२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

शीर्ष स्थानमा बायर्नको पुनरागमन

बर्लिन- डगलस कोस्टाले लामो दुरीबाट गरेको उत्कृष्ट गोलमा पुछारको टोली डार्मस्टाडलाई १–० ले पराजित गर्दै साविक विजेता बायर्न म्युनिख आइतबार बुन्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ। समान ३६ अंक भए पनि बायर्नले गोलअन्तरमा आरबी लिपजिगलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो। बायर्नको घरेलु एलियान्ज एरिना मैदानमा बुधबार शीर्ष दुई टोलीबीच रोचक भिडन्त हुनेछ। 

७१ औ मिनेटमा कोस्टाले गरेको गोल निर्णायक सावित हुँदा बायर्न संघर्षरत टोली डार्मस्टाडसँग तीन अंक खोस्न सफल भएको हो।

‘हामीले राम्रो प्रदर्शन गर्न सकेनौं। हाम्रो खेल तीब्र गतीको पनि थिएन। तर जित हात पार्दै शीर्ष स्थानमा रहनु महत्वपूर्ण कुरा हो,’ बायर्नका प्रशिक्षक कार्लो एन्सिलोट्टीले भने, ‘हामीले बुधबार राम्रो नजिता निकाल्न उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ।’

बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई डार्मस्टाडका रक्षकहरुले कडा निगरानीमा राख्दै निराश पारेका थिए। मिडफिल्डर पिटर निमेयेरले ७७ औं मिनेटमा गरेको उत्कृष्ट फ्रि–किक बायर्नका गोलकियर म्यानुअल नुयुरले रोक्दा डार्मस्टाडले खेलमा फर्कने मौका गुमाएको थियो।

गत हप्ता आरबी लिपजिगको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको इन्गोल्स्टाडले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको बायर लेभरकुसनमाथि २—१ को जित हात पारेको छ।

२६ औ मिनेटमा मार्कुज सुटनरको पासमा अल्फ्रेर्डो मोरालेसले गोल गर्दै इन्गोल्स्टाडलाई अग्रता दिलाएका थिए। ४९ औं मिनेटमा मिडफिल्डर चार्ल्स आरनग्युजले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि लेभरकुसनले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो। ६३ औ मिनेटमा स्विस स्ट्राइकर एड्मिर मेहमदीले गोल गर्दै लेभरकुसनलाई खेलमा फर्काएका थिए। तर ७३ औ मिनेटमा मिडफिल्डर एल्मोग कोहेनले गोल गर्दै इन्गोल्स्टाडको जित पक्का गरेका थिए।

प्रकाशित: ५ पुस २०७३ ०३:४९ मंगलबार

शीर्ष स्थानमा बायर्नको पुनरागमन