१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप : नेपाल र कुवेतबीचको सेमिफाइनल भोलि हुने

फाईल तस्विर (क्यान )

एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ। 

नेपाल हिजो समूह ए को अन्तिम खेलमा कतारलाई ६८ रनले हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।त्यसैगरी कुवेत समूह बीको अन्तिम खेलमा हङकङलाई ३० रनले हराएपछि समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो। 

नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराएको थियो भने  साउदी अरेवियासँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो। कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो। त्यसपछि बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रनले हराएको थियो।

त्यसैगरी भोलि नै दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनल भने मुलपानी मैदानमा हुनेछ। ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो। 

ओमान र यूएईबीचको खेलसंगै  मुलपानी मैदानले पनि एक दिवसीय खेल हुने मैदानको मान्यता  पाउने भएको छ। यसै प्रतियोगिताबाट नेपालले मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो। युएई र ओमान दुबै ओडिआई मान्यता देश भएको  हुँदा मुलपानी क्रिकेट मैदानले पनि ओडिआई मान्यता पाउने भएको हो। 

प्रकाशित: १५ वैशाख २०८० ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App