५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सन्दीपको कीर्तिमान, कुशलको मेडन शतक, नेपालको उच्च योगफल

कुशल मल्लको मेडन शतक र सन्दीप लामिछानेको छिटो एक सयौं एकदिवसीय विकेटको कीर्तिमान बनेको दिन शुक्रबार नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि फराकिलो जित निकालेको छ।

सन्दीप र कुशलका लागि यादगार बनेको दिन नेपालले पाहुना टोली ओमानमाथि ८७ रनको जित निकाल्दै एसिसी प्रिमियर कपमा दोस्रो सफलता प्राप्त गरेको हो। आफ्नो ५०औं एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक तीन सय रनको योगफल जोड्दा कुशलले शतक र सोमपालले अर्धशतक पूरा गरे। सन्दीप भने विश्वकपकै सबैभन्दा छिटो एक सयौं एकदिवसीय विकेट लिने खेलाडी बने। सन्दीपले ४२ खेलमा सय विकेट पूरा गर्दै अफगानिस्तानका रासिद खानको नाममा रहेको विश्व कीर्तिमान भंग गरेका हुन्।  

रासिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए। यता, कुशल ५९ बलमा सय रन बटुल्दै नेपालका लागि छिटो शतक पूरा गर्ने क्रिकेटर बने। उनी एकदिवसीयमा शतक प्रहार गर्ने नेपालका छैटौं ब्याटर हुन्। यसअघि एकदिवसीयमा पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरेका छन्। सन्दीप र कुशलका लागि विशेष बनेको दिन नेपालले आफ्नो समूह ‘बी’ को बलियो टोली ओमानमाथि रबाफिलो जितसहित एसिसी प्रिमियर कपको उपाधिमा दाबेदारी पनि प्रस्तुत गरेको छ।  

यद्यपि, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले बिर्सनलायक सुरुआत गरेपनि उत्कृष्ट पुनरागमन गरेको हो। नेपालका दुई ओपनर कुशल भुर्तेल र आसिफ सेख खाता नखोल्दै आउट भए। त्यसपछि दबाबमा परेको नेपालले ४.३ ओभरसम्म कुनै रन बटुल्न सकेन। तर, भीम सार्की र कप्तान रोहित पौडेलले समालिएर ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे। त्यस क्रममा सुस्त ब्याटिङ गरेको नेपालले १२ ओभर सकिँदा ३२ रन मात्र जोड्न सक्यो। १८औं ओभरको पहिलो बलमै फयाज बटले रोहितलाई २३ रनमा आउट गर्दै अर्को झड्का दिए। नेपालले २१औं भीमलाई पनि गुमायो। जिसान मक्सुदले भीमलाई ३३ रनमा आउट गरे र नेपाल ७६÷४ को नाजुक अवस्था पुग्यो। त्यसपछि आएका कुशलले लगातार ठूला सट खेल्दै ओमानी बलरलाई दबाबमा राखे। उनले चौथो विकेटका लागि आरिफ सेखसँग ७५ रनको साझेदारी गरे। आरिफ पनि २९ रनमा आउट भए। त्यसपछि आएका दीपेन्द्रसिंह ऐरी पनि ७ रनमै पवेलियन फर्किए र ३५.२ ओभरमा १ सय ७२ रन जोड्दा नेपालले ६ विकेट गुमायो।  

तर, अर्को छेउबाट कुशल आक्रामक ब्याटिङ गर्दै नेपाललाई राम्रो योगफलतर्फ डोर्याए। ३८.५ ओभरमा छक्का प्रहार गर्दै कुशलले करियरको पहिलो शतक पूरा गरे। उनी ४१औं ओभरमा अकिब इलियासको बलमा छक्का प्रहार गर्ने चक्करमा क्याच आउट भए। कुशल ६४ बलमा १०८ रनमा आउट भए। म्यान अफ दी म्याचसमेत भएका कुशलको इनिङमा ९ चौका र १० छक्का रह्यो। सातौं विकेट पतन हुँदा नेपालको खातामा २ सय २५ रन थियो। तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी ६४ रनमा र दशौं नम्बरमा आएका करण केसी २९ रनमा नटआउट रहँदै नेपाललाई तीन सय रनको आकडा पार गराए।

करियरको दोस्रो अर्धशतक प्रहार गरेका सोमपालले ४८ बलमा ९ छक्का हिर्काए। करणको इनिङमा दुई चौका र एक छक्का रह्यो। ओमानका लागि आयान खानले दुई तथा बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद, फयाज बट, अकिव इलियास र जतिन्दर सिंहले १÷१ विकेट लिए। जबाफी ब्याटिङमा उत्रिएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २६ रन मात्रै बनाउन सक्यो। ओमानका लागि मोहम्मद नदिमले ८४ बलमा सात चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेले। सन्दीप गौडले ४६ रन, आयान खानले २९ तथा कश्यप प्रजापतिले २५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि करण केसी र सन्दीपले ३÷३ विकेट लिए। ललित राजवंशीले एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे। पहिलो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। 

प्रकाशित: ९ वैशाख २०८० ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App