९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्यान्डले बंगलादेशलाई क्लिन स्विप

नेल्सन- निल ब्रुम र कप्तान केन विलियम्सनले  १ सय ७९ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले शनिबार सम्पन्न तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै न्युजिल्यान्डले शंृखला क्लिन स्विप गरेको छ।

विलियम्सन ९५ रनमा अविजित रहँदा ब्रुमले ९७ रनको योगदान गरेका थिए। यी दुईले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले दिएको २ सय ३७ रनको लक्ष्य ४१.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो। रोस टेलर्सको स्थान लिएका ब्रुमले दोस्रो खेलमा अविजित १ सय ९ रन बनाएका थिए।

‘उनको अनुभव पछिल्लो २ खेलमा देखिएको छ,’ ३३ वर्षे ब्रुमबारे कप्तान विलियम्सनले भने, ‘हाम्रो जितमा ब्रुमको योगदान महŒवपूर्ण रह्यो।’

९७ बलको सामना गरेका बु्रमले १२ चौका र १ छक्का प्रहार गरेका थिए। १ सय १६ बल खेलेका विलियम्सनले ९ चौका र १ छक्का हानेका थिए। घरेलु टोलीका जेम्स निशम २८ रनमा अविजित रहे। बंगलादेशले लिएका दुवै विकेट मुस्तफिजुर रहमानको नाममा रह्यो।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल ६ रनमा रिटायर्ड हर्ट भएका थिए।  अर्का ओपनर टम लाथम ४ रनमा आउट भएपछि विलियम्सन र ब्रुमले न्युजिल्यान्डको इनिङ सम्हाले।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भ्रमणकारी टोलीले ९ विकेट गुमाएर २ सय ३६ रन जोडेको थियो। ओपनर तमिम इकबालले ५९ तथा इमरूल कायसले ४४ रन बनाउँदै बंगलादेशलाई राम्रो सुरुआत दिएका थिए। दुईले पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरे। पहिलो दुई विकेट गुमाएपछि बंगलादेशले निरन्तर विकेट गुमायो। नुरुल हसनले ४४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन्।

न्युजिल्यान्डका म्याट हेनरी र मिचेल सन्टनरले समान २/२ विकेट लिए भने टिम साउथी, जीतन पटेल, निशम र विलियम्सनले १/१ विकेट लिए।

बंगलादेशका कप्तान मशरफी मोर्तजाले मंगलबार सुरु हुने पहिलो ट्वान्टी–२० शृंखलाअघि टोलीमा धेरै सुधार गर्नुपर्ने बताए।

‘एउटा टोलीको रुपमा हामीले धेरै सुधार गर्नु आवश्यक छ,’ मोर्तजाले भने, ‘सुरूमा गरेको राम्रो साझेदारी पछिसम्म कायम राख्न सकेनौं। १/२  खेलाडीले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरे पनि संगठित प्रदर्शन गर्न सकेनौं।’

बंगलादेशले न्युजिल्यान्डविरुद्ध ३ ट्वान्टी–२० र २ टेस्ट शंृखला खेल्नेछ। त्यसका लागि बंगलादेशले शनिबारै १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

एक दिवसीय टोलीमा २ खेलाडी परिवर्तन गरेको छ। बंगलादेशले लेग स्पिनर तैजुल इस्लाम र अलराउन्डर शुभागत होमलाई टोलीमा समावेश गरेको छ। इस्लामले तनवीर हैदरको स्थान लिएका हुन् भने शुभागतले मेहदी हसनलाई विस्थापित गरेका हुन्।

बायाँहाते स्पिनर तैजुल बंगलादेश टेस्ट टोलीका नियमित सदस्य हुन्। उनले बंगलादेशबाट ४ एक दिवसीय खेलिसकेका छन्। तर, ट्वान्टी–२० मा भने उनले डेब्यु गर्नेछन्। तीव्र गतिका बलर सुवाशिस रोयको पनि ट्वान्टी–२० डेब्यु हुनेछ।   

प्रकाशित: १७ पुस २०७३ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App