२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

‘इतिहासकै उत्कृष्ट’ पूर्वाधारमा राष्ट्रिय खेलकुद !

विराटनगर, पुस ९–  ‘पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्मकै सबभन्दा राम्रो भौतिक पूर्वाधारमा सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुदको इतिहासमा सातौं संस्करणले सुविधाको नयाँ स्तर मापन गर्नेछ,’ दुई साताअघि राजधानीमा राष्ट्रिय खेलुकद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले गौरवका साथ घोषणा गरेका थिए ।

शुक्रबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको राष्ट्रिय खेलकुद सदस्य सचिव विष्टलाई गिज्याउँदै पूर्वाञ्चलमा घिस्रिइरहेको छ । साढे दुई दशकको इतिहास बोकेको राष्ट्रिय खेलकुद सातौं संस्करणमा पुग्दा पहिलो पटक पूर्वाञ्चल आएको छ । सदस्य सचिव विष्ट पूर्वाञ्चलकै उदाउँदो शहर इटहरीका स्थानीय वासिन्दा हुन् । इटहरीलाई नै आधार बनाएर नेकपा एमालेको राजनीति गर्दै आएका विष्ट आफू खेलकुदको सर्वोच्च शक्तिशाली पदमा रहँदा पूर्वाञ्चलमा राष्ट्रिय खेलकुदको सबभन्दा ठूलो मेला आयोजनाको अवसर पाउँदा स्वभाविक रुपमा उत्साहित थिए ।

इतिहासकै सबभन्दा राम्रो पूर्वाधारको उदघोषलाई सुटिङ, क्रिकेट, तेक्वान्दो, भलिबललगायतका खेलस्थलले गिज्याइरहेका छन्

त्यही उत्साहमा उनले मंसिर २४ मा पत्रकार सम्मेलन गरेर भावना पोखे, ‘ नेपालले १३ औं साग आयोजनाको तयारी गरिरहेको छ । हामीले त्यसको पूर्वअभ्यासका रुपमा गरि यो प्रतियोगिता गर्ने तयारी गरेका छौं । सबै खेल हुने पुर्वाधारले अन्तर्राष्ट्रिय स्तरको न्युनतम मापदन्ड पूरा गर्नेछन । खेलाडीले पहिलाका ंराष्ट्रिय खेलकुदमा जस्तो यसपटक हिलो र धुलोमा खेल्नु पर्नेछैन । अहिलेसम्मकै सबभन्दा राम्रो पूर्वाधारमा यसपालीको राष्ट्रिय खेलकुद सम्पन्न हुनेछ ।’

पूर्वाञ्चल आफैमा राम्रो खेल संस्कार भएको ठाउँ हो । जहाँ प्रत्येक वर्ष फुटबलका दर्जनभन्दा बढि ठूला प्रतियोगिता हुने गर्छन् । लगातार प्रतियोगिता आयोजना गरिरहेको अनुभवले पूर्वेली खेलकर्मीमा व्यवस्थापनको राम्रो दख्खल छ । खेल्ने भए हेर्ने र व्यवस्थापन गर्नेको कमी हुँदैन । निरन्तर प्रतियोतिगा हुने भएकाले फुटबलका लागि कामचलाउ पूर्वाधार पनि छन् । पूर्वाञ्चलमा राष्ट्रिय खेलकुदको तयारी भइरहँदा आयोजक राखेपसामु यिनै पूर्वाधार, जनशक्ति र खेल संस्कारको फाइदा थियो ।

यसकै बलमा सदस्य सचिव भावनामा पोखिएका हुन सक्छन् । तर व्यवहार उनको भावनाभन्दा ठिक उल्टो छ । इतिहासकै सबभन्दा राम्रो पूर्वाधारको उदघोषलाई सुटिङ, क्रिकेट, तेक्वान्दो, भलिबललगायतका खेलस्थलले गिज्याइरहेका छन् ।

शुक्रबार पुरुष क्रिकेटको पहिलो खेलका लागि एपिएफ र मध्य पश्चिमका टोली पुगिसक्दा पनि बैजनाथपुरको मैदान सम्याउन डोजर व्यस्त थियो । निर्धारित समयभन्दा केही बेरपछिमात्र खेल सुरु भयो । सदस्य सचिवले भनेभन्दा उल्टो थियो मैदानको अवस्था । ३० यार्ड सर्कल बाहिर भर्खर सम्याइएको झण्डै दुई फिट पुरुवा माटो थियो । २० ओभर स्वरुपको खेलमा झण्डै चार घन्टा डुङडुङ धुलो उडाएपछि राष्ट्रिय टोलीका पूर्व उपकप्तान एपिएफका भेट्रान स्टार शक्ति गौचनले निराशा पोखे, ‘यति झुर मैदानमा अहिलेसम्म क्रिकेट खेल्नु परेको थिएन । फिल्डिङ गर्दा कतै कतै धापमा दौडिएजस्तो हुन्थ्यो, खुट्टा गाडिएर दौडिनै नसकिने ।’

