२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आधुनिकताको बाटोमा लम्कँदै

काठमाडौं- आर्चरी नेपालको यस्तो मौलिक खेल हो, जसको परम्परागत महत्व विशेष छ। पहाड र हिमालका विभिन्न जिल्लामा विभिन्न समुदायका लागि यो पुस्तेनी संस्कार हो। चाढवाडमा धनुष काँड चलाउनु ति समुदायका लागि अनिवार्यजस्तै मानिन्छ। आर्चरी प्रतियोगिता आफैमा विशेष पर्वको हैसियतमा स्थापित छ।

तर समय फेरिइसक्यो। समुदायमा पर्व मनाउने, रमाइलो गर्ने संस्कारमा सिमित आर्चरी नेपालमा पनि आधुनिकतातिर लम्किँदो छ। पुरुषसँगै महिला पनि नेपाली आर्चरीमा अघि बढ्ने क्रममा छन्। धनुष बाँढ चलाउने यात्रा अगाडि बढाउने क्रममा नेपाली महिलाले अन्तर्राष्ट्रिय पदक जित्दै नयाँ सम्भावनाको ढोका खोलेका छन्।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपालको महिला टोलीले टिम रिकर्भ इभेन्टमा रजत पदक जित्यो। महिला टोलीले जितेको रजत नेपाली आर्चरीले अन्तर्राष्ट्रिय स्पर्धामा हासिल गरेको अहिले सम्मकै महत्वपूर्ण उपलब्धी हो। कृष्णमाया स्याङ्तान, ज्ञानु अवाले र आइसा तामाङको तिरले ढाकामा सही निसाना लिँदा नेपाली आर्चरीले ऐतिहासिक सफलताको स्वाद चाख्न पाएको थियो।

१७ देशका ५० पुरुष र १८ महिला टोलीले भाग लिएको प्रतियोगितामा नेपालका ३ पुरुष खेलाडीले कम्पाउन्ड र ३ महिला खेलाडीले रिकर्भमा प्रतिस्पर्धा गरेका थिए।

महिलातर्फ र्‍याङकिङ राउन्डमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले सोझै सेमिफाइनलमा खेल्ने अवसर पाएको थियो। सेमिफाइनलमा अजरबैजानलाई ६–२ को सेटमा हराउँदैं नेपाली महिला टोली फाइनलमा पुग्यो।

तर फाइनलमा नेपाल आयोजक बंगलादेशसँग ६–२ को सेटमा पराजित भयो। महिला रिकर्भको टिम इभेन्ट ओलम्पिकमा पनि प्रतिस्पर्धा गराइने विधा हो। प्रतियोगिताको नतिजाले आर्चरीमा नेपालको सम्भावना प्रचुर रहेको प्रमाणित गरेको बताउछन प्रशिक्षक वशन्त थकाली। 

'धेरै प्रतिकुलताका बीच हामीले बंगलादेशमा सहभागिता जनाएका थियौं। पक्कै पनि खेलाडीले मेहनत गरेका थिए। तर त्यहाँको पदकले हामीलाई वेग्लै खालको आत्मविश्वास दिलाएको छ,' थकालीले भने, 'महिला टिमको यो सफलताबाट आर्चरीमा नेपालको सम्भावना प्रचुर रहेको प्रमाणित गरेको छ। अव सरकार, खेलकुद परिषद, ओलम्पिक कमिटीलगायतका निकायलाई आर्चरीप्रति ध्यान दिन यसले दबाब सिर्जना गर्नेछ।'

नेपालमा आधिकारिक रुपमा आर्चरी खेलको गतिविधी सुरु भएको एक दशक पनि भएको छैन। २०४४ सालमा नेपाल आर्चरी संघ राष्ट्रिय खेलकुद परिषदमा २०औं खेलकुद संघको रुपमा दर्ता भएको थियो। तर संघ कागजमै सिमित थियो। तत्कालिन नेपाल आर्चरी संघका अध्यक्ष लक्ष्मण श्रेष्ठको सक्रियतामा पछिल्लो दशक आर्चरीले केही गति लिने प्रयास गरेको थियो। नेपालले सन् २०१० मा ग्वाङझाउ एसियाड खेलेको थियो।

श्रेष्ठको कार्यकालमा नेपालले सन् २०१४ मा कोरियाको इन्चोन एसियाडमा पनि भाग लिएको थियो। एसियाडको तयारीका लागी त्यतिबेला नेपाली खेलाडीले कोरियाली प्रशिक्षक लु चुङको नेतृत्वमा प्रशिक्षण समेत गरेको थियो।

छोटो समयमा नेपालको आर्चरीले गत वर्ष रियो ओलम्पिकमा खेल्ने अवसर पनि पायो। ८ वर्ष अघि भारतमा भएको अन्तर्राष्ट्रिय खुला आर्चरी च्याम्पियनसिपमा नेपालका प्रेमप्रसाद पुनले भारतीय खेलाडीलाई हराएर व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका थिए। त्यसपछि ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुद(साग)मा प्रेमप्रसादसँगैं जितबहादुर मोक्तान, असिम शेरचन र रमेश भट्टचनले टिम रिकर्भमा कांस्य पदक जितेका थिए। भारतमा भएको १२औं सागमा भने प्रेमप्रसादले व्यक्तिगतमा रिकर्भमा कांस्य पदक हासिल गरेका थिए।

