२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

सुदूरपश्चिममा खप्तड गोल्डकप हुने

काठमाडौं– सुदूरपश्चिममा पहिलोपटक ‘ए’ डिभिजन स्तरको फुटबल प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम एघार स्पोर्टस क्लबको आयोजनामा पुसको अन्तमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

धनगढी रंगशालामा पुस २५ मा सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ। माघ १ सम्म चल्ने प्रतियोगितामा नेपालका १० तथा भारतका दुई टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी गराए।

उनका अनुसार नेपालबाट ‘ए’ डिभिजनका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार, संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफको सहभागिता रहनेछ । आयोजक सुदूरपश्चिम क्लब, पोखराको सहारा क्लब र नेपालगन्जको एक टोलीले भाग लिनेछन् । झापा–११ पनि सहभागी हुने भनिए पनि त्यही समयमा झापाले भारतमा अर्को प्रतियोगिता खेल्नुपर्ने भएकाले अर्को टोलीको टुंगो लाग्न बाँकी रहेको हमालले बताए । भारतबाट भने नयाँ दिल्लीको शास्त्री क्लब तथा कोलकाताको डायमन्ड्स क्लब सहभागी हुने बताइयो ।

‘देशका सबै क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका गोल्डकप प्रतियोगिता भइरहेका छन् । सुदूरपश्चिममा मात्र भएको छैन । जसका कारण हाम्रो क्षेत्रका खेलाडीले पर्याप्त प्रतिभा भए पनि राष्ट्रिय स्तरमा मौका पाइरहेका छैनन्,’ हमालले प्रतियोगिता गर्नुको उद्देश्य प्रस्ट्याए, ‘सुदूरपश्चिमका खेलाडी जिल्लामै खुम्चिए । त्यसैले हामीले यो क्षेत्रका सबै फुटबलप्रेमी मिलेर क्लब स्थापना गरेका हौं । खेलाडीलाई राष्ट्रिय स्तरको एक्सपोजर दिन प्रतियोगिता गर्दैछौं ।’

विगतमा सुदूरपश्चिममा दुई वर्ष राष्ट्रिय महिला प्रतियोगिता हुँदा क्षेत्रका आधा दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय टोलीमा परेको प्रसंग कोट्याउँदै हमालले थपे, ‘सुभाष शाहीले धनगढीमा बर्सेनि क्रिकेट प्रतियोगिता गर्नुहुन्छ । प्रतियोगिता हुन थालेपछि क्रिकेटमा सुदूरपश्चिमका खेलाडी अघि बढिरहेका छन् । सुदूरपश्चिममा महिला प्रतियोगिता भएपछि त्यहाँका ६–७ खेलाडी राष्ट्रिय टोलीमा परे । पुरुष खेलाडीले पनि त्यस्तै मौका पाऊन भनेर यो प्रतियोगिता गर्न लागेका हौं ।’

विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ रुपैयाँ पुरस्कार पाउने हमालले बताए । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले पनि जनही १५ हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।

कार्यक्रममा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले सुदूरपश्चिमका खेलाडीले फुटबलमा आफूलाई प्रमाणित गरिसकेको बताउँदै यो प्रतियोगिताबाट उनीहरू राष्ट्रिय स्तरमा उदाउने विश्वास व्यक्त गरे । ‘मैले तेक्वान्दोमा अवसर पाएका कारण अगाडि बढ्न सकेँ। हाम्रा फुटबल खेलाडीले पनि मौका पाए भने आफूलाई अगाडि बढाउने छन्,’ कैलालीका विष्टले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य गणेशबहादुर चन्दले देशका अन्य क्षेत्रमा हुने प्रतियोगितामा पनि सुदूरपश्चिमको टोलीलाई मौका दिइनुपर्ने बताए । ‘काठमाडौंको कुनै पनि श्रेणीको लिग खेलेका एउटै खेलाडी नभए पनि छैटौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम टोलीले स्वर्ण पदक जित्यो । त्यसको मतलब सुदूरपश्चिममा फुटबल प्रतिभा कमी छैन भन्ने हो,’ चन्दले भने, ‘तर पर्याप्त प्रतिभा भएर पनि हाम्रो क्षेत्रका खेलाडीले राष्ट्रिय स्तरमा मौका पाएनन् । आफ्ना खेलाडीलाई देशका ठूला क्लबका स्टारसँग खेल्ने मौका जुरोस् भनेर हामीले प्रतियोगिता गर्न लागेका हौं । यस बाहेक हामीलाई अन्य क्षेत्रमा हुने प्रतियोगितामा पनि बोलाइयोस् भनेर म अनुरोध गर्न चाहन्छु ।’

एन्फाका सहसचिव सञ्जिव मिश्रले सुदूरपश्चिममा फुटबलको निकै क्रेज रहेको बताउँदै यो प्रतियोगिताले स्थानीय खेलप्रेमीको भावनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । ‘गतवर्ष राष्ट्रिय लिगका क्रममा धनगढीमा ३८ देखि ४२ डिग्रीसम्मको तापक्रममा फुटबल गराउँदा पनि दर्शकको उल्लेख्य उपस्थिति थियो। अहिले त मौसम पनि राम्रो छ । सुदूरपश्चिमको टिम आफैमा राम्रो छ,’ मिश्रले भने, ‘फुटबलका लागि सुदूरपश्चिम पर्याप्त सम्भावना भएर पनि पछि परिरहेको क्षेत्र हो । यो प्रतियोगिताको सुरुआतपछि त्यहाँको फुटबल सम्भावना थप उजागर हुनेछ ।’

मिश्रले मोफसलमा हुने विभिन्न प्रतियोगितामा फुटबलका सर्वमान्य नियम मिचिने गरेको प्रसंग कोट्याउँदै सुदूरपश्चिम खप्तड गोल्डकपका आयोजकलाई त्यसमा सम्झौता नगर्न सुझाए । ‘पहिलोपटक भएकाले तपाईहरू धेरै सचेत हुनुपर्छ । प्रतियोगिताको प्रतिष्ठामा ध्यान दिनुस् । फुटबलका सर्वमान्य मूल्य मान्यताप्रति सम्मान गर्नुस् । त्यसो भयो भनेमात्र सुदूरपश्चिमको फुटबलले सही बाटो लिन सक्नेछ,’ उनको भनाइ थियो ।

प्रकाशित: २२ मंसिर २०७३ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App