‘यो मैदानको लेबल ठिक छैन । त्यसैले चोट लाग्ने सम्भावना धेरै हुन्छ । हामीले खेलाडीलाई चोट नहुने तरिकाले खेल्न भनेका छौं,’ नागरिकसँगको कुराकानीमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध .... मा हुने खेलको प्रशंग कोट्याउँदै उनले थपे, ‘राष्ट्रिय टोलीको महत्वपूर्ण खेल नजिक आइरहेको छ । यस्तोमा खेलाडी फिट रहनु अत्यन्तै आवस्यक हुन्छ । यस्तो नराम्रो मैदानमा राष्ट्रिय खेलकुद हुनु नेपाली खेलकुदको बिडम्बना हो ।’

पाँच वर्षअघि नै राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुने तय थियो । अझ निर्धारित समयमा भएको भए सातौं संस्करण सकिएको पनि अहिले तीन वर्ष भइसक्थ्यो । तर बैजनाथपुरको क्रिकेट मैदान बनाउने काम डेढ महिना अघिमात्र सुरु भएको थियो । ‘गहिरो खाडल र अग्लो झाडी भएको जग्गालाई हामीले उपलब्ध समयमा हुने सम्मको राम्रो बनाएका छौं । खेल सुरु हुने बेला मैदान बनाउन थालेर हुँदैन । पर्याप्त समय र पैसा पाएको भए यो मैदान खेल्न लायक हुन्थ्यो,’ निर्माणमा संलग्न पूर्व खेलाडी .... ले भने, ‘हामीले डेढ महिनाको बीचमा पनि ३५ यार्डसम्म घाँस छाप्न भ्याएकै हो । राखेपले पैसा थपेको भए पूरै मैदानमा घाँस राख्न सकिन्थ्यो । राखेपले समय र पैसा दुवै दिएन । खेल गर्ने भनेरमात्र हुँदैन । व्यवस्थापन पनि त्यस्तै गर्न सक्नुपर्छ ।’

सदस्यसचिव विष्ट भने सातौं राष्ट्रियका लागि पूर्वाधारको शीर्षकमा २० लाख रुपैयाँमात्र आएकोले चाहेजति खर्च गर्न नसकेको गुनासो गर्छन । ‘त्यति पैसाले चुन लगाउन र मैदान खुर्किन पनि पर्याप्त हुँदैन । तर हामीले अन्य नियमित वजेटको सदुपयोग गरेर पूर्वाधार बनाएका छौं,’ उनले भने ।  

आफ्नै वाचामा खरो उत्रिन नसकेका सदस्य सचिवसँग कमजोरी ढाक्न रेडिमेड बहाना छ, ‘समयमा वजेट नआएकाले छोटो तयारीका भरमा सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । उपलब्ध वजेटमा अन्य नियमित शीर्षकका रकम समेत थपेर हामीले उत्कृष्टताका लागि कुनै कसर राखेका छैनौं ।’

क्रिकेट रंगशालासँगै बैजनाथपुरमै निर्माणाधिन सुटिङ रेन्जको अवस्था शनिबार खेल सुरु हुने दिनसम्म अत्यन्तै दयनीय थियो । हलको बाहिर प्लास्टर गर्न कामदारलाई भ्याइ नभ्याई थियो भने छानो हाल्न नभ्याएका कारण विहान ११ बजेसम्म पाल टागिँदै थियो । भित्र सुटिङका लागि टार्गेट सेट गर्ने तथा धागो तान्ने काम त सुरु समेत भएको थिएन । झारो टार्ने पारामा चलिरहेको राष्ट्रिय खेलकुदमा सुटिङको अत्यावस्यक प्राविधिक व्यवस्थापन मिलाउन प्रशिक्षकहरु ढिलैसम्म लागि परे र खेल निर्धारित समय (११ बजे) भन्दा चार घन्टा ढिलो सुरु भयो ।

सुटिङ रेन्जको भवन निर्माण ६० लाख रुपैयाँको लागतमा जेठमा सुरु भएको थियो । तर पटक राखेपकै तर्फबाट समयमा रकम निकासा नभएका कारण ढिलाई भएको स्थानीय पदाधिकारीहरुले बताए ।
यसैगरी इटहरी रंगशालामा भएको भलिबल कोर्टमा ¥यापिस ओछ्याउने कामसमेत भएको छैन भने तेक्वान्दो खेलाइने कभर्डहलको छानो पनि पालको छ ।

प्रकाशित: १० पुस २०७३ ०५:०५ आइतबार

इतिहासकै उत्कृष्ट पूर्वाधारमा राष्ट्रिय खेलकुद