महिला खेलाडीले भने ११औं साग देखी अन्तर्राष्ट्रिय स्पर्धामा पाइला टेकेका हुन्। शान्ती शेरचन, मिना दुरा, राज्यलक्ष्मी जोशी र राधिका ब्लुनले ११ औं सागमा प्रतिस्पर्धा गरेर नेपाली महिलाको अन्तर्राष्ट्रिय सहभागिताको श्रीगणेश गरेका थिए। पहिलो सहभागितामा महिला टोली क्वार्टरफाइनल सम्म पुगेको थियो। भारतमा भएको १२औं सागमा पनि नेपाली महिलाको यात्रा क्वार्टरफाइनलमा पुगेर टुंगियो। १२औं सागमा कृष्णमाया, आयुशा तामाङ, रश्मी दर्लामी र सुनिता मोक्तान नेपाली टोलीमा थिए। क्वार्टरफाइनलमा महिला टोली भुटानसँग पराजित भएर फर्किएको थियो।

अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बढिरहेको छ आर्चरीमा। तर घरेलु

गतिविधि भने बढन सकिरहेको छैन। वर्षमा १–२ राष्ट्रिय प्रतियोगितामै सिमित छ, नेपालमा आर्चरी गतिविधि। अन्तर्राष्ट्रिय अनुभवसँगै आन्तरिक गतिविधि पनि त्यही अनुपातमा बढ्न सके अझै ठूला उपलब्धी आउने खेलाडीहरु बताउँछन्।

आर्चरी संघका महासचिव रमेश सिवाकोटी भने महँगो भएका कारण आर्चरीलाई देशव्यापी बनाउन नसकेको तर्क गर्छन्। भन्छन्, 'हामीलाई अभ्यास गर्ने एउटा निश्चित ठाउँमात्र भए पनि धेरै सजिलो हुन्थ्यो। आर्चरी खेलको सामाग्री महँगा छन्। सबैको पहुचमा छैन। सरकारको सहयोग छैन। यसले खेलको विकासमा असर गरेको छ।'

सिवाकोटीका अनुसार एउटा नयाँ खेलाडीले आर्चरी खेल्न सुरु गर्न कम्तिमा ८० हजारको सामाग्री किन्नु पर्छ। प्रतियोगितामा भाग लिन त २ लाख बराबरीको सामाग्री आवस्यक पर्छ। जसका कारण नेपालमा आर्चरी खेलाडीको संख्या अपेक्षा अनुसार बढन नसकेको सिवाकोटी बताउँछन।

संघका अनुसार नेपालमा अहिले करिव डेढ दर्जन महिला खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिने गरेका छन। आर्थिक रुपमा महंगो तथा पूर्वाधार अभावका तमाम समस्याका बीच यति खेलाडी हुनुलाई पनि महासचिव सिवाकोटी सन्तोषजनक मान्छन्। 'अहिले महिलाको संख्या बढिरहेको छ। सुरुमा हामीले राष्ट्रिय प्रतियोगिता गर्दा चार जना महिला खेलाडी हुन्थे,' उनी भन्छन्।

मुस्ताङलाई नेपालमा आर्चरी खेलको उद्गम थलोका रुपमा चिनिन्छ। थकाली समुदायमा हरेक वर्ष फागु पुर्णिमाका बेला तोरङ पर्वमा आर्चरी प्रतियोगिता हुने गर्छ। करिव एक साता सम्म थकालीहरु आर्चरी खेलमा रमाउने गर्छन। यसैगरी राई, लिम्बु, किरात, गुरुङ, मगर, तामाङ लगायतका समुदायमा पनि आर्चरीलाई परम्परागत खेलका रुपमा खेल्ने गरिन्छ। त्यहाँ स्थानीय बाँसबाट निर्माण गरिएका धनुष तथा बाँढ प्रतियोगितामा प्रयोग गरिने गरिएको छ। आधुनिक आर्चरीमा भने विशेष किसिमको धनुष प्रयोग हुन्छ।

आर्चरी संघ अहिले पनि आफ्नो निश्चित अभ्यास गर्ने स्थानको खोजीमा छ। 'आर्चरी खेलाडीका लागि नियमित प्रशिक्षण गर्ने ठाँउ छैन। सरकारले एउटा स्थायी आर्चरी प्रशिक्षकको समेत व्यवस्था गर्न सकेको छैन,' सिवाकोटी भन्छन्, 'शुभचिन्तक र पदाधिकारीको सहयोगमै टिकेको छ नेपाली आर्चरी।'

यसका बावजुद संघका वरिष्ठ उपाध्यक्ष एवं प्रशिक्षक थकाली भने आगामी ओलम्पिकमा खुला प्रतिस्पर्धाबाट छनोट हुने दावी गर्छन। उनले भने, 'खेलाडीले मेहनत गरे हामी प्रतिस्पर्धा मार्फत ओलम्पिक खेल्न सक्छौं। त्यसको लागी सरकार र संघले प्रभावकारी योजना बनाउनु पर्छ।'

प्रकाशित: २० माघ २०७३ ०४:१३ बिहीबार

आधुनिकताको बाटोमा लम्कँदै