बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ। प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो।
प्रतियोगीताका लागि नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए।प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।यीमध्ये उसु र जुडो काठमाडौमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ।
फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताए। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यक्रम रहेको छ।
प्रतियोगितामा विभिन्न बिधामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताए।पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताइन।
प्रकाशित: २ जेष्ठ २०८० १३:१५ मंगलबार