९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

भक्तपुरमा अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु

भक्तपुरमा शुक्रबारदेखि अन्तर नगर पुरुष खो खो प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने छ।

भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीका अनुुसार अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी रहेको छ। ती नगरपालिकाहरुका १४ वटा टीमहरुबीच प्रतिस्पर्धा हुने उनले जनाए।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार रहेको छ। साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कार रहेको छ।

प्रतियोगिताको उद्घाटन अघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्‍यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो। र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले राष्ट्रिय रेफ्रि साजन दुवाललाई खेल सामाग्री हस्तान्तरण गरेका थिए भने खेलाडीहरुको तर्फबाट राज कुस्मा, प्रशिक्षककोतर्फबाट कपिल भट्ट र निर्णायकको तर्फबाट साजन दुवालले अन्तर नगर पुरुष खो खो प्रतियोगिता अनुशासित ढंगले सम्पन्न गर्न शपथ लिए।

प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले गरेका थिए। आयोजक भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले भक्तपुर नपाद्वारा आयोजित खो खो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलको प्रवद्र्धन हुने बताए।

प्रकाशित: ५ फाल्गुन २०७९ ११:४० शुक्रबार

खो खो प्रतियोगिता