१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

'अपांगप्रति सरकार उदासिन'

काठमाडौं- नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले शुक्रबारसंविधानको भावनाविपरित सरकारी निकायले अपांगहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। भारतको नयाँ दिल्लीमा हुने दोस्रो ट्वान्टी–२० नेत्रहिन क्रिकेट विश्वकपका लागि बिहीबार भएको टिम विदाइका अवसरमा घिमिरेले संविधानमा अपांगमैत्री तथा समतामूलक समाजको परिकल्पना गरिए पनि सरकारी निकायले त्यसलाई महत्व नदिएको गुनासो गरेका हुन्।

विदाइ कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट उपस्थित नभएपछि अध्यक्ष घिमिरेले निराशा पोखेका थिए।

‘आजको कार्यक्रमका प्रमुख अतिथि सरकारी निकायका व्यक्ति हुनुहुन्छ। उहाँको अनुपस्थितिले सरकार हामीप्रति गम्भिर नभएको महसुस भएको छ,’ नेत्रहिन क्रिकेट संघका अध्यक्ष घिमिरेले भने, ‘हामी खेलमार्फत् समाजमा अपांता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न चाहन्छौं। विश्वकप जित्ने हाम्रो सपना हो। यसपालीको संस्करणमा हामी आफ्नो प्रदर्शनमा सुधार गर्नेछौं।’

विदाइ कार्यक्रम दिउँसो २ बजे गर्ने भनिए पनि एक घन्टा प्रमुख अतिथिको प्रतिक्षापछि ३ बजे गरिएको थियो। तर प्रमुख अतिथि सदस्यसचिव कार्यक्रम समाप्त भएर आयोजक गइसकेपछि कार्यक्रमस्थल पुगेका थिए।

माघ १९ मा सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध खेल्नेछ। १९ गते दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने त्यसको भोलीपल्ट दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ। २१ गते पाकिस्तानसँग खेल्ने नेपालले २२ गते वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्नेछ। २३ गते श्रीलंकासँग, २५ गते भारत र २७ गते न्युजिल्यान्डविरुद्ध खेल्नेछ।

नेपाली टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले विगतको प्रदर्शनमा सुधार गर्दै केही राष्ट्रलाई हराउने लक्ष्यसहित भारत जान लागेको बताए। उनले यसपाली तयारी राम्रो भएकाले प्रदर्शनमा सुधार गर्ने विश्वास व्यक्त गरे।

नेपाली टोलीः कृतन श्रेष्ठ दुवाल (कप्तान), विक्रमबहादुर राना, सुनील सुवेदी क्षेत्री, जीवन गुरुङ, अब्दुला जाहिद, भरत चौलागाईं, दुर्गादत्त पौडेल, शोभराम डाँगी, सुनील राना,  बद्री चौलागाईं, सुनिल थापामगर, रमेशबहादुर बानियाँ, टोपबहादुर थापा र पदम बडेला।

प्रकाशित: १५ माघ २०७३ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App