१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप लिग टु मा परेनन् सन्दीप, उनको पक्षमा सर्वोच्चको फैसला आए अन्तिम खेल पनि खेल्नेछन्

क्रिकेट खेलाडी सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेलमा पर्ने सम्भावना कम रहेको छ। 

स्रोतका अनुसार लामिछानेलाई टिम सहभागी गराउने सम्भावना कम छ। बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले युएई जाने खेलाडीको सूची तयार गरेको हो। त्यसमा लामिछानेकाे नाम नरहेको बताइएको छ।

स्रोतका अनुसार कानुनी समस्याले गर्दा उनलाई टिममा तत्काललाई नराखिएको हो। क्यान स्रोतले भन्यो, ‘कानुनी प्रक्रिया हामीलाई थाहा छैन। सन्दीपलाई राखेर पनि नराखेर पनि हामीले खेलाडीको सुची तयार गरी सकेका छौँ। सन्दीपको ठाउँमा को हुनहुन्छ खुलाउन मिल्दैन। अब सर्वोच्चको ठोस निर्णय आएपछि सन्दीपलाई टिममा समावेश गर्ने छाैँ। उनको पक्षमा फैसला भए अन्तिम म्याचमा पनि खेल्न पठाउने छौँ।’

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदै छ भने सन्दीपको मुद्दाको फैसला १२ गते हुने छ। 

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा रहेको छ। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा र १० वटा सर्तमा छाडेको थियो। उक्त फैसला पश्चात् उनलाई क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने टिममा समावेश गरेको थियो।

प्रकाशित: ११ फाल्गुन २०७९ ०९:५५ बिहीबार

सन्दीप लामिछाने