५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला रारा अल्ट्रा म्याराथन सुरु भएको छ।

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन सुरु भएको हो। म्याराथनको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए। उनले कर्णालीमा खेलकुद पर्यटनको सम्भावना उच्च रहेको बताए।

कर्णाली स्पोर्ट्स क्लब जुम्लाले हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना गर्दै आएको छ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारमा टेवा पुग्ने बताए। उनका अनुसार शून्य प्वाइन्ट खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारा तालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ।

म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ। खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको थियो।

विदेशी खेलाडीका लागि ७ हजार, नेपाली धावकका लागि ३ हजार शुल्क तोकिएको थियो।म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। 

यसैगरी चौथो र पाँचौँ हुनेलाई २०/२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोर्ट्सका अध्यक्ष शाहीले जानकारी दिए।

गिनिज बुक अफ वर्ल्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरिबहादुर रोकायको संरक्षणमा म्याराथन भइरहेको छ। जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई खेल संस्कृतिको विकासका लागि म्याराथन आयोजना गर्न गर्दै आएको धावक हरिबहादुर रोकायाले बताए।

'विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकुद प्रतियोगिता गर्नेमध्ये जुम्ला पनि उच्च सम्भावना भएको जिल्लाको रुपमा चिचिनसक्छ' धावक रोकायाले भने। 

जुम्लामा यसअघि तीन वटा म्याराथनका इभेन्ट भइसकेका छन्। हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा देशभरका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिका लगायत देशका खेलाडीहरु सहभागी भएका थिए।

यस वर्ष नेपाल भित्रका १९ जिल्लाका खेलाडी सहभागी छन्। अमेरिकाका २, भारतका १, आयरल्यान्डका १ र बेलायतका १ जना खेलाडीले भाग लिएका छन्। रारा ताल सम्म ८० जना खेलाडी पुग्ने आयोजकले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८० १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App