अमेरिकामा बसेर व्यावसायिक रूपमा टेनिस खेल्दै आएका अभिषेक बाँस्तोला वल्र्ड टेनिस फेडेरेसन (आइटिएफ) वरीयताको १ हजार ९ सय ३०औं स्थानमा अटाएका छन्।
अघिल्लो साता मात्र काठमाडौंमा सम्पन्न सिटिजन्स बैंक राष्ट्रिय खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका अभिषेक आइटिएफको वरीयतामा सूचीकृत भएका हुन्। उनले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन्। यससँगै अभिषेक आइटिएफ वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। १३ वर्षकै उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका उनले टेनिसको यात्रा ८ वर्षको उमेरबाट गरेका थिए। अभिषेकले हालसम्म यु–१४ विश्व च्याम्पियनसिपको समूह २, आइटिएफको मेन ‘ड्र’ ग्रेड १ देखि ५, दक्षिण एसियाली खेलकुद, एसियन्स गेम्सलगायताका प्रमुख प्रतियोगिता खेलेका छन्। अभिषेकले सन् २०१७ मा राष्ट्रिय लन टेनिस प्रतियोगितको उपाधि पनि जितेका छन्।
प्रकाशित: २२ वैशाख २०८० ०१:१८ शुक्रबार