२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

भारतको अग्रता फराकिलो

कोलकाता- रोहित शर्माले अर्धशतक पूरा गरेपछि न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतले फराकिलो अग्रता लिएको छ। तेस्रो दिन आइतबारको खेल सकिँदा भारतले ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएपछि न्युजिल्यान्ड समग्रमा ३ सय ३९ रनले पछाडि परेको छ।

ऋद्दिमन शाह र भुवनेश्वर कुमारले चौथो दिन भारतको इनिङलाई अघि बढाउनेछन्। शाह ३९ र कुमार ८ रनमा अविजित रहँदा तेस्रो दिनको खेल समाप्त भएको थियो। न्युजिल्यान्डका म्याट हेनरी र मिचेल सान्टेनरले समान ३ विकेट लिए।

६ नम्बरमा ब्याटिङ गर्दै ८२ रन बटुलेका शर्माले आठौं विकेटका लागि शाहसँग १ सय २ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। कप्तान विराट कोहली वाहेक भारतको शीर्षक्रमका ब्याट्म्यान सस्तैमा आउट भएपछि शर्माले इनिङ सम्हालेका थिए। पहिलो इनिङमा १ सय १२ रनको अग्रता लिएको भारतविरुद्ध तीब्र गतिका बलर हेनरी र ट्रेन्ट बोल्टले आपसमा ५ विकेट बाँढेर विपक्षीलाई दबाबमा पुर्‍याएका थिए। दोस्रो इनिङमा भारतले ९१ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो। पहिलो इनिङमा ४६ रन खर्चेर ३ विकेट लिएका हेनरीले दोस्रो इनिङको खाना समयपछि ओपनर मुरली विजय (७) र चेतेश्वर पुजाराको विकेट लिएका थिए। एलबिडब्लू आउट भएका पुजाराले ४ रन बनाएका थिए।

१७ रन बनाएका अर्का ओपनर शिखर धवनलाई बोल्टले एलबिडब्लू धरापमा पारेका थिए। बोल्टका लागि सबैभन्दा ठूलो विकेट कप्तान कोहलीको थियो। ४३ रन बनाउँदा ४ विकेट गुमाइसकेको भारतका लागि कोहलीले ४५ रन जोडेका थिए।

कोहली आउट भएपछि न्युजिल्यान्ड खेलमा फर्कने संकेत देखिएको थियो, तर शर्माले न्युजिल्यान्डको आशा कमजोर बनाइदिएका थिए। १ सय ३२ बल खेलेका शर्माले ९ चौका र २ छक्का प्रहार गरेका थिए। इडेन गार्डेनमा पहिलो इनिङमा अविजित ५४ रन बनाएका शाहले शर्मालाई राम्रो साथ दिएका थिए। सान्टेनरले शर्मालाई ल्युक रोचीको हाटबाट क्याच गराए। अम्पायरहरुले तेस्रो दिनको खेल सकिएको संकेत गर्नुअघि शाह र कुमारले पनि अन्तिम केही ओभर सम्हालिएर खेलेका थिए।

त्यसअघि कुमार र मोहम्मद सामीको कसिलो बलिङ प्रेरित भारतले न्युजिल्यान्डलाई पहिलो इनिङमा २ सय ४ रनमा रोकेको थियो। ७ विकेटको क्षतिमा १ सय २८ रनबाट न्युजिल्यान्डले तेस्रो दिनको खेल अघि बढाएको थियो।  कुमारले पहिलो दिननै ५ विकेट लिएका थिए भने सामीले ३ विकेट लिए। तीन टेस्टको श्रृखंलामा भारतले १–० को अग्रता लिएको छ।

प्रकाशित: १७ आश्विन २०७३ ०४:२६ सोमबार

भारतको अग्रता फराकिलो