथ चाहिन्थ्यो, त्यो प्राप्त भएन ।’

प्रकाशित: १ चैत्र २०७३ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App